काठमाडौं–नेपालमा पहिलो पटक तामाङ चलचित्र प्रदर्शन भएको ऐतिहासीक दिनको सम्झना गर्दै यो पटक पनि तामाङ चलचित्रमर्कीहरुले भव्यताका साथ ‘तामाङ चलचित्र प्रदर्शन दिवस’ मनाएका छन् ।
राजधानीस्थित चलचित्र विकास वोर्डको हल चावहिलमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा टिएफआर सम्मान तथा सांस्कृतिक कार्यक्रम गर्दै भव्यताका साथ २७ औं तामाङ चलचित्र प्रदर्शन दिवस मनाईएको हो ।
तामाङ चलचित्र संघद्धारा आयोजित दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोक्तानले चलचित्रले समाजको यथार्थ पाटोलाई चित्रण गर्दै समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । समुदायको अस्तीत्व बचाउ र चेतना निर्माण मार्फत समाज रुपान्तरणमा चलचित्रकर्मीहरुको भुमिका रहेको उहाँको भनाई छ ।
उहाँले तामाङ चलचित्रकर्मीहरुले चलचित्रमार्फत तामाङ समाजको कला,संस्कृति,भाषा संरक्षणका लागि खेलेको भुमिकाप्रति प्रशंसा समेत गर्नुभयो । तामाङ चलचित्र निर्माणको इतिहास र सांस्कृतिक पाटोलाई माथि उठाउन बागमती प्रदेश सरकार सकारात्मक रहेको उहाँले बताउनुभयो ।
नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविण वलले तामाङ चलचित्रकर्मीहरुसँगै सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । २०५२ सालमा निर्माण भएको पहिलो तामाङ चलचित्र ‘सेमरी छोरङान’ निर्देशन गर्दै इतिहास कोर्नुहुने जयनन्द लामा र उहाँका कृतिलाई पछ्याउंदै थप रचनात्मक ढंगले अघि बढ्न सबै तामाङ र तामाङ संघ संस्थाहरु एकजुट हुनुपर्ने उहाँको धारणा छ ।
नेपाल आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले तामाङ चलचित्रलाई व्यवसायिक ढंगले अघि बढाउन हलहरुको उपलब्धता हुनुपर्ने,यसका लागि राज्यसंग अझै संघर्ष जरुरी रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व पहिलो तामाङ चलचित्रका कलाकार गायक रोज मोक्तानले ‘सेमरी छोरङान’लाई एक इतिहासको रुपमा सम्झना र सम्मान गरेकोमा तामाङ चलचित्र संघ परिवारप्रति खुसी व्यक्त गर्नुभयो ।
कला,संस्कृति,भाषा र धर्मको संरक्षणका लागि स्रष्टालाई सम्मान र नयाँलाई प्रोत्साहनका लागि सम्मान कार्यक्रमका साथै चर्चित कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम गर्दै यो पटकको दिवस मनाएको तामाङ चलचित्र संघका केन्द्रिय अध्यक्ष कुमार मोक्तानले बताउनुभयो ।
तामाङ चलचित्रको इतिहास एवं पहिलो तामाङ चलचित्र सेमरी छोरङानका निर्देशक स्व. जयनन्द लामाको सम्मानमा पहिलो तामाङ चलचित्र ‘सेमरी छोरङान’ अवार्ड लगायतका कार्यक्रमहरु सुरु गरेको जानकारी गराउंदै उहाँले आगामी दिनहरुमा यसलाई निरन्तरताका साथै थप व्यवस्थीत र भव्य बनाउंदै लैजाने सोच तामाङ चलचित्र संघको रहेको जानकारी दिनुभयो । कोभिडका कारण २ वर्ष औपचारीक रुपमा मनाउन नसकिएको दिवस यस वर्षदेखि निरन्तरताका साथै विशेष बनाएको उहाँको भनाई छ । संघका अध्यक्ष मोक्तानले २७ औं तामाङ चलचित्र प्रदर्शन दिवस कार्यक्रमलाई सहयोग गर्ने सबैमा धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
