
नन्दलाल खरेल

नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र वर्गीय संरचनाले बनेको समाजमा परिवर्तनको मूल आधार सधैं जनताकै शक्ति, उनीहरूको अधिकार, र समान अवसरका प्राप्तिमै निर्भर रहन्छ। देशमा विगतका राजनीतिक आन्दोलनहरू जस्तै राणाशासनको अन्त्यदेखि लोकतान्त्रिक पुनःस्थापना, जनयुद्ध, दोस्रो जनआन्दोलन र गणतन्त्रको निर्माणसम्म सबै जनताको सक्रिय भूमिकाले नै सम्भव भएका हुन्। यी सबै संघर्षको केन्द्रमा जनताको पक्षमा उभिने राजनीतिक शक्ति कम्युनिस्ट आन्दोलन नै थियो।

त्यसैले, आजको अवस्थामा पनि ‘‘नेपाली कम्युनिस्ट पार्टीमा लाग्नुको कारण स्पष्ट छ’’ भन्नुको गहिरो अर्थ छ। अधिकार, सामाजिक न्याय र समानताका लागि विश्वसनीय, सिद्धान्तनिष्ठ र संगठनात्मक रूपले सबल विकल्पको रूपमा नेकपा (नेपाली कम्युनिस्ट पार्टी) उभिन सक्नुको कारण ऐतिहासिक, वैचारिक र व्यवहारिक तीनै आयाममा पाइन्छ।


