


काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले आगो लगाउँदा बानेश्वर प्रहरी वृत्तको भवन पूर्ण रूपमा जलेपछि अहिले वृत्तले पुरानो नागरिक लगानी कोषको साँघुरो भवनबाट सेवा दिइरहेको छ। झ्याल–ढोका नभएको, गन्ध अझै नहटेको जलेको भवन नजिकै नै प्रहरीहरू कठिन परिस्थितिमा कर्तव्य निर्वाह गरिरहेका छन्।


कार्यालय प्रमुख डीएसपी हरि खतिवडाका अनुसार साँघुरो ठाउँका कारण सेवाग्राही र प्रहरी दुबैले समस्या व्यहोर्नु परेको छ। मुद्दा, प्रवर्द्धन, विशेष शाखालगायत १० कोठाबाट चल्ने सेवा अहिले दुई–तीन कोठा र पाल हालेर सञ्चालन गर्नुपरेको भन्दै उनले चुनौतीबीच पनि प्राथमिकता अनुसार सेवा निरन्तर भइरहेको बताए।

आगलागीका दिन ब्यारेकसहित प्रहरीको पोसाक र व्यक्तिगत सामानसमेत जलेको थियो। १२३ जना प्रहरीमध्ये धेरैजना खाट नपाएर भुइँमै सुतेरै ड्युटीमा खटिन बाध्य छन्।
महिला प्रहरीहरूलाई शौचालय र कपडा परिवर्तनको झनै समस्या रहेको हवल्दार आशा चौधरी बताउँछिन्। उनले घटना भएको दिन प्रहरीमाथि निरन्तर आक्रमण भएपछि सिभिल पोसाकमै घर फर्किनुपरेको सम्झाइन्।
कठिन परिस्थितिमा पनि ‘कर्तव्य रोकिँदैन’ भन्ने भावनासहित प्रहरी जनसेवामा अविच्छिन्न रूपमा खटिरहेका छन्।


