
युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ : बिजेन रञ्जित
— नेता, नेपाल तरुण दल काभ्रे | जिल्ला उपसभापति एवं बाग्मती प्रदेश भातृ समन्वयन विभाग सदस्य
काभ्रे जिल्लामा निर्वाचनको माहोल तातिँदै जाँदा युवाहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ। यसै सन्दर्भमा नेपाल तरुण दल काभ्रेका जिल्ला उपसभापति तथा बाग्मती प्रदेश भातृ समन्वयन विभाग सदस्य बिजेन रञ्जितसँग गरिएको छोटो कुराकानी

० निर्वाचनमा तरुण दल काभ्रेको ठोस भूमिका के रहनेछ ? युवालाई परिचालन गर्ने तपाईंहरूको रणनीति के हो ?
निर्वाचन लोकतन्त्रको उत्सव हो, र यो उत्सव सफल बनाउन युवाको भूमिका निर्णायक हुन्छ। नेपाली कांग्रेस को भातृ संगठनका रूपमा तरुण दल काभ्रेले घरदैलो अभियान, मतदाता सचेतना कार्यक्रम, सामाजिक सञ्जाल परिचालन तथा टोलस्तरका अन्तरक्रिया कार्यक्रमलाई तीव्रता दिएको छ।
विशेष गरी ‘जेनेरेसन जेड’ र सचेत युवालाई लक्षित गर्दै सही पार्टी र सही उम्मेदवारको पक्षमा सकारात्मक वातावरण निर्माण गर्ने हाम्रो रणनीति छ। युवालाई केवल भीडका रूपमा होइन, नीति–बहस र निर्णय प्रक्रियामा सहभागी गराउने हाम्रो उद्देश्य हो।

० पार्टीभित्र देखिने गुट–उपगुटको प्रभाव चुनावी परिणाममा नपरोस् भन्नका लागि के पहल गर्नुभएको छ ?
लोकतान्त्रिक पार्टीभित्र विचार फरक हुनु स्वाभाविक हो। तर निर्वाचन जस्तो महत्वपूर्ण क्षणमा हामी सबै एकढिक्का छौं।
एजेन्डामा मतभेद हुन सक्छ, तर लक्ष्य एउटै हो—कांग्रेसको जित र लोकतान्त्रिक मूल्यको रक्षा। जिल्ला तहदेखि केन्द्रसम्म समन्वय र संवादलाई प्राथमिकता दिइएको छ, जसले गुट–उपगुटको असर चुनावी परिणाममा नपरोस् भन्ने सुनिश्चित गर्छ।


