काभ्रेपलाञ्चोक – बिएमके ड्राइभिङ सेन्टर काभ्रे जिल्लाको ड्राइभिङ स्कुल क्षेत्रको एक सुपरिचित नाम हो । ड्राइभिङ शिक्षा आजको आवश्यकता शिप सिकौ आत्मनिर्भर बनौ भन्ने उद्देश्यका साथ २०७२ साल देखि ड्राइभिङ प्रशिक्षण गराउदै छ । यसको संचालक हुनुहुन्छ बनेपा नगरपालिका वडा नं. ८ निवासी रुपेश काफ्ले । बिदेशी मुलुकमा गएर दुख गर्नु भन्दा नेपालमा नै केही गरौ भन्ने उदेश्यले बिएमके ड्राइभिङ खोलेको बताउनु भयो । हातमा सिप नभएका नेपाली दाजुभाइ दिदिबहिनीहरु बिदेशमा दुख कष्ट सहन बाँध्य हुन्छन् । तर केही युवाहरु नेपालमै केही गरौ भनेर आफ्नो श्रम स्वदेशमा बेच्न चाहन्छन् । तिनै मध्यको एक युवा हुन रुपेश काफ्ले पछिल्लो समय आफ्नै ड्राइभिङ सेन्टर व्यस्त भएको देख्न सकिन्छ । हुन त यो काभ्रे जिल्ला कै राम्रो व्यवस्थित ड्राइभिङ सेन्टर भएको हुनाले पनि होला निकै भिड नै लाग्ने गरेको देख्न सकिन्छ । यस ड्राइभिङ सेन्टर व्यापारिक नगरी बनेपामा सञ्चालन भएको छ । सिप सिकेर नेपालमै रोजगार पाउन सकिन्छ भनेर धेरैलाई सिप सिकाउने कार्यमा काफ्ले व्यस्त छन् । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले बिएमके ड्राइभिङ स्कुलका संचालक रुपेश काफ्लेसँग गरेको समसामयिक कुराकानि ;                                                         

 

० सर्बप्रथम तपाईंको परिचय ?
पिता हरिप्रसाद काफ्ले र माता कमला काफ्लेको कोख बाट २०५२ साल पौष १० गते भक्तपुर जिल्लामा मेरो जन्म भयो । बुबाको कर्मथलो बनेपा नै भएको कारण मेरो बाल्यकाल पुर्ण रुपमा बनेपा नगरपालिका वडा नं. १० स्थित जनागालमा नै बित्यो । म साधारण परिवारमा जन्मेको हुर्केको मान्छे भएकोले सुख दुखहरु पार गर्दै आफ्नो देशमा केहि गर्छु भन्ने मेरो सपना लाई साकार पार्ने योजनाका साथ अगाडि बढदै छु ।

० आजको भोलि तपाईं केमा व्यस्त हुनुहुन्छ ?
प्राय जसो म आफ्नै बिएमके ड्राइभिङ सेन्टरमा व्यस्त हुने गरेको छु सिप सिकौं स्वरोजगार बनौं भन्ने मूल नारालाई यथार्थमा बदल्ने योजना अनुसार नै प्रशिक्षण कार्यमा व्यस्त हुने गर्दछु । सामाजिक कार्यको साथसाथै विभिन्न संघ संस्थाहरुको कार्यक्रमहरुमा पनि दिन बित्ने गरेका छन् ।

० बिएमके ड्राइभिङ सेन्टर कसरी सुरु गर्नु भयो ?
मेरो सानै देखिको सपना थियो आफ्नै देशमा केही गर्नु पर्छ भन्ने । धेरै मानिसहरु रोजगारीका लागि भौंतारिरहेको देख्न सकिन्थ्यो । हातमा सीप नभए पछि रोजगारी पाउन पनि निकै मुस्किल थियो । सोही अनुसार रोजगार बिहिन मानिसहरुलाई आत्मनिर्भर बनाउने सोच सहित नेपाल सरकारको मापदण्ड अनुरुप ड्राइभिङ स्कूलको शुरुवात गरे।

