स्वघोषित कमारा र भीडतन्त्रको भाष्य

स्वघोषित कमारा र भीडतन्त्रको भाष्य

-जयराम बिडारी

बिज्ञापन

इतिहास निर्मम शिक्षक हो। यसले सत्ताको उन्मादलाई पटक-पटक दण्डित गर्दै आएको छ । वि.सं. १९९७ को निरङ्कुशताले विद्रोही चेतलाई मेटाउन खोज्यो । शुक्रराज, धर्मभक्त, दशरथ र गङ्गालालको रगतले यो धर्ती सिञ्चित छ । आज तिनै शहीदको जगमा उभिएर ‘लोकप्रियता’ को मुकुण्डोभित्र नयाँ तानाशाही अङ्कुराउँदैछ। ‘’लोकप्रियताको आडमा तानाशाह जन्मनु हुँदैन।” यो आधुनिक लोकतन्त्रको विकृतिमाथि गरिएको तीक्ष्ण शल्यक्रिया हो । “किराले हिरा बिगार्नु हुँदैन।” राणाकालीन समयको संवाद भित्रको यो अन्तर्य गहिरो छ । हिरा जस्तो लोकतन्त्रलाई स्वार्थका किराले खोक्रो पार्दैछन्। इतिहास साक्षी छ— पात्रहरूको सफायाले सत्ताको आयु लम्बिएन। रगतका थोपाले प्रजातन्त्रको जग मात्र मजबुत बनायो । विडम्बना ! आज हामी लोकतन्त्रकै उपभोग गरेर अधिनायकवादको मन्त्र जप्दैछौँ। के हामी अन्जानमै भीडतन्त्रको दास बन्दैछौँ? यो प्रश्न आजको राजनीतिक क्षितिजमा भयावह भएर उभिएको छ ।
लोकतन्त्रको प्राण ‘विधिको शासन’ हो । यहाँ ऐनको परिभाषा व्यक्ति हेरेर बदलिँदैन । तर, काठमाडौंको सत्ता सञ्चालनमा देखिएका कतिपय अभ्यासले गम्भीर नैतिक प्रश्न उब्जाएका छन् । आफ्ना मतदातासँगको दूरी बढिरहँदा, शक्ति र स्रोतको दुरुपयोग हुनु चिन्ताजनक छ। पारिवारिक धर्म र राजकीय मर्यादा फरक विषय हुन्। राज्यको सुरक्षा संयन्त्रलाई निजी सहयोगी बनाउनु शक्तिको चरम स्वेच्छाचारिता हो। “सानालाई ऐन, ठूलालाई चैन” गर्ने प्रवृत्तिले नयाँ सामन्तवादलाई जन्म दिन्छ।

भीडतन्त्रको जोखिम आज देश ‘पपुलिज्म’ को बाढीमा छ। यहाँ तथ्य पराजित छ, भावना उत्तेजित छ। जब प्रश्न गरिन्छ, तब जवाफको सट्टा ‘गालीको वर्षा’ हुन्छ। हामीले यस्तो भीड बनायौँ, जसले आफ्ना ‘आइडल’ लाई ईश्वर मान्छ । जहाँ प्रश्न गर्नु अपराध हुन्छ, त्यहाँ लोकतन्त्रको मृत्यु हुन्छ । कोही पनि व्यक्ति ‘अप्रश्नयोग्य’ हुन सक्दैन। भीडले न्याय गर्ने र भीडले नै शासन गर्ने पद्धति लोकतन्त्र होइन, यो विशुद्ध ‘भीडतन्त्र’ हो। यो तानाशाह बन्ने पूर्वाभ्यास मात्र हो ।

