तेमालको सत्य नारायण मन्दिरमा यस वर्ष पनि जनैपूर्णिमा मेला नलाग्ने
काभ्रे – कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लाको तेमाल गाउँपालिका वडा नं ५ स्थित नारायणस्थान मन्दिरमा यस वर्ष पनि जनैपूर्णिमामेला यस वर्ष नलाग्ने भएको छ । कोरोना महामारीका कारण तेमाल गाउँपालिकाले गत वर्ष पनि मेला स्थगित गरेको थियो ।

गाउँपालिका अध्यक्ष सलामसिं तामाङले एक सूचना जारी गर्दै कोभिड–१९ का कारण संक्रमण रोकथाम र नियन्त्रणको निमित्त जात्रा नगर्न र नगराउन अनुरोध गरेका हुन् ।

प्रकाशित सूचना अनुसार ,‘यस तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थान स्थित धार्मिक तथा पर्यटन दृष्टिकोणले प्रसिद्ध सत्यनारायण मन्दिरमा जनै पूर्णिमा पर्वमा मेला लाग्दै आएकोमा हाल विश्व भरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मेला, पर्व, जात्रा जस्ता कार्यहरु नेपाल सरकारको निर्णयानुसार नगर्न र नगराउनु हुन निर्देशन भए बमोजिम यस गाउँपालिका अन्तर्गत यस वर्ष जैन पुर्णिमामा जात्रा पर्व सञ्चालन नगर्न नगराउनु हुन सम्पुर्ण महानुभावहरुमा यो सूचना प्रकाशन गरिएको छ ।’

बिज्ञापन

साथै नेपाल सरकारबाट लकडाउनको अवधी अन्त्य गरिएको वर्तमान अवस्थामा (कोभिड–१९) संक्रमणबाट बच्न आवश्यक सुरक्षा सर्तकता अपनाउन हुन, सामाजिक दुरी कायम गर्नुहुन एवं स्वास्थ्य निर्देशिकाको पालना समेत गर्नुहुन अनुरोध गरिएको छ ।