हाम्रो आठौँ गाउँसभामा उपस्थित प्रतिनिधी सभाका माननीय सांसदज्यू, प्रदेश प्रतिनिधि सभाका माननीय सांसदज्यू, आदरणीय गाउँसभासदस्य ज्यूहरू, कर्मचारी मित्रहरू, सुरक्षाकर्मीलगायत पत्रकार मित्रहरु र यो कार्यक्रममा उपस्थित सबै महानुभावहरु सबैमा गाउँपालिकाको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछु । यो महत्वपूर्ण क्षणमा देश र जनताका निम्ति आमुल परिवर्तनका खातिर जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका विभिन्न रुपका आन्दोलन संघर्ष र विद्रोहहरूमा उच्च बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात महान शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्‍जलि व्यक्त गर्दछु । साथै बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइते अपाङ्‍गहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

विश्व व्यापी रुपमा मानव जाती माथी नै चुनौती बनेर आएको कोभिड-19 को कारण ज्यान गुमाउनु भएका हाम्रो गाउँपालिकाका अग्रणी व्यक्तित्वहरु कमान सिं लामा, लेखराज गौतम, पत्रकार विष्णु चौलागाई, किर्ती बहादुर लामा लगाएत असामयीक मृत्यु वरण गर्नुहुने सबैमा हार्दिक श्रद्धाञ्जली साथै संक्रमितहरु सबैमा शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।

आदरणीय गाउँ सभासदज्यूहरू,

आवधिक निर्वाचनको हिसाबले विधानतः हामी चौथो कार्यकाल सम्पन्न गरी पाँचौ तथा अन्तिम कार्यकालमा प्रवेश गरिसकेका छौँ। अहिले हामी चौथो वर्षको नीति कार्यक्रम तथा बजेट कार्यान्वयन सम्पन्न गरी पाँचौ वर्षको आर्थिक नीति तथा कार्यक्रम र बजेट निर्माण तथा विनियोजन गर्ने प्रकृयामा जुटिरहेका छौँ । हामी निर्वाचित भएर आएको वर्षदेखि यो अन्तिम वर्षसम्ममा हामीले प्राप्त गरेका उपलब्धी, चुनौतीहरू, विकास निर्माण र जनजीवनमा आएका परिवर्तनहरू सकारात्मक तथा नकारात्मक सबैको विस्तृत समीक्षा गरी त्यसलाई संस्थागत गर्ने आम जनसमुदायसम्म पुर्‍याउने कार्यको थालनी गर्नु र आगामी वर्ष (078/79) का लागि सही खालको योजना तर्जुमा गरी कार्यान्वयन गर्नु हाम्रो अहिलेको प्रमुख कार्यभारमा सक्रिय सहभागी हुन जरुरी छ । यसका लागि हाम्रो कार्यकाल भरी हामीले गरेका सम्पूर्ण कार्यको लेखाजोखासहित विस्तृत समीक्षासहितको पुस्तक तयार गरी यही आर्थिक वर्षको उत्तरार्धसम्ममा प्रकाशन गरिने छ । हाललाई गत वर्ष ०७७/७८ को मात्र संक्षिप्त समीक्षा यहाँ प्रस्तुत गरिएको छ ।

गत वर्षको संक्षिप्त समीक्षा

आदरणीय सभासदज्यूहरू,

गत वर्षको गाउँसभा हामीले कोरोना कहरकै बिचबाट सामान्य तवरले गरेका थियौँ । अघिल्लो वर्षको झण्डै आधा-आधीबाट सुरु भएको कोरोना महामारी र बन्दाबन्दीको बिचबाट हामीले हाम्रा योजनाहरूलाई सफलतापूर्वक कार्यान्वयन गरेका थियौँ । यस वर्ष पनि योजना कार्यान्वयन गर्नेमध्ये समयदेखि नै कोरोनाको दोश्रो भेरियन्टले निक्कै प्रभावित बनाएको सबै जनप्रतिनिधिहरू र कर्मचारी संयन्त्रसमेत मुख्य त कोरोनाको रोकथाम नियन्त्रण र उपचारमा नै बढी केन्द्रित हुनुपर्नाले साना तथा वडा स्तरमा रहेका कतिपय योजनाहरू कार्यान्वयनमा जति गतिका साथ हुनुपर्थ्यौ, त्यो हुन सकेन । यद्यपि यो आर्थिक वर्ष 077/078 को अन्तसम्ममा सम्पन्न हुने प्रक्रियामा रहेका छन् । चालु आर्थिक वर्षमा भएका योजनाहरूलाई कार्यान्वयनको तहमा भएका प्रगति बारे संक्षिप्त समीक्षा राख्न गइरहेको छु ।

आर्थिक विकास तर्फः

कृषि, सिँचाई तथा पशु विकासका क्षेत्रमा अघिल्लो आ.व. 076/77 मा केही प्रगति हासिल गरिएको थियो भने 077/78 मा अझै प्रगति भएको छ । ठाउँठाउँमा सिँचाई पोखरी र कुलोहरूको निर्माण गरी कृषियोग्य भूमिहरु र बाँझो रहेका कतिपय जमिनहरूमा खेतीपाती लगाउने कार्य भएका छन् । कोरोनाको संक्रमण रोकथामका लागि देशैभर भएका लकडाउनको कारणले पनि केही जनशक्ति गाउँमै फर्किएर खेतीपातीतिर लागेका हुनाले थोरै भएपनि प्रगति भएको छ । कृषिलाई आधुनिकीकरण तथा व्यवसायी बनाउनका लागि गाउँपालिकाले अनुदानमा तथा लागत सहभागितामा हाते ट्याक्टर लगायतका कृषि औजारहरू वितरण, रासायनिक मल ढुवानीमा लाग्ने पूरै भाडा रकम अनुदान, अन्न तथा तरकारीका बिउ बिजन, बिषादी, फलफूल तथा बोट विरुवा, फलफूल तथा तरकारीका बिउ बिरुवाहरूमा अनुदानमा वितरण गर्ने र उन्नत बिउ उत्पादनका लागि पकेट क्षेत्र निर्माण गरी उत्पादनको सुरुवात आदि कृषि क्षेत्रका महत्वपूर्ण उपलब्धी भएका छन् । चिया खेतीको परीक्षण आदि कार्यहरू राम्रैसँग कार्यान्वयनमा रहेका छन् । कृषि योग्य बेसी तथा फाँटका जमिनहरूमा कृषि सडक संजाल पुर्‍याउने कार्य निरन्तरतामा नै रहेका छन् । चालु आर्थिक वर्षमा तय गरी पारित गरिएका योजना तथा कार्यक्रमहरूलाई यो वर्ष पनि निरन्तरतामा लगिने छ र धान, गहुँ र मकैका उन्नत बिउ उत्पादन कार्यलाई अझै प्रभावकारी ढंगले कार्यान्वयन गरी बिउमा आत्मनिर्भर बनाउने लक्ष्यलाई निरन्तरता दिइने छ ।

