


काभ्रे । धुलिखेल नगरपालिका वडा नं. १ ले युवायुवतीलाई सीपमार्फत स्वरोजगार बनाउने उद्देश्यसहित सञ्चालन गरेको २० दिने ड्राइभिङ प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । तालिममा सहभागी सबै प्रशिक्षार्थी ट्रायल परीक्षामा उत्तीर्ण हुन सफल भएका छन् ।


कार्यक्रम अन्तर्गत बनेपाको सिनागालस्थित BMK Driving Center ले प्रशिक्षण प्रदान गरेको थियो । व्यवहारिक तथा गुणस्तरीय प्रशिक्षणका कारण जिल्लाकै उत्कृष्ट ड्राइभिङ सेन्टरको रूपमा परिचित उक्त संस्थाले सहभागीहरूलाई दक्ष चालक बन्न आवश्यक सम्पूर्ण सीप प्रदान गरेको सहभागीहरूले बताएका छन् ।


तालिममा सहभागी संजय तामाङले उत्कृष्ट प्रशिक्षण, नियमित अभ्यास र प्रशिक्षकहरूको प्रभावकारी सहजीकरणका कारण सबै प्रशिक्षार्थी सफल भएको बताए । “प्रशिक्षण निकै व्यवहारिक र व्यवस्थित थियो, त्यसैले ट्रायल पास गर्न सहज भयो,” उनले भने ।
धुलिखेल नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सन्त बहादुर तामाङले युवाहरूलाई आत्मनिर्भर र रोजगारीमुखी बनाउन यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गरिएको बताए । “युवालाई सीपसँग जोडेर स्वरोजगार बनाउने हाम्रो उद्देश्य हो,” उनले भने, “ड्राइभिङ तालिमले धेरै युवायुवतीलाई भविष्यमा रोजगारी र आत्मनिर्भरताको आधार तयार गरेको छ ।”
वडाले आगामी दिनमा पनि युवाकेन्द्रित तथा आयआर्जनसँग सम्बन्धित विभिन्न सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

