‘विश्व दुध दिवस २०२६’ को अवसरमा नेपाल डेरी एसोसिएशनद्वारा सप्ताहव्यापी कार्यक्रम घोषणा

 

निराज रानाभाट, कास्की । ‘२६ औँ अन्तर्राष्ट्रिय विश्व दुग्ध दिवस २०२६’ को अवसरमा नेपाल डेरी एसोसिएशनले आयोजना गर्न लागेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत कास्की पोखरामा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
पत्रकार सम्मेलनमा नेपाल डेरी एसोसिएशनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले विश्व दुग्ध दिवसको सन्दर्भ, नेपालको दुग्ध क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा आगामी कार्यक्रमबारे जानकारी गराउँदै प्रेस विज्ञप्ति वाचन गरेका थिए । कार्यक्रममा पत्रकारहरूले उठाएका समसामयिक तथा सान्दर्भिक जिज्ञासाहरूको समेत दाहालले जवाफ दिएका थिए । नेपाल डेरी एसोसिएशनले जारी गरेको विज्ञप्तिअनुसार वि.सं. २०५५ सालमा स्थापना भएको संस्था हाल २८ औँ वर्षमा प्रवेश गरेको छ । देशभरका २५ वटा जिल्लामा फैलिएका करिब ३ सय भन्दा बढी डेरी उद्योग आबद्ध रहेको यस संस्थाले दुग्ध क्षेत्रको दिगो विकास, किसान उद्योग समन्वय तथा उपभोक्तालाई गुणस्तरीय दुग्ध पदार्थ उपलब्ध गराउने उद्देश्यसहित निरन्तर काम गर्दै आएको जनाएको छ । विज्ञप्ति अनुसार नेपालमा दैनिक करिब ७६ लाख लिटर दूध उत्पादन हुने भए पनि त्यसको आधा मात्र बजारसम्म पुग्ने गरेको छ । निजी डेरी क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ लगानी रहेको र ६ लाखभन्दा बढी कृषक परिवार प्रत्यक्ष रूपमा यस क्षेत्रमा आश्रित रहेको जानकारी दिइएको छ । दुग्ध क्षेत्रले ग्रामीण रोजगारी, महिला सशक्तीकरण, पोषण सुरक्षा, स्वास्थ्य सुधार तथा गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको पनि उल्लेख गरिएको छ ।

बिज्ञापन

संयुक्त राष्ट्र संघ अन्तर्गतको खाद्य तथा कृषि संगठन ( एफएओ) ले सन् २००१ मा विश्व दुग्ध दिवसको स्थापना गरेको हो। प्रत्येक वर्ष जुन १ तारिखका दिन मनाइने यो दिवस यस वर्ष विश्वभर २६ औँ पटक मनाइँदै छ । हाल विश्वका १ सय भन्दा बढी देशहरूले जनचेतनामूलक अभियान, विद्यालय कार्यक्रम, स्वास्थ्य अभियान तथा डेरी उद्योगसँग सम्बन्धित विविध गतिविधिमार्फत यो दिवस मनाउँदै आएका छन् । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘महिला कृषकहरूको सम्मान’ रहेको छ, भने राष्ट्रिय नारा ‘दुग्ध क्षेत्रको दिगो विकास : पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ तय गरिएको छ । नेपाल डेरी एसोसिएशनका अनुसार विश्व दुग्ध दिवस मनाउनुका मुख्य उद्देश्यहरूमा दुग्ध तथा दुग्धजन्य पदार्थको पोषणीय महत्वबारे जनचेतना फैलाउने, किसान तथा दुग्ध उत्पादकहरूको योगदानको सम्मान गर्ने, महिला कृषकहरूको भूमिका प्रवर्द्धन गर्ने, स्वदेशी दुग्ध उत्पादन तथा उपभोग बढाउने, ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने तथा युवालाई पशुपालन र डेरी व्यवसायतर्फ आकर्षित गर्ने रहेका छन् । साथै स्वस्थ, स्वच्छ र गुणस्तरीय दुग्ध उत्पादन तथा उपभोग संस्कृतिको विकास गर्दै दुग्ध क्षेत्रसँग सम्बन्धित नीति, बजार र किसानहरुका समस्यामाथि सार्वजनिक बहस सिर्जना गर्ने उद्देश्यसमेत रहेको जनाइएको छ ।

‘विश्व दुग्ध दिवस’ लाई लक्षित गर्दै नेपाल डेरी एसोसिएशनले जेठ १२ गतेदेखि १८ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसअन्तर्गत कास्की पोखरामा पत्रकार सम्मेलन, काठमाडौंमा ‘विद्यालयस्तरीय कविता प्रतियोगिता’, काभ्रेपलाञ्चोकमा ‘उपभोक्ता सचेतना कार्यक्रम’ तथा सातै वटा प्रदेशमा दुग्ध प्रवर्द्धनात्मक गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ । मुख्य समारोह भने जेठ १८ गते ललितपुरमा राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा हुने बताइएको छ । यसैगरी, जेठ १३ गते काठमाडौंको नक्सालमा रहेको काठमाडौं इङ्गलिस स्कुलमा ‘विद्यालयस्तरीय कविता प्रतियोगिता’ आयोजना गरिने भएको छ । महिला कृषकहरूको योगदानलाई सम्मान गर्दै युवा पुस्तामा साहित्यिक चेतना, सिर्जनशीलता तथा सकारात्मक अभिव्यक्तिको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नेपाल डेरी एसोसिएशनले ‘विश्व दुग्ध दिवस २०२६’ लाई सफल बनाउन सञ्चारकर्मी, साहित्यकार, शिक्षक, विद्यार्थी तथा आम नागरिकहरुलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ । साथै सरकार, निजी क्षेत्र, सहकारी संस्था तथा किसानहरुबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउन सबै पक्षको साथ आवश्यक रहेकोमा जोड दिइएको छ ।

नेपाल डेरी एसोसिएशन गण्डकी प्रदेश अध्यक्ष प्रवीण कंडेलको अध्यक्षतामा पोखरास्थित इभेन्ट सेन्टर हलमा आयोजित कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला निकाय, उद्योगी, सहकारीकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल डेरी एसोसिएशनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, वाग्मती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष हरिप्रसाद पौडेल, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका महासचिव राम प्रसाद आचार्य, नेपाल डेरी एसोसिएशनका सचिव शिवहरि आचार्य, सह – सचिव रमेश सन्जेल, केन्द्रिय सदस्य राम बराल, कास्की जिल्ला दूध उत्पादक सहकारी संघका अध्यक्ष नवराज बडाललगायत कास्कीका दुग्ध व्यवसायी तथा पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो ।