
काठमाडौं, बनस्थली । “सेवा नै धर्म हो” भन्ने मानवीय भावनालाई आत्मसात गर्दै ॐ समाज डेण्टल अस्पताल र M N Hospital को सहकार्यमा बनस्थली चोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। प्रत्येक महिनाको अन्तिम शनिबार सञ्चालन हुँदै आएको स्वास्थ्य शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


शिविरको नेतृत्व ॐ समाज डेण्टल अस्पताल, बनस्थली शाखाकी प्रमुख सबिना पपन गुरुङले गर्नुभएको थियो। उहाँले स्वास्थ्य सेवा केवल व्यवसाय नभई समाजप्रतिको दायित्व भएको बताउँदै आर्थिक अभावका कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।


शिविरमा दन्त परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। M N Hospital का चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो। निःशुल्क स्वास्थ्य सेवा र औषधि प्राप्त गर्न पाउँदा स्थानीय बासिन्दाहरू उत्साहित देखिएका थिए।


कार्यक्रममा सहभागी डा. कपिल ज्ञवालीले ॐ समाज डेण्टल अस्पतालसँगको सहकार्यलाई सकारात्मक अनुभवका रूपमा लिँदै समाजका गरिब, विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित यस्ता अभियानमा आगामी दिनमा पनि सहकार्य जारी रहने बताउनुभयो।
स्वास्थ्य सेवा क्षेत्रमा छोटो समयमै विश्वासिलो पहिचान बनाउन सफल ॐ समाज डेण्टल अस्पतालले विभिन्न स्थानमा नियमित रूपमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन गर्दै आएको छ। अस्पतालले उपचारसँगै स्वास्थ्य सचेतना अभिवृद्धि र सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ।
यस अभियानमा सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाको सक्रिय समन्वय र सहभागिताले पनि महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो। स्वास्थ्य, शिक्षा तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आउनुभएका थापाले समुदाय र सेवा संस्थाबीच समन्वय स्थापित गर्न उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ।
शाखा प्रमुख सबिना पपन गुरुङको नेतृत्व, डा. कपिल ज्ञवाली तथा M N Hospital को सहकार्य, ॐ समाज डेण्टल अस्पतालको सेवामूलक सोच र सामाजिक अभियन्ता राजन थापाको सक्रियताले शिविरलाई सफल बनाएको थियो। मानवताको सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने सन्देश बोकेको उक्त कार्यक्रमले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरूलाई प्रत्यक्ष लाभ पुर्याएको छ।
शिविरमा सहभागी स्थानीय बासिन्दाहरूले यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न आग्रह गर्दै आयोजक संस्था, चिकित्सक टोली तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन्। सेवा, सहकार्य र मानवताको उत्कृष्ट उदाहरण बनेको यस अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