० यो व्यवसायमा लागेको कति समय भयो नि ?
मेरो सोच त निकै पहिले देखि कै हो । २०७२ साल देखि प्रशिक्षण गराउन थालियो । काभ्रे जिल्लामा उचित मापदण्ड अनुसार ड्राइभिङ सिकाउने स्कूलको कमी महशुस पनि थियो । समय र परिस्थितिको अनुकुलता अनुरुप २०७४ साल बैशाख महिना बाट यस बिएमके ड्राइभिङ स्कूल शुरु भयो । त्यति बेला देखि नै यहीँ व्यवसायमा कटिबद्ध भएर लागि परेको हुँ।

० यस काम प्रती कतिको सन्तुष्ट हुनुहुन्छ ?
हाम्रो मुख्य उद्देश्य भनेको शिप सिकेर स्वरोजगार बन्न चाहने प्रत्येक व्यक्तिलाई आफूले नै कमाउन सक्ने बनाउनु हो । हाम्रा प्रशिक्षार्थीहरुलाई हामीले हाम्रो सेवामा सन्तुष्ट पार्न सफल भएका छौं। हामीले दियको सेवामा कोहि पनि निराश हुनु भएको छैन । यसकारण उहाँहरुको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो ।

 

० यस क्षेत्रमा नै किन लाग्नु भयो र सोच कहाँ बाट आयो ?
पारिवारिक पृष्ठभुमि पनि मिल्न गयो । यो क्षेत्रसँग मेरो बाबा पनि ड्राइभिङ्ग क्षेत्रमै काम गर्नुहुन्थ्यो । आफ्नो देशमा पढाई पुरा गरेर खाडी मुलुक तिर लागेको धेरै मान्छेको उदाहरण मेरो आफ्नो आँखा अगाडि थियो । सोचें पढेर मात्र पनि केही हुनेवाला छैन । पढाई पुरा हुन नपाउँदै काम तिर लागे आफूले जानेको सिपबाट यसलाई नै सदुपयोग गर्न सकिन्छ भन्ने सोच आयो र यो क्षेत्र अङ्गाल्न पुगे ।

० आम मानिसले ड्राइभिङ सिक्दा के फाइदा पाउँछन् ?
हाम्रो देशमा लाखौं युवाहरु रोजगार बिहीन भएर विदेशिन बाध्य भएका छन् । आफ्नै देशमा केही गर्छु भन्नेहरुका लागी यो राम्रो क्षेत्र हुनसक्छ । ड्राइभिङमा आम्दानी पनि राम्रो छ । शिप सिकेर बेफाइदा केही हुदैन । सिप आफूमा छ भने आत्मविश्वस आफै बढ्छ । म पनि केही गर्न सक्छु भन्ने सोचको आफैँ विकास हुन्छ नि ।

 

० तपाईंको ड्राइभिङ सेन्टर महँगो छ भन्ने सुनिन्छ नि ?
वास्तवमा अहिलेको अवस्था भनेको प्रतिस्पर्धाको अवस्था हो । हामिले सिप लाई पैसासँग दाज्न मिल्दैन । गरिबीकै कारण सिप सिक्न नपाइ बसेका धेरै प्रशिक्षार्थीहरु लाई हामिले निशुल्क प्रशिक्षण गराएका छौँ । अहिले ड्राइभिङ व्यवसायलाई नै अङ्गाल्दै आफ्नो परिवार पाल्दै हुनुहुन्छ । महँगो सस्तो भन्दा पनि प्रशिक्षार्थीको चाहना अनुसार गुणस्तरीय सेवामा पनि भर पर्दछ । सुनाई र बुझाइमा मात्र हाम्रो स्कूल महँगो छ भन्ने भ्रम मात्र हो । हामि मुल्यमा भन्दा पनि गुणस्तरमा प्रतिस्पर्धा गर्छौ । र ९९% नतिजा ट्राएल पास गराउन सफल भएका छौ । हामीले यातायात व्यवस्था विभागले तोकेको मापदण्ड, निर्देशिका अनुसार पहिलो चरणदेखि अन्तिम ट्रायल चरणसम्म प्रशिक्षण गराउदै लाइसेन्सको प्रोसेसिङ समेत गर्ने गरेका छौं ।

 

