
नन्दलाल खरेल

राजनीतिक असन्तुष्टि, आक्रोश र विद्रोह नेपाली समाजका नयाँ कुरा होइनन्। इतिहासका विभिन्न कालखण्डमा जनताले अन्याय, दमन र असमानताविरुद्ध आवाज उठाएका छन्। तर आजको प्रश्न फरक छ—के राज्य निर्माणको युगमा हामी अझै आगो, तोडफोड र आक्रोशमै अड्किन सक्छौँ ? यही प्रश्नको केन्द्रमा हाल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजनीतिक शैली र अभिव्यक्ति उभिएको छ।

बालेनजी, सिंहदरबार जलाएर देश बन्दैन। राज्य संरचनालाई ध्वस्त पारेर विकासको बाटो खुल्दैन। विकासका लागि चाहिने पहिलो तत्व हो—स्पष्ट, व्यवहारिक र समावेशी भिजन। सामाजिक सञ्जालमा राति १२ बजे लेखिएको स्टाटसले क्षणिक उत्तेजना त दिन सक्छ, तर त्यसले न नीति बनाउँछ, न संस्थागत सुधार ल्याउँछ, न त राज्यलाई सही दिशामा डो¥याउँछ।


सिंहदरबार केवल एउटा भवन होइन; त्यो राज्य सञ्चालनको प्रतीक हो। सर्वोच्च अदालत न्यायको केन्द्र हो। मालपोत कार्यालय नागरिकको सम्पत्तिसँग जोडिएको संवेदनशील निकाय हो। पालिका स्थानीय शासनको मेरुदण्ड हो। यी संरचनाहरूमा समस्या छन्, कमजोरी छन्, सुधारको गहिरो आवश्यकता छ—यसमा कुनै विवाद छैन। तर प्रश्न के हो भने, यी सबै जलाएर खरानी बनाएको देश निर्माणका लागि हो त ?
इतिहासले देखाएको छ—राज्य संरचना भत्काएर होइन, सुधार गरेर अघि बढेका मुलुकहरू नै समृद्ध भएका छन्। आगोले भवन जलाउँछ, तर आगोले नीति बनाउँदैन। तोडफोडले डर पैदा गर्छ, तर भरोसा सिर्जना गर्दैन। असन्तुष्टिले आवाज बुलन्द गर्छ, तर समाधान दिन सक्दैन। राज्यलाई अगाडि बढाउने शक्ति भनेको संयम, दृष्टि र दीर्घकालीन रणनीति हो।
बालेनजी, तपाईँले युवा पुस्तामा आशा जगाउनुभएको छ। पुराना राजनीतिक दल र नेतृत्वप्रति बढ्दो निराशाका बीच तपाईँ एक वैकल्पिक आवाजका रूपमा स्थापित हुनुभएको हो। तर वैकल्पिक हुनु भनेको केवल विरोधी हुनु होइन। वैकल्पिक हुनु भनेको रचनात्मक समाधान प्रस्तुत गर्नु हो। यदि तपाईँ साँच्चै फरक राजनीति गर्न चाहनुहुन्छ भने, संस्थामाथि आक्रमण होइन, संस्थालाई कसरी सुधार गर्ने भन्ने स्पष्ट रोडम्याप दिनुपर्छ।
विकास भनेको सडक, पुल र भवन मात्र होइन। विकास भनेको विधिको शासन हो, संस्थागत क्षमता हो, जवाफदेहिता हो, र नागरिक–राज्यबीचको भरोसा हो। यदि नागरिकलाई राज्य नै दुश्मन हो भन्ने सन्देश दिइयो भने, त्यो समाज अराजकतातर्फ धकेलिन्छ। अराजकता क्रान्ति होइन; त्यो विनाशको बाटो हो।नेपालले धेरै मूल्य चुकाएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको छ। सिंहदरबार, सर्वोच्च, प्रशासनिक संरचना—यी सबै जनताको संघर्षबाट बनेका संस्थाहरू हुन्। यी संस्थाहरूमा सुधार आवश्यक छ, तर ध्वंस होइन। आलोचना आवश्यक छ, तर जिम्मेवार ढंगले। विद्रोह आवश्यक हुन सक्छ, तर दिशाहीन विद्रोह राष्ट्रघाती पनि हुन सक्छ।
आज देशलाई चाहिएको छ—आगो फुक्ने नेता होइन, बाटो देखाउने नेतृत्व। नारा होइन, नीति। स्टाटस होइन, संरचनागत सुधार। आक्रोश होइन, समाधान। यदि तपाईँसँग भिजन छ भने, त्यसलाई दस्तावेजमा उतार्नुस्। योजनामा देखाउनुस्। संस्थागत संवादमार्फत अगाडि बढ्नुस्। जनतालाई उत्तेजित होइन, शिक्षित र संगठित बनाउनुस्।
अन्त्यमा, सुझाव स्वरूप यति मात्र भन्न चाहन्छु—
देश बन्दैन जलाएर, देश बन्छ सोचेर।
इतिहासले आगो बाल्नेहरूलाई होइन, बाटो देखाउनेहरूलाई सम्झिन्छ। तपाईँ कुन सूचीमा पर्न चाहनुहुन्छ, त्यो निर्णय तपाईँकै हातमा छ।


