गायक बन्ने सपना बोकेर काठमाडौँ छिरेका मुकेश हुमागाइँ, बने नेपाली चलचित्र क्षेत्रका व्यस्त सिनेमाटोग्राफर

काठमाडौं । ​मानिसका सपनाहरू समय र परिस्थितिअनुसार फेरिन सक्छन्, तर निरन्तरको लगाव र कडा मेहनतले ती सपनालाई यथार्थमा बदल्न सकिन्छ भन्ने गतिलो उदाहरण हुन्, सिनेमाटोग्राफर मुकेश हुमागाइँ। काभ्रेपलाञ्चोक जिल्लाको कुषादेवी छिनाभन्ज्याङ भन्ने ठाउँमा जन्मिएका हुमागाइँ नेपाली सिनेमा क्षेत्रका एक उल्लेख्य प्रतिभा हुन् ।
काभ्रे जिल्लाबाट साङ्गीतिक क्षेत्रमा स्थापित हुने रहर र सपना बोकेर राजधानी काठमाडौं प्रवेश गरेका उनी अहिले नेपाली म्युजिक भिडियो र चलचित्र क्षेत्रका एक अग्र एवं व्यस्त छायाकारका रूपमा स्थापित भएका छन् ।
​विसं २०६२ मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि उनी काठमाडौँ आएका थिए मुकेश । काठमाडौं आएपछि सरस्वती क्याम्पसमा भर्ना भएर उच्च शिक्षा अध्ययन थालेका थिए । क्याम्पस पढ्दै गर्दा उनमा फिल्म क्षेत्रतिर मोह बढदै गयो । त्यही मोहले उनलाई सुटिङ सेटतिर डोहोर्‍यायो। जीवनको सुरुवाती दिनमा भोगेका ती सङ्घर्षका पलहरू उनी झझल्ती सम्झिन्छ्न । दु:खलाई संघर्षकै एक अध्याय ठान्छन् उनी ।
यहीँ संघर्षले नै उनलाई आज यो स्थानसम्म पुर्‍याएको हो ।
..
उच्च शिक्षा हासिल गर्दै ​बिस्तारै यसै क्षेत्रमा भिज्दै जाँदा उनले बालबालिकाको कथामा आधारित ‘काँचो माटो’ चलचित्रबाट आफ्नो छायांकन यात्राको सुरुवात गरे, जुन चलचित्र छायांकन भएको डेढ दसक भन्दा धेरै समय भइसकेको छ । काँचो माटोको छायांकन गरेलगत्तै रेजिना रिमालको स्वरमा रहेको ‘छुट्टिएर तिमीसँग’ म्युजिक भिडियो छायांकन गरेका उनले यो क्षेत्रमा नाम कमाएका छन् । आफूलाई आवस्यक आर्थिक उपार्जन पनि गरेका छन् । अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन मुकेशले । हालसम्म उनले १९ सयभन्दा बढी म्युजिक भिडियो र थुप्रै चलचित्रहरूमा आफ्नो कलात्मक छायांकनको जादु पोखेका छन्।

​मुकेशले आफ्नो जीवनको यात्रामा दर्जनौँ चर्चित चलचित्रहरूमा छायाकारको भूमिका निभाएका छन्। ‘काँचो माटो’देखि लिएर ‘डटी लभ’ सम्म उनले खिचेको चलचित्र हुन । ‘प्राणभन्दा प्यारो’, ‘बुलेट’, ‘चक्र’, ‘छल’, ‘इन्दिरा धिमे मैचा'( नेवार फिल्म ) , ‘टाइगर :द रियल हिरो’, ‘मखमली मृत्युकोष’ उनले खिचेको महत्त्वपूर्ण चलचित्र हुन । हालसालै छायांकन सम्पन्न भएको चलचित्र ‘युग युग’ लगायतका थुप्रै सिनेमामा उनले आफ्नो दक्षता साबित गरेका छन्।

बिज्ञापन

​सिनेमाटोग्राफीबारे आफ्नो स्पष्ट धारणा राख्दै हुमागाइँ भन्छन् , “मेरो बुझाइमा सिनेमाटोग्राफी भनेको यथार्थ चिजलाई चित्रण गरेर कलात्मक कुरा निकाल्न सक्नु हो। आँखाले जे देख्छ, त्यो क्यामेरामा कलासहित उतार्न सक्नुपर्छ, त्यो खुबी सिनेमाटोग्राफरमा हुनुपर्छ।”

उत्कृष्ट कामको कदरस्वरूप उनले बक्स अफिस अवार्ड, नाटेश्वरी अवार्ड , सगरमाथा म्युजिक अवार्ड र अन्य थुप्रै प्रतिष्ठित राष्ट्रिय तथा साङ्गीतिक अवार्डहरू प्राप्त गरिसकेका छन्।
प्राविधिक क्षेत्रको सम्भावनाबारे कुरा गर्दै उनी भन्छन्, “प्राविधिकहरूका लागि धेरै ठूलो अवसर छ नेपालमा । यहाँ थुप्रै कामहरू देखाउन सकिन्छ, चुनौतीहरू पनि उत्तिकै छन्। तर, यी सबैका बाबजुद पनि यदि राम्रो काम गर्न सकियो भने १०० प्रतिशत सफलता र उत्कृष्ट भविष्य छ।”

​ नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्थाप्रति सकारात्मक देखिने हुमागाइँको निचोड छ— फिल्म लाइनको अवस्था धेरै राम्रो हुँदै गएको छ । काम गर्न सक्ने र क्षमता भएका मान्छेलाई जहाँ पनि राम्रो छ, यो कुरा फिल्म क्षेत्रमा मात्र लागू हुँदैन। अरु क्षेत्रमा पनि उतिकै लागू हुन्छ ।

यो सामाग्री तयार पारिरहदा पनि उनी छायांकनकै दौरानमा थिए ।