० ड्राइभिङमा ट्राफिक नियमको महत्व के होला ?
ड्राइभिङ र ट्राफिक नियम भनेको एक अर्कामा परिपुरक छन् । सुरक्षित तरिकाले ड्राइभिङ गर्नका लागि ट्राफिक नियम एकदम महत्वपूर्ण हुन्छ । मानिसको जीवन अमूल्य हुन्छ । नियम अनुसारको ड्राइभिङ नगर्दा जे पनि हुन सक्छ । त्यसैले ट्राफिक नियम पालन गरौं, दुर्घटना बाट बचौं । तर राज्यले अहिले ल्याएको ७०% नियम अनुसार थोरै ट्राफिक नियम पालना प्रति हेल्चेक्राइ गरेको भन्ने स्पष्ट देखिन्छ ।

० तपाईंको ड्राइभिङ सेन्टरमा दैनिक कति विद्यार्थीहरु हुने गरेका छन् ?
दैनिक रुपमा ८० देखि ९० जना प्रशिक्षार्थीहरु रहेका छन् । दैनिक ६ जना अनुभवी प्रशिक्षकहरुबाट ड्राइभिङ सिकाउनुको साथै लिखित तयारी कक्षा मेकानिकल कक्षा , ट्रायल कक्षाहरु सञ्चालन गर्दै आइरहेका छौं ।

० ७०% ट्रायल प्रणाली लाई कसरी लिनु भएको छ ?
०७८ जेष्ठ १ बाट अन्य प्रदेशमा ७०% ट्रायल प्रणाली लागु भैसकेको थियो । हालै बागमती प्रदेशमा पनि सुरु भएको छ। यस लाई हामी जस्ता व्यवसायीले स्वागतयोग्य रुपमा लिनुपर्छ । हिजोको दिनमा कडा मेहेनतका साथ प्रशिक्षण गर्न, बाटोमा धेरै वर्ष सवारि चलाउने प्रशिक्षार्थीहरुपनि साधारण गल्तिका कारण अनुत्तीर्ण भै बारम्बार ट्रायल दि रहनु पर्थ्यो । यस व्यवस्थाले गर्दा मापदण्ड अनुरुपको ड्राइभिङ प्रशिक्षण स्कुलमा प्रशिक्षण गर्ने प्रशिक्षार्थीहरु असफल हुने सम्भावना निकै कम छ।

० पहिले र अहिले ट्रायलमा के कस्तो भिन्नता छ ?
पहिले ट्रायल परिक्षा साच्चिकै परिक्षा जस्तो कडाइ थियो । पास गर्नको लागि तोकिएको सम्पूर्ण चरण पास गर्नै पर्थ्यो तर अहिलेको ७०% मा चिट चोराएर जबर्जस्ती पास गराइएको जस्तो देखिन्छ । यसो भन्दैमा ७०% प्रणाली नराम्रो यसलाई हटाउनु पर्छ भन्न खोजेको होइन । यसमा समायोजन गर्नुपर्ने कुराहरु धेरै छन् जस्तै ट्राफिक बत्ति, साइट लाइट जस्ता महत्त्वपूर्ण संरचनामा हेल्चेक्राइ गरिनाले भोलि ठुलो दुर्घटना नहोला भन्न सकिदैन । ट्रायल परिक्षामा आफ्नै सवारी साधन बाट तोकिएको ट्रायल प्रणालिमा ट्रायल परिक्षा गराउने ब्यवस्था गराउन पर्छ जस्तो लाग्छ।

० अन्त्यमा ?
देश विकास गर्न हामीले आफ्नै ठाउँबाट शुरुवात गर्ने हो । युवाहरु बिदेशीने बाध्यतालाई अन्त्य गर्दै । सिपमुलक तालिम लिई आफ्नै देशमा मानो रोपी मुरी फलाउने सोच राखी व्यवसाय शुरु गर्नुपर्दछ । ड्राइभिङ सिकि स्वरोजगार बन्न चाहानेहरुको लागि हाम्रो स्कुल स्वागत गर्दछ । अन्त्यमा आफ्नो भनाइ राख्ने स्थान दिनु भएकोमा अरबिन्द्र गौतम ज्यु साथै नव क्षितिज साप्ताहिकलाई हृदय देखि नै धन्यबाद दिन चाहान्छु ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.