भिन्न विधाका १५ जनालाई टिएफआर सम्मान र भव्य सांस्कृतिक कार्यक्रम
तामाङ चलचित्र संघ केन्द्रिय कार्यसमितिको आयोजना र ताम्सालिङ टिभी सहआयोजक रहेको कार्यक्रममा यो पटक तामाङ चलचित्र निर्माता,गीतकार,संगीतकार,कथाकार,नायक,नायिका,निर्देशक,छायांकार,श्रींगार(मेकअप पर्सन) ,द्धन्द निर्देशक,सम्पादक,कोरियोग्राफर,चरित्र अभिनेता,चरित्र अभिनेत्री,पत्रकार गरी १५ जनालाई टिएफआर सम्मान प्रदान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरु
विशेष सम्मान : रोज मोक्तान
निर्देशक : अजय स्याङतान
चलचित्र निर्माता : भगवती मोक्तान
गीतकार : कुमार स्ह्याङ्बा
संगीतकार : जोग लाल लामा
कथाकार : ऋतुराज पाख्रिन
नायक : टुल्साङ मोक्तान
नायिका : निशा घलान
छायांकार : विक्रम मोक्तान
श्रींगार(मेकअप पर्सन) : विमला लामा
द्धन्द निर्देशक : राजु किरांत
सम्पादक : दिपक तामाङ
नृत्य निर्देशक : सुनिल मोक्तान
चरित्र अभिनेता : राजकुमार स्याङतान
चरित्र अभिनेत्री : मायादेवी मोक्तान
पत्रकार : जगत तामाङ
संघले तामाङ चलचित्र क्षेत्र र यस क्षेत्रलाई सहयोग गर्ने सहयोगी व्यक्ति संस्थाहरुलाई पनि प्रशंसा पत्र एवं मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्वहरुको भने तामाङ भाषा,कला संस्कृति संरक्षणमा उनीहरुले गरेका योगदानका विषयमा निर्मित भिडियो प्रोफाईल समेत देखाईएको थियो ।
प्रमुख अतिथि,अतिथि लागयत सहभागिहरुलाई मौलिक तामाङ गीत पस्किएर स्वागत गरिएको थियो भने कलाकारहरुको सांस्कृति प्रस्तुतीले दिवस समारोह उत्सवमय बनाएको थियो । तामाङ चलचित्रका नायक नायिका,मोडलहरुको आकर्षक नृत्यका साथै चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुतीले माहौल उल्लासमय बनाएको थियो । जादुगरको जादु र नृत्यका साथै विश्वकै होचा व्यक्ति मनोज गोर्खालीको नृत्यले पनि धेरैको मन तानेको थियो ।
कार्यक्रमकैबीच तामाङ चलचित्र संघले स्व जयनन्द लामाले अभिनय गर्नुभएको अन्तिम तामाङ चलचित्र ‘दर्बुङ’ को प्रवद्र्धनका लागि भगवती मोक्तानमार्फत रु ५१ हजार सहयोग हस्तान्तरण गरिएको थियो ।
स्वर्गीय जयनन्द लामाको कथा र दिर्नेशनमा पहिलो पटक २०५२ सालमा तामाङ चलचित्र ‘सेमरी छोरङान’ निर्माण भएको इतिहास भेटिन्छ ।
उक्त चलचित्र भदौ १६ गते रसियन कल्चरमा च्यारीटी शो भएको दिनको सम्झनामा र सम्मानमा हरेक वर्षको भदौ १६ गते तामाङ चलचित्र संघले तामाङ चलचित्र प्रदर्शन दिवस मनाउने गरेको संघका महासचिव सुनिता लुङबाले स्पष्ट पार्नुभयो । पहिलो तामाङ चलचित्र निर्माणको ऐतिहासीक खम्बा स्वर्गीय जयनन्द लामाको योगदान तामाङ चलचित्र जगतले कहिल्यै नभुल्ने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..