भैंसी तथा गाई पालन गर्ने किसानहरुलाई पशु खुराकका लागि दिइने सुत्केरी भत्ताले किसानहरूलाई आकर्षित गरेको छ भने कृतिम गर्भधान तथा बोयर जातका बोका बिउका लागि अनुदानमा बिउका बोका वितरण गर्ने कार्यले प्रभावकारी उपलब्धी हासिल गरेको छ । यो सँगै बाख्रापालन किसानहरूको बृद्धि भइरहेको छ भने व्यावसायिक किसिमले बाख्रा तथा बंगुरका फर्महरू स्थापना तथा सञ्चालनमा आइरहेको छन् । कुखुरा पालन किसानहरूको पनि बृद्धि भइसकेको छ । समग्रमा पशु व्यवसायबाट किसानहरूको आय-आर्जनमा बृद्धि मात्रै भएको छैन, सिंगो गाउँपालिका मासुमा आत्मनिर्भर भएको छ र खसीबोकाहरू शहर-बजारतिर निर्यात पनि भइरहेका छन् । यस वर्ष कोरोनाका कारण उन्नत जातका बोयर बोका, पाठीहरु ल्याएर वितरण गर्न भने सकिएको छैन ।

पर्यटनः

पर्यटन पूर्वाधार निर्माणका योजनाहरू कार्यान्वयनमा गइरहेका छन् । भञ्ज्याङ्गदेखि वाङथली, नाग्रे, दुती, खाँडादेवीसम्मका १७ कि.मि. लामो युद्ध पर्यटन पदमार्गको ट्रयाक ओपन भइसकेको छ । लौरेमा पिकनिक स्पोट, कात्तिके देउराली पाथिभरा मन्दिर, विर्ता देउरालीमा बुद्ध मुर्ति निर्माण र वाङ्थलीमा छोर्तेन निर्माण कार्य सम्पन्न भइसकेका छन् भने आरुबोटछा पमा बुद्ध मूर्ति निर्माण कार्य भइरहेको छ। मादन कुँडारीमा होम स्टे सञ्चालनमा छ । त्यसैगरी वडामा विभिन्न देवी देवताका मन्दिरहरू निर्माण तथा पुननिर्माण कार्यहरू सन्तोषजनक ढंगले भइरहेका छन्।बिभिन्न वडामा सहीदका शालिकसहितका सहिद स्मृति पार्कहरु पनि निर्माण भईसकेका छन् भने कतिपय सम्पन्नको अन्तिम चरणमा रहेका छन् । युद्ध पर्यटन पदमार्ग क्रमागत रुपमा बनिरहेको छ ।

शिक्षाः

हाम्रो गाउँपालिका भित्र रहेको ३९ वटा विद्यालयहरू नियमित रुपमा सञ्चालन भइरहेकामा कोरोनाका कारण लामो समयको बन्दाबन्दीले विद्यार्थीहरूले प्रत्यक्ष रुपमा विद्यालय गएर पठन पाठन गर्न सकेका छैनन् । वैकल्पिक विधिबाट सञ्चालित पठन पाठन त्यति धेरै प्रभावकारी बन्न सकिरहेको छैन । सबै मा.वि. हरूका भौतिक पूर्वाधारहरू आधुनिक खालका भवनलगायत आवश्यक शैक्षिक सामग्रीहरु प्रायः उपलब्ध भइरहेका छन् र अझै कतिपय उपलब्ध हुने प्रक्रियामा छन्। विद्यालय नर्सहरु भएका विद्यालयका विद्यार्थीहरूको स्वास्थ्यमा गुणात्मक सुधार देखिएको छ ।

प्राविधिक विद्यालय र विज्ञान संकायका विद्यार्थीहरूलाई दिँदै आइरहेको ५० प्रतिशत छात्रवृत्ति प्रभावकारी भइरहेको छ । गत वर्षका शैक्षिक योजनाहरूलाई निरन्तरता दिँदै लानुपर्नेछ । शैक्षिक गुणस्तरमा विकास गर्नका लागि आवश्यक योजना निर्माण गर्न जरुरी छ ।

