
काठमाडौं – प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको शिलान्यास गर्नुभएको छ ।


सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई सहजता प्रदान गर्न भवन निर्माण गर्न लागिएको बताउनुभयो । आगामी दिनमा भवन निर्माणका साथै भवनबाट प्रवाह हुने सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।


कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाका प्रहरी नायव उपरीक्षक वुद्धि सागर पुरीले भवन निर्माणको उद्देश्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित गरी दुखद निधन हुँदा आशौच बार्ने संस्कार (किरिया पुत्री) का लागि काठमाडौं महानगरपालिका-३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको नाममा रहेको जग्गामा किरिया पुत्री भवन निर्माण गर्न गत भदौ १९ गते बसेको नीति निर्माण समितिको बैठकले निर्णय गरेको थियो ।


