

काठमाडौं । टपटेन खबरका संचालक/सम्पादक तथा आमूल परिवर्तन मासिक पत्रिकाका सम्पादक नन्दलाल खरेल नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सदस्यमा नियुक्त हुनुभएको छ।

खरेल करिब डेढ दशकदेखि लेखन तथा पत्रकारितामा सक्रिय रहँदै आउनुभएको छ। उहाँले अर्थ–राजनीतिक विषयमा नेपालका मुख्यधारा (मेन स्ट्रिम) सञ्चार माध्यमहरूमा समेत नियमित रूपमा कलम चलाउँदै आउनुभएको छ। विशेषतः दलाल पुँजीवाद, भ्रष्टाचार, आर्थिक असमानता, बैंक तथा वित्तीय क्षेत्रका विकृति–विसंगतिबारे उहाँका लेखहरू चर्चित रहँदै आएका छन्।


पत्रकारितासँगै खरेल कम्युनिस्ट आन्दोलनमा पनि झण्डै दुई दशकदेखि सक्रिय रहनुभएको छ। वैचारिक स्पष्टता, जनपक्षीय लेखन र संगठनात्मक सक्रियताका कारण उहाँलाई पार्टीको केन्द्रीय नेतृत्वमा समेटिएको पार्टी स्रोतले जनाएको छ।
खरेलको केन्द्रीय समिति सदस्यमा नियुक्तिले पार्टीभित्र वैचारिक बहस, वैकल्पिक अर्थनीति र जनमुखी राजनीतिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।


