

समाजसेवा, शिक्षा, महिला सशक्तिकरण र सहकारी क्षेत्रलाई समान प्राथमिकतामा राखेर निरन्तर सक्रिय रहँदै आएकी प्रमिला चण्डी श्रेष्ठ पछिल्ला वर्षहरूमा सामाजिक उत्तरदायित्वका कार्यमार्फत विशेष रूपमा चिनिएकी व्यक्तित्व हुन्। २०७२ सालको भूकम्पपछि राहत तथा पुनःस्थापनाका कार्यमा अग्रसर बनेकी श्रेष्ठ अहिले पनि शिक्षा, महिला सशक्तिकरण, छात्रवृत्ति, सामाजिक सहयोग तथा सहकारी अभियानमा निरन्तर सक्रिय छिन्। नोबेल बचत तथा ऋण सहकारी संस्था, श्री कल्याण महिला जागरण समूह, शैक्षिक संस्था तथा विभिन्न सामाजिक अभियानसँग आबद्ध श्रेष्ठसँग नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गरेको संवाद प्रस्तुत छ
मेरो जीवनयात्रा र समाजसेवामा लाग्ने प्रेरणा मेरी आमा दिल कुमारी चण्डी श्रेष्ठ बाट सुरु भएको हो। उहाँले सानैदेखि अरूलाई सहयोग गर्नुपर्छ, समाजका लागि राम्रो काम गर्नुपर्छ भन्ने शिक्षा दिनुभयो। उहाँकै प्रेरणाले मलाई समाजसेवामा लाग्न हौसला दियो।

० २०७२ सालको भूकम्पपछि समाजसेवामा सक्रिय हुँदा कस्तो अनुभव रह्यो ?
भूकम्पपछि पीडित मानिसहरूको दुःख नजिकबाट देख्ने अवसर पाएँ। उनीहरूलाई राहत सामग्री पुर्याउँदा मनमा ठूलो सन्तोष मिल्यो। त्यो अनुभवले समाजप्रति जिम्मेवारी अझ गहिरो बनायो र थप सक्रिय भएर काम गर्न प्रेरित गर्यो।