० यस क्षेत्रमा कांग्रेसले दुई पटक निर्वाचन हार व्यहोरेको छ । मुख्य कमजोरी के थियो ?
अघिल्लो निर्वाचनमा गठबन्धनप्रति केही कार्यकर्तामा असन्तुष्टि देखिएको थियो, जसले अपेक्षित परिणाम दिन सकेन। तर विगतका कमजोरीबाट सिकेर हामीले संगठन सुदृढीकरण, कार्यकर्ता समन्वय र मतदाता विश्वास पुनर्स्थापना अभियानलाई प्राथमिकता दिएका छौं।
यसपटक संगठनात्मक एकता र स्पष्ट सन्देशका कारण अवस्था फरक छ भन्ने विश्वास छ।
० कांग्रेसभित्र अझै अन्तरविरोध रहेको चर्चा छ, के साँच्चै पार्टी पूर्ण रूपमा एकढिक्का भएको छ ?
विशेष महाधिवेशनपश्चात पार्टी अझै सुदृढ र कसिलो बनेको छ। फुटको हल्ला चलाइए पनि व्यवहारमा संगठन थप मजबुत भएको देखिन्छ।
अब कांग्रेस नयाँ शिराबाट अगाडि बढिरहेको छ—नयाँ दृष्टिकोण, नयाँ ऊर्जा र जिम्मेवार नेतृत्वसहित। यही एकताले निर्वाचनमा सकारात्मक परिणाम ल्याउने आधार तयार गरेको छ।
० दुबै निर्वाचन क्षेत्रमा अहिले चुनावी माहोल कस्तो छ ? जनताको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
दुबै क्षेत्रमा अहिले उत्साहजनक माहोल छ। कांग्रेसलाई नयाँ र परिपक्व विकल्पका रूपमा जनताले हेर्न थालेका छन्।
घरदैलो अभियानमा जनताको अभिलाषा परिवर्तन र स्थायित्वतर्फ देखिन्छ। युवादेखि ज्येष्ठ नागरिकसम्म कांग्रेसप्रति विश्वास र अपेक्षा बढेको महसुस भइरहेको छ, जसले जितको आधार बलियो बनाएको छ।
० तपाईंहरूको मुख्य प्रतिस्पर्धी को हो ? उहाँहरूभन्दा तपाईं कसरी फरक हुनुहुन्छ ?
हाम्रो वास्तविक चुनौती कुनै व्यक्ति वा दलभन्दा पनि गरिबी, अशिक्षा, अभाव र शैक्षिक बेरोजगारी हो।
हामी नकारात्मक प्रचारभन्दा नीति, कार्यक्रम र विकासको स्पष्ट खाकासहित जनतामाझ गएका छौं। हाम्रो प्रतिस्पर्धा गलत सूचना, अफवाह र राजनीतिक अपरिपक्वतासँग हो। परिपक्व विचार र लोकतान्त्रिक अभ्यासले नै दीगो विकास सम्भव हुन्छ भन्ने हाम्रो विश्वास हो।
० नयाँ दलप्रति युवाको आकर्षण बढिरहेको देखिन्छ, यसलाई तपाईंहरूले कसरी मूल्यांकन गर्नुभएको छ ?
राजनीतिमा नयाँपनको खोजी स्वाभाविक हो। तर विचार, इतिहास र लोकतान्त्रिक संघर्षको निरन्तरतामा कांग्रेस नै सधैं नयाँ ऊर्जा बोकेको दल हो।
हिजो अलमलमा रहेका धेरै युवाहरू अहिले स्पष्ट दृष्टिकोण र जिम्मेवार नेतृत्व खोजिरहेका छन्। परिपक्व, अनुभवसहितको नयाँ सोच भएको दलतर्फ आकर्षण बढ्नु सकारात्मक संकेत हो।
अन्त्यमा, बिजेन रञ्जित भन्छन्, “हामी युवालाई केवल नारामा होइन, जिम्मेवारीमा विश्वास गर्छौं। संगठनको शक्ति, विचारको स्पष्टता र युवाको सक्रियताले काभ्रेमा कांग्रेसको जित सुनिश्चित छ।
० आसन्न निर्वाचनलाई लक्षित गर्दै काभ्रेमा आयोजित बृहत् युवा भेलाको उपलब्धि के रह्यो ?
आसन्न २०८२ साल फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै हिजो आयोजित बृहत् युवा भेलामा प्रतिनिधि सभा क्षेत्र नं. १ र २ का उम्मेदवारहरूलाई विजयी गराउने उद्देश्यका साथ व्यापक युवा परिचालन गरिएको छ। युवा परिचालन स्वयंसेवक काभ्रे जिल्ला संयोजक सुधिर बैध र सह–संयोजक रोशन लामाको आयोजनामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा करिब २५००–२७०० जनाको उल्लेखनीय सहभागिता रहेको थियो। युवाहरूको उत्साहजनक उपस्थितिले कार्यक्रम अत्यन्त सफल र प्रभावशाली बनेको छ। कार्यक्रमको सकारात्मक प्रभावले काभ्रे जिल्लाभर काङ्ग्रेसमय माहोल सिर्जना भएको र मतदाताहरूमा उत्साह तथा खुशी देखिएको छ ।


