खानीखोला काभ्रेमा न्यानो कपडा तथा खाद्यन्न वितरण अभियान सम्पन्न

 

खानीखोला काभ्रेमा सञ्चालित न्यानो कपडा वितरण अभियान अन्तर्गत खानीखोला गाउँपालिका–६ स्थित बाँसपुर आधारभूत विद्यालयका नानीबाबुहरूलाई ट्रयाकसुट, झोला र टोपी वितरण गरिएको छ। विद्यालयका प्रधानाध्यापक योगेन्द्र पुलामी मगर र तिब्बत दर्लामी मगरले सामाजिक सञ्जालमार्फत विद्यालयको अवस्थाबारे जानकारी गराएपछि वडा नं. ३ का वडाध्यक्ष सागर जिम्बा र समाजसेवी सामाजिक अभियान्ता राजन अधिकारीको पहलमा तत्काल सहयोग अभियान सुरु गरिएको हो।

बिज्ञापन

उक्त अभियानका लागि बाँसपुरकै नवराज तितुङ, प्रमिला तितुङ र भिम बोम्जनबाट आर्थिक सहयोग जुटाइएको थियो भने अपुग रकम समाजसेवी अविरल जिम्बाले उपलब्ध गराउनुभएको हो। विद्यार्थीहरूलाई वितरण गरिएका झोला भने पाँचखाल निवासी सूर्यबहादुर तामाङ, दैवलाल घिसिङ र राजन अधिकारीले सहयोग गर्नुभएको हो।

त्यसै दिन खानीखोला–२ स्थित जनशक्ति आधारभूत विद्यालय ढोकामा पनि ट्रयाकसुट र झोला वितरण गरिएको छ। उक्त विद्यालयका लागि ट्रयाकसुट वडा नं. २ सार्किडाँडाका युवा समाजसेवी भिम घिसिङले सहयोग गर्नुभएको हो भने झोला पाँचखाल निवासी सूर्यबहादुर तामाङले प्रदान गर्नुभएको हो। यस सम्पूर्ण कार्यमा दैवलाल घिसिङको प्रमुख समन्वय तथा पहल रहेको थियो।

यसैगरी खानीखोला–६ स्थित शारदा माध्यमिक विद्यालय देउरालीमा यस वर्ष विद्यालयमै बसेर एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि चामल, दाल, नुन, मसला, साबुनलगायत खाद्यन्न सामग्री सहयोग गरिएको छ। उक्त खाद्यन्न वडा नं. ६ का रमेश थोकर र रोहन अधिकारीको सहयोगमा संकलन गरिएको हो भने राजन अधिकारीले मुख्य समन्वयकर्ता भएर अभियान अघि बढाउनुभएको हो।

एकै दिन तीन वटा विद्यालयमा न्यानो कपडा तथा खाद्यन्न वितरण कार्यक्रम युवा सामाजिक व्यक्तित्व दैवलाल घिसिङ (अनुशील) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा राजन अधिकारी, वडा नं. ३ का वडाध्यक्ष सागर जिम्बा, सृजना थिङ तथा विरेन ब्लोन (निमा) को उपस्थिति रहेको थियो।