सत्ताको आयु जनजीविका र नैतिकतामा टिकेको हुन्छ । शहीदले चाप्लुसी गरेनन्, बरु जनता जगाए। आज फेरि जनतालाई ‘अन्धभक्त’ होइन, ‘सचेत नागरिक’ बनाउनु छ । सेनाको निरङ्कुशता होस् वा भीडको आडमा आउने स्वेच्छाचारिता— दुवै लोकतन्त्रका शत्रु हुन् । किराले हिरा बिगार्नुअघि नै नागरिक खबरदारी आवश्यक छ ।

शक्तिको मातमा विधि मिच्नेहरूलाई इतिहासले कहिल्यै क्षमा गर्ने छैन । लोकप्रियतन्त्रको मुकुण्डोभित्र लुकेको अधिनायकवादको भ्रूण चिन्नु नै आजको युगधर्म हो।

दार्शनिक राजनीतिज्ञका रुपमा परिचित रूपचन्द्र विष्टले ‘थाहा’ आन्दोलन मार्फत जनता जगाउन खोजेको चेतना आज संकटमा छ । विष्टले ठड्याउन नसकेको विवेकको स्तम्भ एउटा ‘भुइँमान्छे’ ले उठाउन खोज्नु फलामे चिउरा चपाउनु सरह हो । बोल्ने जति सबै बाठा र नबोल्ने जति सबै लाटा पक्कै होइनन् । तर, सचेत नागरिकका लागि विचार प्रवाह गर्नु अधिकार मात्र होइन, यो एउटा अनिवार्य राष्ट्रिय कर्तव्य पनि हो । जहाँ मौनता अपराध बन्छ, त्यहाँ शब्दहरू शस्त्र बन्नुपर्छ ।

आधुनिक राजनीतिमा विरोधाभासको नग्न नाच देखिन्छ। हिजो व्यापारीको सहयोगलाई ‘भ्रष्टाचार’ देख्नेहरू आज आफैँ त्यसको लाहाछाप लगाउँदैछन्। सेन्चुरी मसला जस्ता व्यापारिक घरानाबाट आठ करोडको विलासी गाडी उपहार थाप्नु कुन नैतिकताको कसीभित्र पर्छ ? एउटाको सहयोग ‘अपराध’ र अर्कोको त्यही कार्य ‘उपहार’ बन्ने यो कस्तो लोकतन्त्र हो ? विडम्बना! सचेत भनिएको भीड यो दोहोरो मापदण्डमा विवेकहीन ताली बजाइरहेको छ । यो चेतनाको उदय होइन, विवेकको सामूहिक बन्धकी हो ।

प्रवृत्ति र प्रतिविम्ब लोकतान्त्रिक मान्यतामा जनताले आफ्नै स्तर अनुसारको नेता पाउँछन् । यदि नागरिक स्वयम् पथभ्रष्ट र अल्छी छन् भने इमान्दार नेतृत्वको परिकल्पना केवल दिवास्वप्न हुनेछ । नेताको प्रवृत्ति जनताकै स्वभावको प्रतिविम्ब हो । जब भीड संवेगको दास बन्छ र तथ्यलाई तर्कले होइन, उत्तेजनाले काट्छ, तब विनाश सुनिश्चित हुन्छ । आफ्नै खुट्टामा बन्चरो प्रहार गर्ने समाजले दुःख नपाए कसले पाउने ? इमानको खडेरी परेको ठाउँमा लोकतन्त्रको फूल फुल्न सक्दैन।