स्वास्थ्यः

प्रदेश सरकारको लगानीमा १५ शैया अस्पतालको नयाँ भवन निर्माण कार्य सम्पन्न भइसकेको छ । खाली रहेको ४ नं. वडाको स्वास्थ्य चौकीको भवन पनि निर्माण भई हाल सबै वडाका स्वास्थ्य संस्थाहरू संचालनमा छन् । रिक्त रहेका स्वास्थ्यकर्मीहरूको दरवन्दीमा करार सेवामा कर्मचारीहरू पदपूर्ति गरी स्वास्थ्य सेवा प्रवाह भइरहेको र आवश्यक औषधी उपकरणहरु, सबै संस्थाहरूलाई उपलब्ध गराई रहेको छ । हाम्रो गाउँपालिकामा रहेको ४ वटा अस्पतालहरु DCWC सामुदायिक हस्पिटल, चौंरीदेउरालीको अस्पताल, धुलिखेल अस्पतालका आउट्रिच शाखा देउराली र सलम्बुले मेडिकल अफिसरसहितको दरवन्दी राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । कोरोनाको दोश्रो भेरिएन्टको संक्रमणको रोकथाम नियन्त्रण तथा उपचारका लागि DCWC सामुदायिक हस्पिटलमा ३ वेड र चौंरीदेउरालीको अस्पतालमा १५ वेडको आइसोलेसन वार्डहरू निर्माण गरी बिरामीहरुको गुणस्तरीय सेवा प्रदान गरिएको छ । गाउँपालिकाभरि ५ जना MBBS डाक्टरहरूलगायत स्वास्थ्यकर्मीहरूले २४ सै घण्टा संक्रमितहरूको उपचारमा खटिइरहनु भएको छ । PCR र एन्टिजेन्ट प्रविधिबाट संक्रमणको परीक्षण टोलटोलमै गएर गरिएको र भर्ना गर्नुपर्ने बिरामीहरूलाई अस्पतालमै ल्याएर उपचार कार्यहरू सन्तोषजनक ढंगले भएको छ । विभिन्न दाता, महानुभाव तथा संघसंस्थाहरूबाट अक्सिजन सिलिन्डर कन्सन्सट्रेटर लगायतका स्वास्थ्य सामग्रीहरु समय समयमा उपलब्ध गराइदिनु भएकाले उपचारको प्रक्रियामा निकै सहज हुन पुग्यो। अहोरात्र खटी उपचार सेवा दिनुहुने स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्रीहरू सहयोग गर्नुहुने सबै महानुभावहरूप्रति यो गाउँसभा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु । अब छिट्टै नयाँ भवनबाट सेवा प्रदान गर्ने गरी योजना निर्माण गरिनेछ। ४ वटा एम्बुलेन्सहरूले सन्तोषजनक आकस्मिक सेवा प्रदान गरिरहेका छन् ।

सडक पूर्वाधारः

सबै वडाहरूबाट गाउँपालिका जोड्ने सडकहरूलाई स्तरोन्नति गर्ने क्रममा फराकिलो पारी कटिङ्ग गर्ने कार्य सम्पन्न भइसकेको र नाला बनाई पानी कटाउने कार्य क्रमश हुँदै गएका छन् । ADB को आयोजना सदरमुकाम जिल्ला सदर मुकाम जोड्ने मुख्य सडक कालो पत्रे गर्ने कार्य सम्पन्न भई सकेको र मध्यपहाडी जोड्ने लिङ्क रोडहरु बनिसकेका छन् १, 2, 3 र ४ वटा बाहेक अरु सबै वडाहरू प्रत्यक्ष र अप्रत्यक्ष गरी सबै वडाहरू मध्यपहाडी रोडसँग जोडिसकिएका छन् । कृषि सडक विस्तार गर्ने कार्य निरन्तर रुपमा बढिरहेको छ । सबै वडाका प्रत्यक्ष टोलटोलसम्म बाटोको ट्रयाक जोड्ने कार्य सम्पन्न भइसकेको छ । स्तरोन्नति गर्दै सबै सडकहरू १२ महिना चल्ने बनाउने कार्य निरन्तरतामा नै हुने छ। वर्षाद पछि अवरुद्ध भएका सबै सडकहरूलाई सञ्चालन गर्न आवश्यक व्यवस्था निरन्तर गरिरहनु पर्दछ । चौबास हुँदै मादन कुँडारीसम्म जाने बाटो पनि कालो पत्रेको क्रमागत योजनामा भइरहेको छ ।

खानेपानी तथा सरसफाईः

अघिल्लो आर्थिक वर्षदेखि गाउँपालिकाले प्राथमिकतामा राखेको एक घर एक धारा खानेपानीको व्यवस्था गर्ने कार्यक्रम तीव्रतामा सम्पन्न हुन गइरहेको छ । वडा नं. ६ को पाथिभरा लिफ्ट खानेपानी सम्पन्न भई सञ्चालनमा आएको छ । चौरी खोला डोकाडाँडा लिफ्ट खानेपानी सम्पन्नताको अन्तिम चरणमा छ भने मादन कुँडारीको लिफ्ट योजना निर्माण कार्य निरन्तर जारी भइरहेको । डिपबोरीङबाट वडा नं. ५, 6 र ९ मा खानेपानी  सेवा उपलब्ध भई रहेको छ । आगामी वर्षमा हामी ९०% घरमा शुद्ध पिउने पानीको व्यवस्था गर्न सकिन्छ । नाग्रेमा निर्माण भइरहेको लिफ्ट खानेपानी र गोठपानीको लिफ्ट खानेपानी सम्पन्न भई सकेपछि हामी एक घर एक धाराको अभियानलाई सम्पन्न गर्न सक्ने छौँ । वडा नं. १, 3 र ४ खानेपानी सम्पन्नताका चरणमा रहेका छन् । यस वर्ष पनि खानेपानी प्राथमिकताको सूचीमा नै रहेको छ ।

युवा तथा खेलकुदः

वडा नं. 1, 2, 3, 4 र ५ मा रहेका खेलकुद मैदानहरूको क्रमशः स्तरोन्नति गर्ने कार्य निरन्तर भइरहेका छन् । साथै गाउँपालिका स्तरीय अध्यक्ष गोल्डकप प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न भइरहेका छन् । युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्ने पुरस्कारको व्यवस्था गरिएका कारण खेलकुदको विकास क्रमशः भइरहेको छ । गाउँपालिका स्तरमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रायः सबै विद्यालयबाट सहभागिता भइरहेको र विद्यालय क्षेत्रमा समेत खेलकुदका माध्यमबाट विद्यार्थीहरू सर्वाङ्गीण विकासमा सहयोगी भूमिका भइरहेको छ । जिल्ला स्तरका खेल प्रतियोगिताहरूमा पनि गाउँपालिकाको तर्फबाट विद्यालयहरूले प्रतिनिधित्व गरिरहेका छन्।

