
काठमाडौं । नेकपा (एमाले) का सचिव लेखराज भट्टले पार्टीको आगामी ११ औं राष्ट्रिय महाधिवेशनलाई विचार, दिशा र नेतृत्व निर्माण गर्ने ऐतिहासिक तथा निर्णायक मञ्च भएको स्पष्ट पारेका छन्।

प्रेस चौतारी नेपालले मङ्गलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भट्टले महाधिवेशन तयारी तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए। उनले भने, “महाधिवेशनको तयारी लगभग पूरा भइसकेको छ, बाँकी रहेका कामहरू पनि अन्तिम चरणमा पुगेका छन्।” मञ्च, खाद्य र प्रचार व्यवस्थापन समितिहरूले आफ्नो प्रगति विवरण पेस गरिसकेको उनले बताए।

पार्टीका नेतृत्व र भविष्यको दिशा महाधिवेशनको स्वाभाविक प्रक्रिया भएकाले यस प्रक्रियाबाट निर्णय हुने भट्टको भनाइ थियो। उनले हालै सम्पन्न विधान महाधिवेशनमा पार्टीका भावी प्रधानमन्त्री र अध्यक्षको रूपमा केपी शर्मा ओलीको अनुमोदन गरिएको तथ्यलाई स्मरण गर्दै नेतृत्व चयन विचार र सिद्धान्तको आधारमा हुने बताएका छन्।


भट्टले जेनजी आन्दोलनको गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गर्दै भने, “उद्देश्य र लक्ष्य बुझ्न आवश्यक छ, ऐतिहासिक रूपमा मूल्याङ्कन हुनु पर्छ।” उनका अनुसार पार्टी भित्र पदका लागि आकाङ्क्षा हुनु स्वाभाविक कुरा हो, तर महाधिवेशन मूलतः विचार, नीति र नेतृत्व निर्माणको प्रक्रिया हो।
नेतृत्वको आवश्यकता सन्दर्भमा भट्टले पार्टीलाई चुनौतीपूर्ण परिस्थितिमा दृढ र स्पष्ट नेतृत्वको आवश्यकता रहेको बताएका छन्। उनले केपी शर्मा ओलीको नेतृत्वमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा राष्ट्रहितमा ऐतिहासिक दृढता देखिएको बताए।
पार्टीभित्र पुस्तान्तरणको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै उनले ‘थ्री-इन-वान’ अवधारणाअनुसार युवा, प्रौढ र वरिष्ठ पुस्ताको सन्तुलित संयोजनमा पार्टी अघि बढिरहेको बताए। महिलाको ३३ प्रतिशत प्रतिनिधित्व र ४० वर्षमुनिका युवाको अनिवार्य सहभागितालाई उनले सकारात्मक उपलब्धिका रूपमा प्रस्तुत गरे।
पार्टी भित्र एकता र सहमति आवश्यक रहेको कुरा स्वीकार्दै भट्टले कतिपय स्थानमा अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै भने, “विचारलाई व्यवस्थित रूपमा अघि बढाउन नेतृत्वले सहमतिको प्रयास गरिरहेको छ र यदि सहमति संभव भएन भने लोकतान्त्रिक तरिकामा निर्वाचनमार्फत निर्णय हुनेछ।”
संसद पुनर्स्थापना हुनु पर्ने अडान एमालेको स्पष्ट धारणा रहेको उल्लेख गर्दै उनले पार्टीको संघर्षको इतिहासलाई स्मरण गराउँदै भने, “एमाले समस्याबाट नभाग्ने र नडराउने पार्टी हो। हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय हस्तक्षेपविरुद्ध अडान लिन सक्षम छौं।”
आगामी महाधिवेशनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई उत्पादन, विकास र समाजवादतर्फको यात्रासँग जोडेर नयाँ दिशानिर्देश दिने विश्वास व्यक्त गर्दै उनले विकसित मुलुकहरूमा भौतिक समृद्धि भए तापनि जनसन्तुष्टि नदेखिएको उदाहरण प्रस्तुत गरे।
अन्त्यमा, उनले पार्टीको एकता र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा महाधिवेशनमा अघि बढ्नु आवश्यक रहेको बताउँदै भने, “विचार बिना नेतृत्व सम्भव छैन, विधान महाधिवेशनले विचारको मार्ग पहिल्यै तय गरिसकेको छ, अब नेतृत्वमा स्पष्टता आवश्यक छ।”


