


काभ्रेपलाञ्चोक । युवाहरूलाई रोजगारमुखी तथा व्यावसायिक सीप प्रदान गर्ने उद्देश्यले पाँचखाल नगरपालिकाको आयोजनामा तथा इन्नोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टर, बनेपाको समन्वयमा सञ्चालन हुने १६० घण्टे बारिस्टा तालिम कार्यक्रम आज औपचारिक रूपमा शुभारम्भ गरिएको छ।


पाँचखाल नगरपालिकाकी उपप्रमुख सूर्यमाया दनुवारको प्रमुख आतिथ्यता तथा इन्नोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरका प्रोप्राइटर कमदेव शाह ठाकुरीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा ३० जना प्रशिक्षार्थीहरूको सहभागितासहित तालिमको उद्घाटन गरिएको हो।


तालिम कार्यक्रम मार्फत सहभागीहरूलाई कफी बनाउने कला, ग्राहक सेवा, कफी मेसिन सञ्चालन, खाद्य तथा पेय पदार्थ सम्बन्धी आधारभूत ज्ञानलगायत बारिस्टा पेशासँग सम्बन्धित व्यवहारिक तथा सैद्धान्तिक सीप प्रदान गरिने ट्रेनिङ सेन्टरको प्रोपाइट कामदेव शाह ठकुरीले बताए ।
तालिमले सहभागीहरूलाई स्वदेशमै रोजगारी तथा आत्मरोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख दनुवारले युवाहरूलाई समयको मागअनुसार सीपयुक्त बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउँदै यस्ता तालिमले युवाहरूको क्षमता अभिवृद्धि गर्नुका साथै आर्थिक सशक्तीकरणमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका विशेष अतिथि कमदेव शाह ठाकुरीले आतिथ्य तथा सेवा क्षेत्रको बढ्दो सम्भावनालाई दृष्टिगत गर्दै दक्ष बारिस्टाको माग दिनप्रतिदिन बढिरहेको उल्लेख गरे। उनले तालिममा सहभागी युवाहरूले सिकेका सीपलाई व्यवहारमा उतार्दै सफल व्यवसायी तथा दक्ष जनशक्तिका रूपमा स्थापित हुन सक्ने बताए।
नगरपालिकाको सीप विकास तथा उद्यमशीलता प्रवर्द्धन अभियानअन्तर्गत सञ्चालन गरिएको यस तालिमले स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन, स्वरोजगार प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने पाँचखाल नगरपालिका, प्रशिक्षक, अतिथिहरू तथा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ। साथै, यस्ता सीपमूलक तथा रोजगारमुखी तालिम सञ्चालन गर्ने अवसर प्रदान गरेकोमा इन्नोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरले पाँचखाल नगरपालिकाप्रति विशेष धन्यवाद ज्ञापन गरेको छ।