भवन तथा आवासः

भूकम्प पीडितहरूका सुरक्षित आवास निर्माण कार्य लगभग सम्पन्न भइसकेका छन् । जोखिममा रहेका टोल बस्तिका समुदायहरुलाई एकीकृत रुपमा सुरक्षित बस्ति निर्माण गर्ने र स्थानान्तरणको कार्यलाई सुरु गरिएको छ । यद्यपि यसले गति पक्रन भने सकेको छैन । हालसम्म गाउँपालिकाको प्रशासनिक भवन निर्माण भएको छैन । आवश्यक जग्गा व्यवस्थापन गर्न प्रयत्न भइरहेका छन् भने वडा नं. ५, 6, 8 र ९ मा नयाँ वडा कार्यालय भवनहरू निर्माण सम्पन्न भइरहेका छन् । वडा नं. 1 र २ का वडा भवनहरू बन्न सकेका छैनन्, बन्ने प्रक्रियामा छन् भने वडा नं. 3, 4 र ७ मा पुरानै भवनहरूलाई मर्मत संभार तथा स्तरोन्नति गरी सेवाप्रवाह भइरहेका छन् । यस सँगै वडा नं. ४ मा स्वास्थ्यको भवन निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आएका छ्न् । कृषि उपज सङ्कलन केन्द्रको भवन निर्माण कार्य सम्पन्नको अन्तिम चरणमा रहेको छ र वडा स्तरमा साना सङ्कलन केन्द्र, महिला सामूदायिक भवनहरू रहेका छन् । मा.वि. तहका विद्यालयहरूमा आधुनिक किसिमका सुविधा सन्पन्न भवनहरु निर्माण कार्य सम्पन्न भई प्रायः सबै सञ्चालनमा आएका छन् ।

उर्जा लघु तथा साना जलविद्युतः

यस गाउँपालिकाका सबै वडाहरूमा विद्युतीकरण सम्पन्न भइरहेका छन् । सामुदायिक विद्युतीकरण भएका कतिपय वडाहरूमा काठका पोल विस्थापित गर्ने कार्य निरन्तरतामा रहेका छन् । लघु जलविद्युत आयोजनाहरूको उचित व्यवस्थापन र उपयोग गर्न भने सकिएको छैन । सबै लघु जलविद्युत आयोजनाहरू लगभग बन्द हुने स्थितिमा रहेका छन् । सौर्य उर्जाको प्रयोग गाउँपालिका र विद्यालयहरुमा भइरहेको छ भने गाउँपालिकाका बिभिन्न

 फाँटहरुमा सोलार पम्पिङ सिंचाई कार्यक्रमहरु संचालनमा छन। सूचना र सञ्चारका लागि इन्टरनेट सेवाका लागि पानी तान्ने, इन्टरनेट सेवा चलाउने कार्य भईरहेका छन् । यद्यपि मौसमको प्रतिकूलता र उचित व्यवस्थापन गर्न नसक्दा भर पर्दो किसिमले उर्जा सेवा लिन सकिएको छैन । वडा नं. २ र ३ मा रहेको हाइड्रोपावरहरू निर्माण कार्य सुरु भइरहेको छ ।

सूचना, सञ्चार र राजस्व परिचालनः

इन्टरनेट सेवालाई भरपर्दो र परिमाणमुखी बनाउन सकिएको छैन । वायरलेस प्रविधिलाई विस्तापित गरी फाइवर केबुल मार्फत सेवाप्रवाह गर्ने प्रक्रियाको थालनी भएको छ । सम्भवतः आ.व. 078/79 मा यो प्रक्रिया सम्पन्न हुनेछ र सबै वडा कार्यालयहरू, स्वास्थ्य चौकीहरू र विद्यालयहरूमा फाइवर केबुल जडान गरी भरपर्दो सेवा प्रदान गरिनेछ । चालु आ.व. मा ठेक्का लागेको २ वटा दहत्तर बहत्तरहरू बाहेक मालपोत र सिफारिस दस्तुर बाहेक अन्य स्रोतहरू हाम्रो गाउँपालिकामा रहेका छैनन् । हामीसँग रहेका खोला बगरहरूबाट गुणस्तरीय बालुवा गिट्टी उत्पादन नहुनु र भएका ठाउँहरूबाट पनि ढुवानीका लागि दूरीका हिसाबले अरुसँग प्रतिस्पर्धा गर्न नसक्नुले असाध्यै थोरै मात्र २ स्थानहरूमा ठेक्का लागेका छन् । ढुङ्गा खानी, गिट्टी र क्रसर उद्योग स्थापनाको सम्भावना पनि हामीसँग रहेको छ । यद्यपि जेजति भएको छ, राजस्व सङ्कलनको प्रक्रिया असाध्यै न्यून छ, यसले हाम्रो आन्तरिक स्रोत असाध्यै कमजोर रहेको छ।

आदरणीय गाउँसभासदस्यहरु,

चालु आ.व. को प्रगति विवरण बारे यति संक्षिप्त समिक्षा राखिसकेपछि म अब आ.व 078/79 मा सञ्चालन गरिने कार्यक्रमहरूलाई नीतिगत रुपमा मार्गदर्शन गर्ने आधार र वडाबाट छनौट भई आएका योजनाहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न जानका लागि तयार गरिने र गरिएका आधारहरूलाई यहाँ राख्न गइरहेको छु ।

संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान, वित्तीय सामानीकरण अनुदान, समपुरक अनुदान, विशेष अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान र आन्तरिक स्रोत नै हाम्रो बजेट निर्माणका मुख्य आधारहरू हुन् । आन्तरिक स्रोत असाध्यै कमजोर र विशेष अनुदान प्राप्त नहुँदा बाँकी स्रोतहरू नै हाम्रा मुख्य स्रोतहरु हुन । हामीलाई प्राप्त भएको स्रोत र हाम्रा आवश्यकताहरूको बिचमा निकै लामो दूरी रहेको छ । हाम्रा सबै आवश्यकताहरू हामीसँग हुने सिमित स्रोत र साधनबाट पूरा गर्न सम्भव छैन। यसर्थ आवश्यकताको पहिचान र त्यसलाई प्राथमिकीकरण गरी जति सक्दो आवश्यकता पूरा गर्नु हाम्रो दायित्व हुन आउँछ । यसका साथै अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजनाहरूलाई क्रमबद्ध गर्दै आवश्यक स्रोत र साधनको खोजी गर्नु र हाम्रो आफ्नो क्षमताभन्दा बाहिरका योजनाहरूलाई संघ र प्रदेश सरकारसँग माग गर्नुपर्ने हुन्छ । यसका लागि सबै पक्षबाट पहल गर्नु जरुरी छ ।

