

काठमाडौं । नेकपा एमालेकी युवा नेतृ नबिना लामाले पार्टीको ११औँ महाधिवेशनपछि भावुक सन्देश सार्वजनिक गर्दै अध्यक्षसहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्।

महाधिवेशनमा सहभागी हुने समय आफ्ना बुबाको निधन भएको चार महिना मात्र पूरा भएको उल्लेख गर्दै उनले मनभित्रको गहिरो पीडाबीच पनि पार्टीप्रतिको जिम्मेवारी बोकेर महाधिवेशनमा सहभागी भएको बताइन्। अन्तिम समयमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा इमानदार प्रयास भए पनि टिममा समेटिन नसक्दा मन निकै दुःखी भएको उनको भनाइ छ।


नेतृ लामाले कक्षा ६ देखि एमाले–अखिलको राजनीतिमा सक्रिय रहँदै काभ्रे जिल्ला कमिटी, अखिल केन्द्रीय सदस्य, सचिवालय सदस्य, स्ववियु सचिव र सभापति हुँदै अखिलको उपाध्यक्ष, महासचिव र अध्यक्षसम्मको जिम्मेवारी सम्हालेको स्मरण गरिन्। साथै पार्टी केन्द्रीय सदस्य र समानुपातिक सांसदको भूमिका निर्वाह गरेको उल्लेख गर्दै आफ्नो सम्पूर्ण राजनीतिक यात्रा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र टिमसँग जोडिएको बताइन्।
महाधिवेशनमा महिला खुला तर्फ उम्मेदवारी दिएकी लामाले १५७९ मत प्राप्त गरे पनि २० मतको झिनो अन्तरले पराजित भई ५३औँ उपविजेता बनेकी छन्। पार्टीको आन्तरिक निर्वाचनमा यो पहिलो हार भएको उल्लेख गर्दै उनले यसले मनमा गहिरो चोट पुगेको बताइन्। मत माग्ने क्रममा स्वास्थ्य समस्याका कारण ज्वरो आएर केही समय विश्राम गर्नुपरेको अवस्थाले अभियान अझ कठिन बनेको उनको भनाइ छ।
यद्यपि, यस्तो कठिन घडीमा पनि माया, विश्वास र साहस दिएर मत दिने सबैप्रति उनले आभार व्यक्त गरेकी छन्। विशेषगरी सडक–सडकमा मत माग्दै पर्चा बाँडेर हिँड्ने आफ्ना श्रीमान, अखिलका दाजु–बहिनीहरू तथा काभ्रे जिल्लादेखि देशभरिका पार्टीका कमरेडहरूप्रति उनले मुटुदेखि धन्यवाद दिएकी छन्।
नेतृ लामाले समर्थकहरूको साथ, माया र विश्वासले आफूलाई फेरि आशा, आत्मबल र निरन्तर संघर्ष गर्ने हिम्मत दिएको उल्लेख गर्दै संघर्ष जारी रहने र राजनीतिक यात्राको अध्याय अझ बाँकी रहेको स्पष्ट पारेकी छन्।

— युवा नेतृ नबिना लामा, नेकपा एमाले


