शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य : ज्योति एकेडेमी स्कुल र शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालबीच सम्झौता

 

काभ्रे । बनेपा नगरपालिका–५ स्थित शिर मेमोरियल एडभेन्टिस्ट अस्पताल र बनेपा नगरपालिका–८ स्थित ज्योति एकेडेमी स्कुल बीच स्वास्थ्य सेवा सम्बन्धी सहकार्यका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

बिज्ञापन

सम्झौताअनुसार विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्ने भएका छन् । अस्पतालले सबै प्रकारका उपचार तथा सहायक सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ भने औषधिमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यद्यपि अस्पताल बाहिर गरिने सेवा तथा केही विशेष सामग्री, जस्तै अर्थोपेडिक इम्प्लान्टमा भने छुट लागू नहुने जनाइएको छ ।

दुवै संस्थाबीच स्वास्थ्य सेवासँगै जनचेतनामूलक कार्यक्रम, कार्यशाला तथा सामुदायिक स्वास्थ्य सुधारका विभिन्न पहलमा समेत सहकार्य गर्ने समझदारी भएको छ । यस सहकार्यबाट विद्यालय समुदाय प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिइएको छ ।

सम्झौतापत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर जी. गयारेस र विद्यालयका अध्यक्ष त्रिरत्न मानन्धरले हस्ताक्षर गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक महेन्द्र विष्टले शिक्षा र स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यस्तो सहकार्यले विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारलाई दीर्घकालीन रूपमा सकारात्मक लाभ पुग्ने बताए । उनले विद्यार्थीहरूको सुरक्षित, स्वस्थ र गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा विद्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गरे ।

यस सहकार्यले विद्यालय समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सहज र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।