नेपालको संविधान २०७२, स्थानीय सरकार संचालन ऐन 2074 स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ वडाबाट आएका विभिन्न सुझाव र कार्यक्रमहरू संघूय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट सिलिङ र हामीले निर्वाचनका बेला व्यक्त गरेका प्रतिवद्धताहरूको परिधिमा रही आ.व. 078/79 को वार्षिक नीति कार्यक्रम कार्यान्वयनका लागि करिब अठ्चालिस करोड पचपन्न लाख एकाउन्न हजार रुपैंया अनुमानित बजेट पेश गरिएको छ ।

जनसंख्या भुगोल र क्षेत्रका आधारमा वडा समितिहरुले वडा भरीका योजनाहरुलाई प्राथमिकीकरण गरेर विनियोजन गर्नका लागि निम्नानुसार बजेट व्यवस्था गरिएको छ ।

वडा नं. १, 2 र ९ का लागि प्रति वडा 35 लाख

वडा नं. 7, 8 र ४ का लागि प्रति वडा 40 लाख

वडा नं. 5, 6 र 3 का लागि प्रति वडा 45 लाख

र बाँकी बजेटलाई कार्यपालिकाबाटै विनियोजन गरी योजनाहरू गाउँसभाबाटै पारित गरी बजेट सार्वजनिक गरिनेछ । धन्यबाद !!

आदरणीय सभासद्ज्यूहरु

माथी उल्लिखित बजेट निर्माणका आधारहरुमा रहेका श्रोतहरुलाई योजनामा विनियोजन गर्नका लागि योजना तर्जुमाका निम्नानुसार आधारहरुलाई आत्मसात गरिएको छ ।

आर्थिक विकास तर्फ

  • कृषि

  1. दिगो विकासका लक्ष्य प्राप्त गर्न स्थानीय आर्थिक विकास रणनीतिलाई अझै परिमार्जन गरी गाउँपालिका, निजी क्षेत्र तथा सरोकारवालाहरुसँगको सहकार्यलाई अझै प्रभावकारी ढंगले लागू गरिनेछ ।

  2. हाम्रो गाउँपालिकाको आर्थिक विकास र रोजगारी सिर्जना गर्न सकिने मूल आधार क्षेत्र भनेको कृषि क्षेत्र नै हो । हाम्रो जनसमुदायको मुख्य पेशा पनि कृषि नै भएकाले परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई विस्थापित गरी व्यवसायीक तथा उत्पादनमुखी कृषि तर्फ किसानहरुलाई आकर्षित गर्न गत वर्षदेखि शुरु गरिएको किसानसँग गाउँपालिका भन्ने नारा तथा कार्यक्रमलाई निरन्तरता दिइने छ ।

  3. कृषिका पकेट क्षेत्रहरुको विस्तार गरी उन्नत विउ उत्पादनको कार्यलाई निरन्तरता दिइनेछ । रैथाने स्थानीय विउ उत्पादनमा प्रोत्साहन गरिनेछ ।

  4. माटो परिक्षण तथा वाली विरुवाहरुमा लाग्ने महामारी रोगहरुको पहिचान गर्ने र समस्याको समाधान गरी वाली संरक्षणको नीतिलाई ढृढतापूर्वक कार्यान्वयन गरिनेछ ।

  5. किसानद्वारा उत्पादीत वस्तुहरुलाई कृषि संकलन केन्द्रहरुमा संकलन गरी बजार व्यवस्थापन गर्ने र बजारसम्म निर्यात गर्ने प्रकृयाको थालनी गरिनेछ ।

  6. यस गाउँपालिका क्षेत्रमा खपत हुने धान र मकैका विउहरु (जो नेपाल सरकारबाट सिफारिस गरिएका छन्) लाई विगतमा दिइएको अनुदानलाई निरन्तरता दिइएको छ। साथै सहकारीहरुलाई मल ढुवानीको लागी ५०% भाडा अनुदान दिइनेछ ।

  7. उन्नत विउ उत्पादनको लागी पकेट क्षेत्र निर्धारण गरी विउ उत्पादन गर्ने किसानहरुको लागी आवश्यक मल, बिउ र औषधीहरु निःशुल्क प्रदान गरिनेछ ।

  8. सिँचाई सुविधा नभएका उर्वर तथा उत्पादनशिल जमिनहरूमा सिँचाई कुलो, पोखरीहरु र सम्भावित क्षेत्रहरुमा लिफ्ट सिँचाईका योजनाहरु निर्माण गरी कार्यान्वयन गरिनेछ। मादन कुँडारी लिफ्ट सिँचाई तथा खानेपानी आयोजना, पोखरी लिफ्ट सिँचाई आयोजना, भालुखोला सिँचाई आयोजना, मूलबेसी बगर सिँचाई आयोजना लगायतका योजनाहरु छिट्टै सम्पन्न गर्न पहल गरिनेछ।

  9. कृषिलाई आधुनिकिकरण गर्न कृषि उपकरणहरु, भूगोल अनुसार प्रयोग हुन सक्ने हाते ट्याक्टर, पावर टेलर, स्प्रे, च्यापकटर, मकै छोडाउने मेसिन लगायतका कृषिसँग सम्बन्धित औजार तथा मेसिनहरुमा ५०% लागत सहभागिता अनुदानको व्यवस्था गरिएको छ ।

  10. किसानहरुलाई बेमौसमी तरकारी, फलफूल तथा नगदे वालीको व्यवसायीकरण गर्नको लागी प्रोत्साहन गरिनेछ।

  11. उन्नत विउ उत्पादन कार्यक्रम अन्तर्गत उत्पादित उन्नत जातका बिउहरु ल्याब टेस्टमा प्रमाणित भएमा गाउँपालिकाले खरिद गरी ५०% अनुदानमा किसानहरुलाई वितरण गरिने व्यवस्था मिलाइनेछ ।