नेपाली कम्युनिस्ट आन्दोलन कुनै आकस्मिक घटना होइन, बरु सात दशकभन्दा बढी लामो राजनीतिक यात्राको परिणाम हो। सामन्तवाद, वर्गीय उत्पीडन, जातीय विभेद, लैंगिक असमानता र आर्थिक शोषणका विरुद्ध आवाज उठाएर देशमा राजनीतिक सचेतना विकास गर्ने काम कम्युनिस्ट आन्दोलनले नै गरेको हो।
जनयुद्धदेखि जनआन्दोलनसम्म कम्युनिस्ट शक्तिको सक्रियता बाहेक नेपालको संरचनागत परिवर्तनको कल्पना नै गर्न सकिन्न। संविधानसभामार्फत संविधान लेखन, संघीयता, गणतन्त्र, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय–यी सबै परिवर्तनहरूको मूल नेतृत्व कम्युनिस्ट शक्तिको हातमा थियो।
यसैले आज पनि परिवर्तनको बाटो खोज्ने जनताका लागि ‘‘कम्युनिस्ट पार्टीमा लाग्नुको कारण’’ इतिहासमै पर्याप्तरूपमा व्याख्या भइसकेको छ—त्यो हो जनताको अधिकारका लागि निरन्तर र निष्ठापूर्वक लडिरहन सक्ने क्षमता।
नेपाली समाज वर्गीय र जातीय असमानताले थिचिएको समाज हो। केही मुट्ठीभर धनी–उच्चवर्गका हातमा सम्पत्ति, भूमि, उत्पादनका साधन र राजनीतिक पहुँच केन्द्रित रहेको अवस्थामा ‘‘समानता’’ नामको शब्द केवल कागजमा मात्र सीमित हुन्छ। कम्युनिस्ट दर्शन भने यस्तै असमानताका विरुद्ध वैज्ञानिक विश्लेषण प्रस्तुत गर्छ। उत्पादन शक्तिको विकास, राज्य संरचनाको रूपान्तरण र श्रमजीवी वर्गको नेतृत्वमार्फत समाजमा मुूलभूत परिवर्तन सम्भव छ भन्ने तर्क कम्युनिस्ट विचारको केन्द्रीय हिस्सा हो। नेपाल जस्तो मुलुक जहाँ अझै पनि गरिबी, बेरोजगारी, अवसरको अभाव, महिलामाथिको हिंसा, सीमान्तकृत समुदायको उपेक्षा, र क्षेत्रीय असमानता विद्यमान छ—त्यहाँ सामाजिक न्यायको पक्षमा संघर्ष गर्ने एकमात्र सशक्त राजनीतिक धार कम्युनिस्ट धारा नै हो। यसैले हजारौं युवाहरूले आज पनि ‘‘समानताको खोजी गर्ने हो भने दर्शन, संगठन र नेतृत्वको विश्वसनीय विकल्प नेकपा नै हो’’ भन्ने विश्वास राख्छन्।
एक राजनीतिक पार्टी सफल हुन मुख्यतया तीन कुरामा निर्भर हुन्छ–दर्शन, संगठन र नेतृत्व। कम्युनिस्ट पार्टीको शक्तिशाली पक्ष भनेकै यसको संगठनात्मक सुदृढता हो। आधारभूत संगठनदेखि केन्द्रीय कमिटीसम्म,जनसंगठनहरूदेखि समुदाय र वर्गीय मोर्चासम्म,प्रशिक्षण, शिक्षालय, वैचारिक कार्यक्रमदेखि जनस्तरको अभियानसम्म ,यी गतिविधिहरूले पार्टीलाई बलियो बनाउँछन्। अन्य दलहरू जहाँ व्यक्तिगत नेतृत्व, वंशवाद, र पैसाको प्रभावमा चलेका उदाहरण छन्, कम्युनिस्ट पार्टी भने संगठनात्मक अनुशासन, सामूहिक नेतृत्व र सिद्धान्तगत प्रतिबद्धतामा अडिग रहन्छ। यही कारणले आज पनि धेरै युवाहरू ‘‘संगठित संघर्ष’’ को बाटोहरू खोज्दा कम्युनिस्ट पार्टीतिर आकर्षित हुन्छन्।
नेपाली कम्युनिस्ट आन्दोलनले दशकौंको लामो यात्रा गर्दै विभिन्न मोडहरूमार्फत आफूलाई परिष्कृत गर्दै आएको छ। आफ्नो गलत निर्णयबाट सिक्ने क्षमता,नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने बहस,जनतासँग निरन्तर सम्बन्ध कायम गर्ने अभियान।यी सबैले पार्टीलाई निरन्तर जीवित र क्रियाशील राखेको छ। नेता मात्र होइन, ‘‘नेतृत्व’’ को प्रणाली नै परिमार्जित हुँदै गएको छ—बृहत जनताको हितमा नीतिगत पहलकदमी, सामाजिक मुद्दाहरूमा अग्रसरता ।
आज राजनीतिक पार्टीहरू समानताको कुरा गर्छन्, तर प्रष्ट मापदण्ड र वैचारिक आधार सबैसँग छैन। कम्युनिस्ट दर्शनले सम्पन्न र सम्पन्नहीनबीचको असमानताका कारणलाई वैज्ञानिक रूपमा व्याख्या गर्छ। उत्पादनका स्रोतमा पहुँच,श्रमको मूल्य शोषण र नाफाको संरचना,राज्यसत्तामाथिको वर्गीय नियन्त्रणआदि कुरामा ध्यान दिएको पाईन्छ । कम्युनिस्ट विचारले समस्याको पहिचान मात्र गर्दैन, समाधानको मार्ग पनि वैज्ञानिक ढंगले प्रस्तुत गर्छ—उत्पादनका साधनहरूमा श्रमजीवी वर्गको पहुँच, राज्यसत्ताको लोकतान्त्रिक रूपान्तरण, सामाजिक सुरक्षा र समान अवसर। यही कारणले समानताको खोजी गर्ने हजारौं युवाहरू आज पनि कम्युनिस्ट आन्दोलनलाई आफ्नो राजनीतिक ठेगाना मान्छन्।
नेपाली कम्युनिस्ट आन्दोलन केवल सिद्धान्तको किताबमै सीमित भएन, यसले संघर्षको मैदानमै आफ्नो भूमिका प्रमाणित गरिसकेको छ। राणा शासनविरुद्धको जनआन्दोलन,किसान–कर्मचारी अधिकारका आन्दोलन,जनयुद्धको दशक,२०६२/६३ को जनआन्दोलन,। गणतन्त्र, संघीयता र समानुपातिक प्रतिनिधित्वको प्राप्ति:यी सबै परिवर्तनहरूका आधार र नेतृत्वमा कम्युनिस्ट शक्ति नै थियो। अर्का धेरै दलहरूले जनताको भावना र आन्दोलनलाई राजनीतिक सौदाबाजीमा रूपान्तरण गरे पनि कम्युनिस्ट आन्दोलनले ऐतिहासिक मोडहरूमा निर्णायक भूमिका खेलेको तथ्य अस्वीकार गर्न सकिँदैन।यसैले, अधिकार र न्यायका आन्दोलनमा सहभागी जो–कोहीको मनमा एउटा विश्वास आज पनि जीवित छ“परिवर्तनको अग्रपंक्तिमा को उभिन्छ?—कम्युनिस्ट।”
राजनीति केवल विचारले चल्दैन, त्यसलाई “संगठित शक्ति” ले मात्र प्रभावकारी बनाउँछ। कम्युनिस्ट पार्टीको बलियो पक्ष—स्पष्ट संगठन संरचना,कोष, नीतिगत मार्गदर्शन र प्रशिक्षण प्रणाली,जनसंगठित मोर्चाहरू,सामूहिक नेतृत्व र अनुशासन। अरू धेरै दल जहाँ व्यक्तिगत प्रभाव, पैसाको राजनीति वा वंशवादमा अड्किएका छन्, कम्युनिस्ट पार्टी संगठनकै बलमा अगाडि बढ्ने परम्परा राख्छ।