० समाजसेवामा सबैभन्दा ठूलो चुनौती के देख्नुहुन्छ ?
समाजसेवामा सबैभन्दा ठूलो चुनौती भनेको स्रोत–साधनको कमी र समय व्यवस्थापन हो। इच्छाशक्ति भए पनि सबै क्षेत्रमा एकैचोटि पुग्न कठिन हुन्छ।
० शिक्षा क्षेत्रमा तपाईंको योगदान कसरी सुरु भयो ?
मैले Universal Tuition and Language Institute सञ्चालन गरेकी थिएँ, जहाँ आफैंले ट्युसन र भाषा पढाउने काम गरेँ। त्यसअघि विद्यालयहरूमा अध्यापन पनि गरें। शिक्षण अनुभवले नेतृत्व, अनुशासन र समाजसँग जोडिने अवसर दियो। विद्यार्थीको प्रगति देख्दा शिक्षा क्षेत्रमा निरन्तर योगदान दिन प्रेरणा मिल्यो
० विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गर्ने सोच कसरी आयो ?
आर्थिक अभावका कारण धेरै विद्यार्थीहरूले आधारभूत शैक्षिक सामग्रीसमेत सहज रूपमा प्राप्त गर्न नसकिरहेको अवस्था मैले नजिकबाट देखेँ। एक दिन बाटोमा हिँड्दा एक जना विद्यार्थीको किताब राख्ने झोला निकै च्यातिएको अवस्थामा देखेपछि मन निकै छोयो। त्यही दृश्यले आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सहयोग गर्नुपर्छ भन्ने सोचलाई अझ बलियो बनायो। त्यसपछि छात्रवृत्ति, कापी, झोला लगायत आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने कार्यलाई निरन्तरता दिँदै आएकी छु
० महिला सशक्तिकरणका लागि तपाईंले गर्दै आएका मुख्य काम के हुन् ?
महिलालाई सचेत, सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले प्रौढ कक्षा सञ्चालन, शिक्षा तथा चेतनामूलक कार्यक्रम, उद्यमशीलता विकास र बचत–संचय अभियान सञ्चालन गरिरहेका छौं। श्री कल्याण महिला जागरण समूह मार्फत महिलाहरूलाई संगठित गर्दै बचत, लगानी र सामाजिक कामलाई अघि बढाएका छौं ।
० श्री कल्याण महिला जागरण समूहको उद्देश्य र उपलब्धि के हुन् ?
समूहको मुख्य उद्देश्य महिलालाई आर्थिक रूपमा सशक्त बनाउनु र समाजसेवामा सक्रिय गराउनु हो। बचत–संचय र लगानीमार्फत महिलालाई आत्मनिर्भर बनाउने काम भइरहेको छ।
० सहकारी संस्थामार्फत समाज विकासमा कस्तो भूमिका खेल्न सकिन्छ ?
सहकारीले आर्थिक र सामाजिक दुवै क्षेत्रमा ठूलो योगदान दिन सक्छ। स–साना बचतलाई लगानीमा रूपान्तरण गरेर स्वरोजगार, महिला सशक्तिकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न सकिन्छ।
० विभिन्न संस्थामा आबद्ध भएर जिम्मेवारी कसरी व्यवस्थापन गर्नुहुन्छ ?
दृढ इच्छाशक्ति, कार्यतालिका, प्राथमिकता निर्धारण र समूहसँग समन्वय नै मुख्य आधार हुन्। राम्रो सुनुवाइ र समय व्यवस्थापन बिना जिम्मेवारी प्रभावकारी हुँदैन।
० समाजसेवामा प्रचारमुखी काम गरेको आरोप लाग्दा तपाईंको प्रतिक्रिया के हुन्छ ?
म यसलाई सकारात्मक रूपमा लिन्छु। मैले सधैं निस्वार्थ भावनाले काम गरेकी छु। मेरो उद्देश्य समाजको भलो हो, प्रचार वा व्यक्तिगत लाभ होइन।
० सहकारी र सामाजिक संस्थामा पारदर्शिता कसरी कायम गर्नुभएको छ ?
हाम्रो संस्थामा सबै आर्थिक कारोबारको अभिलेख राखिन्छ, नियमित बैठक बस्छ, निर्णय सामूहिक रूपमा गरिन्छ र सदस्यलाई जानकारी दिइन्छ।
० महिला नेतृत्व अझै कमजोर किन देखिन्छ ?
सामाजिक सोच, अवसरको अभाव, शिक्षा र स्रोतमा सीमित पहुँच तथा निर्णय प्रक्रियामा कम सहभागिता मुख्य कारण हुन्। क्षमता भएर पनि अवसर नपाउँदा महिलाले नेतृत्वमा पूर्ण भूमिका खेल्न सकिरहेका छैनन्।
० तपाईंले गरेका कामको दीर्घकालीन प्रभाव कस्तो रहने विश्वास छ ?
शिक्षा, महिला सशक्तिकरण, बचत–संचय र सामाजिक चेतनाले दीर्घकालमा समाजको सोच बदल्छ भन्ने विश्वास छ। साना प्रयासले समुदायमा ठूलो परिवर्तन ल्याउन सक्छ ।
० महिला उद्यमशीलता कसरी विकास गर्न सकिन्छ ?
सीपमूलक तालिम, वित्तीय पहुँच, आत्मविश्वास अभिवृद्धि र बजारसँग जोड्ने कार्यक्रम आवश्यक छन्। यसले महिलालाई आत्मनिर्भर बनाउँछ।
० महिला हिंसा रोक्न के आवश्यक छ ?
महिला हिंसा अस्वीकार्य छ। शिक्षा, चेतना, कानुनी सहयोग, आत्मरक्षा तालिम र आर्थिक सशक्तिकरण अत्यावश्यक छन्। समाजले हिंसाप्रति शून्य सहनशीलता अपनाउनुपर्छ।
० तपाईंले चाहनुभएको देश कस्तो हो ?
म राष्ट्रप्रेमी नागरिक हुँ। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सुशासन बलियो भएको देश हेर्न चाहन्छु ।
० आगामी दिनको योजना के छ ?
शिक्षा, महिला सशक्तिकरण, स्वास्थ्य, बचत–संचय र रोजगारीमुखी कार्यक्रमलाई अझ विस्तार गर्ने योजना छ।
० युवा पुस्तालाई तपाईंको सन्देश ?
शिक्षा पूरा गर्नुहोस्, सीप सिक्नुहोस्, समाजसँग जोडिनुहोस्, अनुशासन र इमानदारी अपनाउनुहोस्। तपाईंहरूको सानो प्रयासले पनि ठूलो परिवर्तन सम्भव छ ।
० अन्त्यमा ?
आर्थिक अभावले पढाइमा कठिनाइ भोगिरहेका विद्यार्थीहरूको सहयोग गर्नु मेरो समाजसेवाको मुख्य उद्देश्य बनेको छ, र साना प्रयासले पनि उनीहरूको भविष्य उज्यालो बनाउन सकिन्छ। मिडियालाई सहयोग र अवसर प्रदान गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु, जसले समाजसेवा र सकारात्मक कामको प्रसारणमा महत्वपूर्ण भूमिका खेलेको छ।


