श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी र सुदृष्टि आँखा केन्द्रबीच सम्झौता, सदस्यलाई आँखा उपचारमा विशेष छुट

 

बनेपा । सुदृष्टि आँखा केन्द्र, बनेपा–७ र श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपा–१२ बीच सहकारीका सदस्यलाई आँखासम्बन्धी उपचार तथा परामर्श सेवामा विशेष छुट र सुविधा उपलब्ध गराउने उद्देश्यले द्विपक्षीय सम्झौता भएको छ।

बिज्ञापन

सम्झौताअनुसार बासडोल सहकारीका सदस्यहरूले सुदृष्टि आँखा केन्द्रबाट आँखा उपचार तथा परामर्श सेवा लिँदा विभिन्न सुविधा प्राप्त गर्नेछन्। सुदृष्टि आँखा केन्द्र बाट हरिहर कोइराला व्यवस्थापक र बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लि. को अध्यक्ष आशिष शर्मा वाग्लेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा सहकारीका सदस्यहरूका लागि दर्ता, सामान्य आँखा जाँच, प्रेसर जाँच तथा आँसुको परीक्षण निःशुल्क उपलब्ध गराउने उल्लेख छ। त्यसैगरी, सम्पूर्ण औषधिमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) मा छुट तथा प्रिस्क्रिप्सनअनुसारका पावर चस्मा र फ्रेमको मूल्यमा १० प्रतिशत छुट प्रदान गरिनेछ।

ब्रान्डेड तथा प्रिमियम लेन्स र सनग्लासमा समेत एमआरपीमा १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।

सम्झौताअनुसार सुविधा प्राप्त गर्न सहकारीका सदस्यहरूले आफ्नो सदस्यता परिचयपत्र वा संस्थाको आधिकारिक सिफारिसपत्र सुदृष्टि आँखा केन्द्रमा प्रस्तुत गर्नुपर्नेछ।

दुवै पक्षबीच भएको सम्झौता हस्ताक्षर भएको मितिदेखि एक वर्षसम्म लागू हुनेछ। दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

यस सम्झौताबाट सहकारीका सदस्यहरूलाई सहज, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत अनन्त प्रसाद तिमल्सिनाले बताए।