पशुपालन

  1. बाख्रा पालनलाई थप उत्पादन मुखी तथा स्वरोजगार प्रदान गर्न उन्नत जातका बोका, पाठी तथा बंगुरका पाठा वितरण गर्ने र कृतिम गर्भाधानको प्रकृयालाई अझै प्रभावकारी ढंगले लागु गरिनेछ।

  2. गाई तथा भैंसी पालक किसानहरुलाई प्रोत्साहन स्वरुप दिइएको सुत्केरी भत्तालाई निरन्तरता दिइनेछ।

  3. गाई भैंसी बाख्रा पालनको लागी आवश्यक पर्ने पौष्टिक तत्व सहितका घाँसका बोट विरुवाका विउहरुको वितरणलाई निरन्तरता दिइनेछ।

  4. पशु विमा गर्नको लागि किसानहरुलाई ५०% अनुदानको व्यवस्था गरिएको छ।

  5. पशुहरुलाई दिइने विभिन्न रोग रोकथाम गर्ने आवश्यक औषधी तथा भ्याक्सिन खोपको व्यवस्था गरिनेछ।

  6. छाडा भुस्याहा कुकुरहरुलाई व्यवस्थित गरी नियन्त्रण गर्ने र रेविज लगायतका रोगहरुको नियन्त्रण तथा रोकथामका लागी आवश्यक भ्याक्सिनको व्यवस्था प्रभावकारी ढंगले गरिनेछ।

सामाजिक विकास

  • शिक्षा

  1. कोरोना महामारीका कारण चालु वर्षमा बन्द भईरहेका र आगामी वर्षमा समेत हुन सक्ने सम्भाव्य बन्दाबन्दीको अवस्थामा हुनसक्ने वैकल्पिक विधिबाट शिक्षण क्रियाकलाप संचालन गर्न आवश्यक तयारी गरिनेछ।

  2. यस गाउँपालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षकहरुका लागि तालिम लगायत आवश्यक शैक्षिक सामग्रीहरु, विधिहरुको लागि उचित व्यवस्थापन गर्न जोड गरिनेछ।

  3. सबै तहका परिक्षालाई गाउँपालिका स्तरिय बनाई प्रभावकारी मुल्याङ्कनको बिधिलाई लागू गरिनेछ।

  4. सम्भव भए सम्मका मा.वि. हरुमा प्राविधिक शिक्षा संचालन गर्न जोड दिइनेछ। भईरहेका प्राविधिक विद्यालयहरुको लागि आवश्यक सहयोग गरिने कार्यलाई निरन्तरतामा लगिनेछ।

  5. विद्यालयको पठन पाठन तथा संचालनको प्रभावकारी अनुगमन गरिनेछ।

  6. प्राविधिक तथा विज्ञान संकायका विद्यार्थीहरुलाई दिदै आएको ५०% छात्रवृत्तीलाई निरन्तरता गरिनेछ।

  7. राष्ट्रपनि रनिङ शिल्ड लगायत अतिरक्त कृयाकलापलाई थप प्रभावकारी बनाइनेछ।

  8. आवश्यक न्यूनतम मापदण्ड अनुसार विद्यार्थी संख्या नभएका विद्यालयहरुलाई मर्ज गरी भौतिक संरचनाहरुलाई अन्य बैकल्पिक प्रयोजनका लागि प्रयोग गरिनेछ।

  9. विज्ञान विषय अध्यापन गराउने अस्थाई/करारका शिक्षकहरु नियुक्ति गर्न आ.व. 077/78 मै भएको नीतिगतलाई नै निरन्तरता दिइनेछ।

  10. यस गाउँपालिकाका भित्रका सामुदायिक विद्यालयहरुमै निरन्तर अध्ययन गरी +२ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्र तर्फ १ जना र छात्रा तर्फ १ जना गरी जम्मा २ जनालाई प्रोत्साहन स्वरुप रु २५ हजारका दरले पुरस्कृत गर्ने र सम्बन्धीत विद्यालयलाई पनि सोही बराबर रकमले पुरस्कृत गर्ने कार्यलाई यथावतै राखिएको छ।

  11. गाउँपालिका भरिका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा पहिचान गरी प्रोत्साहित गर्ने कार्यलाई थप व्यवस्थित गरिनेछ ।

  12. नेपाल सरकारले बजेट वक्तव्यमा घोषणा गरेको बाल कोटाका शिक्षकहरुलाई थप रकम नआएमा प्रति शिक्षक रु. 1,500 का दरले पारिश्रमिक उपलब्ध गराईने छ ।

स्वास्थ्य

  1. सबै वडामा रहेका स्वास्थ्य चौकीहरु, सामुदायीक स्वास्थ्य ईकाइहरुमा आवश्यक जनशक्तिको व्यवस्था गरी प्रभावकारी ढंगले स्वास्थ्य सेवा प्रदान गरिनेछ। साथै आवश्यक ल्याव, औषधीहरूको उचित व्यवस्थापन गरिनेछ।

  2. चौंरीदेउरालीमा संचालित प्राथमिक अस्पतालको स्तरोन्नती गरी (ICU र भेन्टिलेटर) सहितको सेवा प्रवाह गर्नका लागी आवश्यक पहलकदमी लिइनेछ।

  3. जनस्तरबाट स्थापना गर्न लागिएको अक्सिजन प्लान्टलाई असोज अगाबै स्थापना तथा संचालनमा ल्याइनेछ।

  4. अस्पतालका लागि आवश्यक जनशक्तिको व्यवस्था तत्कालै गरिनेछ ।

  5. निर्माण सम्पन्न भईसकेको अस्पतालका नयाँ भवनहरुको डेकोरेसन लगायतका बाँकी कार्यहरु छिट्टै सम्पन्न गराई आगामी दशैँ अगावै नयाँ भवनबाट सेवा प्रवाह गरिनेछ।

  6. अस्पतालको लागि चाहिने औषधी थप ल्याव एक्स-रे मेसिन लगायतका उपकरण र शव वाहन समेतको व्यवस्था गरी प्रभावकारी सेवा दिन जोड गरिनेछ।

