
काभ्रेपलान्चोक – बेथानचोक गाउँपालिका ले प्राकृतिक स्वास्थ्य उपचार अर्थात् “नेचर वेलनेस थेरापी” कार्यक्रमको औपचारिक रूपमा सुरुवात गरेको छ। पछिल्लो समय मानसिक तनाव, अस्वस्थ जीवनशैली तथा प्राकृतिक वातावरणबाट मानिस टाढिँदै गएको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले प्रकृतिसँग जोडेर स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरेको हो।


गाउँपालिका अध्यक्षज्यूको नेतृत्वमा विभिन्न वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, स्थानीयवासी तथा सरोकारवालाहरूको सक्रिय सहभागितामा गाउँपालिकाको वडा नं 3 दमार नजिकको हरियाली जंगल क्षेत्रमा थेरापी अभ्यास कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रमअन्तर्गत सहभागीहरूले जंगल पदयात्रा, ध्यान, श्वास–प्रश्वास अभ्यास, चराचुरुङ्गीको आवाजसँग आत्मसात् हुने गतिविधि तथा प्राकृतिक वातावरणमा शान्त समय बिताउने अभ्यास गरेका थिए।


कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षज्यूले बेथानचोकको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र हरियाली क्षेत्रलाई स्वास्थ्य तथा पर्यटनसँग जोडेर अघि बढाउने योजना रहेको बताउनुभयो। उहाँले प्रकृतिमा केही समय बिताउँदा मानसिक शान्ति प्राप्त हुने, तनाव कम हुने तथा सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। साथै, यस्ता गतिविधिले गाउँपालिकालाई स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न मद्दत पुग्ने धारणा राख्नुभयो।


स्थानीयवासीहरूले पनि कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यस्ता गतिविधिले समाजमा स्वास्थ्यप्रति सचेतना फैलाउने विश्वास व्यक्त गरेका छन्। प्राकृतिक वातावरणमै स्वास्थ्य सुधार र मानसिक सन्तुलन कायम गर्न सकिने भएकाले भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्थानीयहरूको भनाइ रहेको छ।
विशेषज्ञहरूका अनुसार नेचर वेलनेस थेरापी वा प्राकृतिक स्वास्थ्य उपचारले मानसिक तनाव कम गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि, राम्रो निद्रा, शारीरिक ताजगी तथा भावनात्मक सन्तुलन कायम गर्न सहयोग पुर्याउने गर्दछ। विश्वका विभिन्न देशहरूमा लोकप्रिय बन्दै गएको यस्तो अभ्यास अहिले नेपालका विभिन्न स्थानमा पनि विस्तार हुँदै गएको छ।
बेथानचोक गाउँपालिकाले प्राकृतिक सम्पदा, जंगल क्षेत्र तथा शान्त वातावरणलाई उपयोग गर्दै आगामी दिनमा थप व्यवस्थित रूपमा प्रकृति आधारित स्वास्थ्य तथा पर्यटन कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ।