इतिहासमा मानिसहरु विवशताले ‘कमारा-कमारी’ बन्थे । तर, २१औँ शताब्दीको यो चित्र भयावह छ । यहाँ सम्पन्न र शिक्षित भनिएकाहरू नै स्वघोषित रूपमा कसैको ‘मानसिक दास’ बनिरहेका छन् । वैचारिक स्वतन्त्रतालाई व्यक्तिपूजाको वेदीमा बलि चढाउनु आधुनिक दासताको चरम रूप हो । ‘कमारा’ बन्नुमा गर्व गर्ने यो जमातले लोकतन्त्रको उपहास गरिरहेको छ । यो चेतनाको संकट मात्र होइन, सभ्यताकै स्खलन हो ।
लोकतन्त्रमा प्रश्नको मृत्यु हुनु भनेको स्वतन्त्रताको अन्त्य हुनु हो । उपहारको राजनीति र अन्धभक्तिको भीडले हामीलाई कता लैजाँदैछ ? ‘थाहा’ को आलोकमा स्वयम्लाई नचिनुन्जेल हामी कसै न कसैको गोटी बनिरहनेछौँ । लोकप्रियताको खोलभित्र लुकेको यो स्वघोषित दासतालाई नचिनेसम्म र नबलेसम्म वास्तविक परिवर्तन सम्भव छैन । त्यसैले, अब भीडबाट बाहिर निस्केर ‘नागरिक’ बन्ने साहस गरौँ ।

कुनै व्यक्तिलाई ‘भगवान’ को सिंहासनमा राख्नु लोकतन्त्रको उपहास हो । उसको अक्षम्य गल्तीमा ताली बजाउनु र प्रश्न गर्नेमाथि जाइलाग्नु चेतनाको मृत्यु हो । यो आधुनिक दासताको पराकाष्ठा मात्र होइन, सभ्यताकै स्खलन हो । शारीरिक बन्धनभन्दा मानसिक दासता कैयौँ गुणा घातक हुन्छ। जञ्जिर देखिने गरी खुट्टामा होइन, अदृश्य रूपमा मस्तिष्कमा बाँधिएको छ । जहाँ विवेक बन्धकी राखिन्छ, त्यहाँ स्वतन्त्रताको अर्थ रहँदैन ।
भीडतन्त्रको कुहिरो र लोकतन्त्रको संकटमा आज देश पपुलिज्म र भीडतन्त्रको बाक्लो कुहिरोमा हराएको छ । कसलाई प्रश्न गर्ने र कसलाई पुज्ने भन्ने निर्णय भीडले गरिरहेको छ । यो अवस्थामा साँचो लोकतन्त्र संकटको भुमरीमा छ । आलोचना लोकतन्त्रको सुन्दर गहना हो । यो कुनै दण्डनीय अपराध होइन । कसैको ‘अन्धभक्त’ हुनु आत्मसमर्पण हो, तर आफ्नै ‘विवेकको भक्त’ हुनु राष्ट्रभक्ति हो । भीडको पछाडि दौडनुभन्दा एक्लै सत्यको पक्षमा उभिनु नै आजको नागरिक धर्म हो ।

विवेकको जागरण नै सचेत नागरिक हुनुको पहिचान हो ।
जबसम्म हामी ‘स्वघोषित कमारा’ मानसिकताबाट मुक्त हुँदैनौँ, तबसम्म न नेता सुध्रिन्छन् न त पद्धति । व्यवस्था परिवर्तन भयो, तर अवस्था फेरिएन किनकि नागरिकको सोच फेरिएन । हिरा जस्तो बहुमूल्य लोकतन्त्रलाई स्वार्थका किराबाट जोगाउन अब कठोर चेतना आवश्यक छ । शासन बदल्नुअघि नागरिकले आफ्नै सोचको ऐना बदल्न जरुरी छ। विवेकको शंखघोष नै यो अँध्यारो युगको अन्तिम र निर्विकल्प उपचार हो ।

यतिबेला देशका प्रमुख दलहरू नैतिक सङ्कटको दलदलमा फसेका छन् । यति, ओम्नी, गिरीबन्धु र ७० करोड जस्ता काण्डका फेहरिस्तले आगामी निर्वाचन परिणाममा एमालेको ‘विकल्प’ बन्ने हैसियत क्षतविक्षत पारेको छ । प्रजातन्त्रको पर्याय मानिने कांग्रेसले लोकतन्त्रमा प्रवेशसँगै आफ्नो मौलिक आदर्श र साख गुमाएको छ । आन्तरिक अन्तर्द्वन्द्वले थलिएको कांग्रेसबाट निकासको आशा गर्नु ‘मृगतृष्णा’ मात्र भएको छ। प्रचण्ड, माधव र मधेसवादी दलहरूको अवस्था यति कमजोर छ कि तिनको विश्लेषणमा शब्द खर्चिनुको पनि अर्थ देखिँदैन ।

सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई ‘भगवान’ मान्ने भीडतन्त्रले लोकतन्त्रको उपहास गरिरहेको छ । कठघराबाट निस्कँदा पनि युद्ध जितेको जस्तो दम्भ देखाउनु र विवादास्पद अभिव्यक्ति दिने ‘जत्था’ को नेतृत्व गर्नुले भविष्यको भयावह चित्र कोर्दछ । बलात्कारलाई सामान्य ठान्ने र समाज भाँड्ने अभिव्यक्ति दिनेहरूले बहुमत पाए कस्तो संस्कार निर्माण होला ? यसको जिम्मा समयलाई सुम्पिंदा उचित होला । महान्यायाधिवक्ताको कार्यालयले उनको मुद्दा फिर्ता लिए पनि अदालतको कठोर अडानले स्पष्ट पार्छ— कानुनी र नैतिक हिसाबले ‘रवि-पथ’ अब अवरुद्ध छ ।

२०८४ को निर्वाचन २०८२ मै गर्नुपर्ने परिस्थितिले लोकतन्त्रलाई अस्थिरताको चक्रव्यूहमा गाँजेर मजबुत होइन, झनै जीर्ण बनाएको प्रतीत हुन्छ । प्रधानमन्त्री फेरिरहने र देशलाई प्रयोगशाला बनाउने खेलले आयातित परिणाम दिँने कुरै भएन । यो समय आवेग र उत्तेजनामा बहकिने होइन, सन्तुलित नीति र परिपक्व नेतृत्वको चयन गर्ने अवसर पनि हो । दुई विशाल छिमेकीको बीचमा रहेको हाम्रो संवेदनशील भू-राजनीतिमा अनुभवहीन र पपुलिस्ट नेतृत्व हावी भए राष्ट्रिय स्वाधीनता नै संकटमा पर्ने निश्चित छ । तसर्थ एक मुठी माटोलाई हातमा लिएर विवेकको प्रयोग गर्नु र योग्य नेतृत्व चयन गर्नु प्रत्येक नेपालीको प्रमुख धर्म हुनेछ ।

हजारौं वर्षदेखि आफ्नै स्वाभिमानमा बाँचेको सुन्दर शान्त र स्थिर रुपमा अवस्थित नेपाललाई अव धर्म र दर्शनको साथमा डोर्याउन राप्रपा र तीनका प्रस्तावित उमेद्वारहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने देखिन्छ ।

संसद् विघटनको संवैधानिक त्रुटी र भीडतन्त्रको चेपुवामा परेको देशलाई निकास दिन संसद् पुनर्स्थापना गर्नु अपरिहार्य छ । सर्वोच्च अदालतले यस्ता गम्भीर मुद्दामा ढिलासुस्ती गर्नु हुँदैन भन्ने जनअभिमत बढिरहेको छ । यदि दलीय संयन्त्रबाट निकास सम्भव छैन भने, देशको अभिभावकीय भूमिकाका लागि ‘राजसंस्था’ नै अन्तिम र बलियो विकल्पको रुपमा स्वीकार गरिनु देशको लागि उपर्युक्त बाटो हुने कुरामा मतैक्यता राख्नु हुँदैन । जनताको दुःख बुझ्ने र राष्ट्रियता जोगाउन सक्ने शक्तिको रूपमा राजसंस्था पुनर्स्थापना गर्नु नै अन्धकारतर्फ धकेलिँदै गरेको देशका लागि एउटा भरपर्दो प्रकाशको किरण साबित हुनेछ ।
अस्तु !