  7. संभावित कोरोनाको तेस्रो भेरिन्ट संक्रमणबाट आम जनसमुदायलाई सुरक्षित गर्न कोरोना रोकथाम नियन्त्रण र उपचारका लागि पर्याप्त व्यवस्थापन गरिनेछ। हामीसँग भएको साधन स्रोत र शक्तिको भरपुर प्रयोग गरी उपचार सेवाको प्रवन्ध गरिनेछ।

  8. आवश्यकताको पहिचान गरी ENT पाठेघर भर्ने लगायतका समस्याहरु समाधान गर्न विभिन्न संघ संस्थासंग सहकार्य गरी निःशुल्क शिविरहरु संचालन गरिनेछ।

खानेपानी तथा सरसफाई

  1. हामीले विगत २ वर्षदेखि प्राथमिकतामा राख्दै आएको खानेपानीको एक घर एक धाराको अभियानलाई यस वर्ष पनि निरन्तरतामा राखी सम्पन्न गर्न अधिक कोसिस गरिनेछ। खानेपानीका ठुला र महत्वपुर्ण गौरवका योजनाहरु सम्पन्नहुने अन्तिम चरणमा रहेकाले यसै वर्ष सम्पन्न गरी उक्त एक घर एक धाराको नारालाई सफलीभुत पारिनेछ।

  2. साना तिना मुहानहरुको संरक्षण गर्ने र व्यवस्थित तरिकाले लिफ्ट, खानेपानी, डिपबोरिङ्ग खानेपानी लगायतलाई एउटै विधिमा ल्याई दिगो संचालनका लागी आवश्यक कार्यविधि तथा नियमावलीहरु बनाई लागु गरिनेछ।

  3. गाउँपालिका खुला दिशामुक्त घोषणा भईसकेको र पूर्ण सरसफाई तथा स्वच्छता तर्फ व्यवस्थित योजना बनाई लागु गरिनेछ।

युवा तथा खेलकुद

  1. अध्यक्ष गोल्डकप प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, प्रतिभा पहिचान लगायतका पालिका स्तरीय र जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा युवा तथा विद्यार्थीहरुलाई सहभागी गराई क्षमता अभिबृद्धि गरी सफल र सक्षम बनाउन प्रयत्न गरिनेछ।

  2. युवाहरुलाई व्यवसायिक ढंगले स्वरोजगार बनाई विभिन्न पेशा तथा व्यवसायमा जोड्नका लागि विभिन्न निकायहरुसंग समन्वय गरी क्षमता दक्षता अभिबृद्धि गर्ने तालिमहरुको व्यवस्था गरिनेछ।

  3. माध्यमिक विद्यालयहरुमा आवश्यकता अनुसारका खेलमैदानहरु निर्माण गर्न पहल गरिनेछ । वडाहरुमा भएका खेल मैदानहरुको स्तरोन्नती गर्ने तथा प्रदेशको लगानीमा निर्मित खेल मैदानलाई प्याराफिट सहित निर्माण गरी स्तरोन्नती गर्न आवश्यक पहल गरिनेछ।

सँस्कृति तथा पर्यटन

  1. गाउँपालिका भित्र रहेका ऐतिहासिक मठमन्दिर, गुम्बा पोखरीहरुको मर्मत सम्भार, जिर्णोद्वार गरि आन्तरिक तथा वाह्य पर्यटनहरुलाई भित्र्याउने कार्यलाई पहलकदमी लिइनेछ ।

  2. पुरातात्विक महत्वका सम्पदाहरुको खोज, अनुसन्धान जिर्णोद्वार गरी प्रचार पसार गरिनेछ ।

  3. देउपोखरीको जिर्णोद्वार तथा संरक्षण यसैवर्षबाट थालनी गरिनेछ ।

  4. काजी थुम्कामा रहेको ऐतिहासिक बंकर (जो काजी कालु पाँडेले बनाएको भनिन्छ) लाई मर्मत सम्भार गर्ने र ऐतिहासिक तथ्यहरुलाई खोजविन, अध्ययन तथा अनुसन्धान, संरक्षण, सम्बर्धन गरी पर्यटकिय आर्कषणको माध्यम बनाउने योजना निर्माण गरी कार्यान्वयन गर्ने प्रकृयाको थालनी गरिनेछ ।

  5. भञ्ज्याङ्ग गुम्बाटी हुदै लौरे, सागासोती, नाग्रे, तामाखानी दुति हुदै शैलुङसम्म जाने युद्ध पर्यटन पदमार्गलाई थप व्यवस्थित गर्ने र होम स्टे लगायतका पर्यटकिय पुर्वाधारहरु निर्माण गर्ने योजनालाई निरन्तर बढाइनेछ । लौरेमा रहेको पिकनिक स्पोर्टलाई थप आकर्षक बनाउन पहल गरिनेछ ।

  6. यो वर्षदेखि जनयुद्ध तथा जनआन्दोलनका क्रममा राज्य पक्ष र विद्रोही पक्ष दुबै तिरबाट हत्या गरिएका तथा बेपत्ता पारिएका शहिद तथा वेपत्ता परिवारलाई प्रति महिना रु. 2,000 का दरले राहत सहयोग उपलब्ध गराईनेछ ।

सडक तथा भौतिक पुर्वाधार

  1. सबै वडाहरुमा गाउँपालिका केन्द्र जोड्ने एउटा सडकलाई स्तरोन्नती गरी कालो पत्रे गर्न संघ प्रदेश योजनामा पार्न पहलकदमी लिइनेछ ।

  2. प्रत्येक वडाका टोलटोलमा रहेका सडकहरुलाई स्तरोन्नती गर्ने वर्षै भरी यातायात सुचारु गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

  3. ADB बाट निर्मित कालोपत्रे सडक दोलालघाट चौंरी गुराँसे सडक खण्डको कालो पत्रे गर्न बाँकी खण्ड (कोलाती दोलालघाट र पोखरी चौरी खोला पुलसम्म) र सडक विभागबाट क्रमागत रुपमा कालो पत्रे भई रहेको दोलालघाट चौवास मादन कुँडारी खण्डलाई सम्पन्न गर्न सम्बन्धित निकायसँग छलफल गरी तदारुकताका साथ कार्य सम्पन्न गर्न पहलकदमी लिइनेछ ।

