धुलिखेलकी महिलामाथि लुटपाट, बेहोस अवस्थामा अस्पताल भर्ना

धुलिखेल,  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ मितिन्छाप घोरसाईनेटोल निवासी एक महिलामाथि लुटपाट भएको घटना सार्वजनिक भएको छ।
स्थानीय टिका प्रसाद घोरसाईनेकी पत्नी नीर माया घोरसाईने आज दिउँसो करिब ३ बजे बनेपा अटोपार्क हुँदै गणेशस्थानतर्फ जाने क्रममा अटोपार्क नजिकको उकालो क्षेत्रमा अज्ञात समूहको आक्रमणमा परेको बताइएको छ।
प्राप्त जानकारीअनुसार उक्त समूहले नीर मायालाई बेहोस बनाइ उनको साथमा रहेको एक जोर सुनको रिङ, एक थान तिलहरी, एक थान सिक्री गरी करिब ३ तोला बराबरको सुन तथा एक थान मोबाइल फोन लुटपाट गरेको जनाइएको छ।
घटनापछि बेहोस अवस्थामा फेला परेकी नीर मायालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। हाल उनको अस्पतालको आईसियुमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको तथा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको बताइएको छ। स्थानीयवासीलाई अपरिचित व्यक्तिप्रति सचेत रहन तथा कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ।

बिज्ञापन