  4. चौवास-वाङ्थली-आलुङ दुति कोइलीबगर सडक, दुधगाउँ छेडा कुर्थली काफ्ले कोइलीबगर सडक, भञ्ज्याङ्ग धुसेनी माझीफेदा सडक, खहरेबेशी, विर्ता गोठपानी-कात्तिके देउराली गुन्सी सडकलाई स्तरोन्नती गरी कालो पत्रे गर्नका लागी आवश्यक कदम चालिनेछ ।

  5. मध्यपहाडी लोकमार्गसँग लिङ्करोड नभएका बाँकी वडाहरुको लागी लिङ्क रोडहरु जोड्न पहल गरिनेछ ।

  6. वडा कार्यालय भवन नभएका वडाहरुमा भवन निर्माण गरिनेछ। साथै नयाँ भवन बनेका वडाहरुमा यो आर्थिक वर्षको पहिलो चरणदेखि नै नयाँ भवनबाट सेवा प्रवाह गर्न शुरु गरिनेछ ।

  7. गाउँपालिका र वडाको प्रशासनिक भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको लागि अगाडी बढाइनेछ।

  8. नाग्रेमा भएको एकिकृत वस्ति विकास गर्ने कार्यलाई यो वर्ष विशेष प्राथमिकतामा अगाडी बढाइनेछ।

  9. काठका पोलहरु विस्थापित गरी स्टील पोल राखी भरपर्दो तथा सुरक्षित विद्युतिकरणका लागि सम्भावित निकाय र गाउँपालिकाको लागत सहभागितालाई विशेष रुपमा अगाडी बढाइनेछ ।

  10. सडक, खानेपानी तथा भवन निर्माण कार्यका लागि आवश्यक समपुरक बजेटको व्यवस्था गरिनेछ।

  11. विभिन्न सरकारी एवं गैर सरकारी निकायहरुसँग लागत सहभागीता गरी विभिन्न योजनाहरु संचालन गरिनेछ।

  12. प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न जोड गरिनेछ।

वातावरण तथा विपद व्यवस्थापन

  1. सुधारीएको चुलो, बायोग्यास र सोलार जस्ता वातावरणिय मैत्री स्वच्छ उर्जा प्रविधिको प्रवर्धन गरिनेछ ।

  2. सामुदायिक वनहरुमा उमेर पुगेका सल्लालाई क्रमश विस्थापित गर्दै जाने र नयाँ विरुवाहरुको संरक्षण गरी वृक्षारोपण कार्यलाई कार्यान्वयन गर्ने नीति लिइनेछ।

  3. सडक विस्तार तथा भौतिक पुर्वाधारहरु निर्माण गर्दा वातावरणिय संतुलनलाई ध्यानमा राखी विकास निर्माणका कामलाई अगाडी बढाइनेछ ।

  4. सामुदायिक वनहरुलाई दिगो उपयोग तथा व्यवस्थापन गर्न आवश्यक ऐन नियमावलीहरु बनाई लागु गरिनेछ ।

  5. भैपरी आउने सम्भावित विपद व्यवस्थापन गर्नका लागि स्थापना गरिएको कोषलाई निरन्तर संचालन गरिनेछ ।

सुशासन तथा संस्थागत विकास

  1. दरबन्दी अनुसार कर्मचारीहरुको व्यवस्थापन गर्न आवश्यक पहलकदमी लिइनेछ ।

  2. सबै वडा कार्यालयहरुलाई व्यवस्थित तवरले संचालन सुलभ तवरले सेवा प्रवाहमा जोड दिइनेछ

  3. गत वर्ष पारित गरिएका सुशासन तथा संस्थागत विकास र पारदर्शिताका नीति तथा कार्यक्रमहरुलाई लागु गरिनेछ ।

  4. अपाङ्गता, असहाय र वृद्धवृद्धाहरुलाई दिइने सेवालाई सरल तवरले प्रवाह गरी आवश्यक सहयोग गरिनेछ ।

  5. वायरलेस प्रविधि प्रविधिबाट इन्टरनेट सेवा भरपर्दो र नियमित हुन नसक्दा पर्ने गरेको समस्यालाई दृष्टिगत गरी फाइवर केवुल तानी सबै वडाहरु विद्यालय तथा स्वास्थ्य चौकीहरुमा गुणस्तरिय इन्टरनेट सेवा प्रदान गर्ने कुरालाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।

  6. गाउँपालिकामा FM रडियो संचालन, आवश्यक मोबाइल टावरहरु स्थापना गर्न सम्बन्धित सरोकारवालाहरु NTC, NCELL लगायत सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गरी अगाडी बढाइनेछ।

  7. यो वर्षदेखि जनयुद्ध तथा जनआन्दोलनका क्रममा हत्या गरिएका तथा वेपत्ता पारिएका शहिद तथा वेपत्ता परिवारलाई प्रतिमहिना रु २ हजारका दरले सहयोग उपलब्ध गराइनेछ ।

  8. अति आवश्यक भैपरी आउने र विपद् व्यवस्थापन जस्ता योजना तथा कार्यहरु गर्न तत्काल बैठक बसी निर्णय गर्ने अवस्था नभएमा पछि बैठकमा अनुमोदन गर्ने गरी तोक आदेशबाट कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ ।

अन्तमा, यो नीति,  कार्यक्रम तथा बजेटको निर्माणको लागि सुरुदेखि नै सक्रिय सहभागि भई अमूल्य राय सुझाव प्रदान गर्ने सम्पूर्ण सभा सदस्य ज्यू हरु, कर्मचारी मित्रहरुलाई हार्दिक धन्यबाद दिँदै यहाँहरुको गरिमामय उपस्थितिप्रति आभार व्यक्त गर्दै अहिलेलाई बिदा हुन्छु। धन्यबाद!!

    मिति:-२०७8।०३।१०

दिननाथ गौतम

   अध्यक्ष