
काभ्रेको महाभारत गाउँपालिका–५ चौढिकका युवाहरूको सक्रिय संस्था चौढिक युथ क्लब ले आगामी २०८३ साल नयाँ वर्षको शुभ अवसरमा बृहत् बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।

क्लबका अध्यक्ष बेन बहादुर तुम्सीङ मगरका अनुसार कार्यक्रमले गाउँघरका आफन्त, साथीभाइ तथा विभिन्न पेशा, व्यवसाय र अध्ययनका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका चौढिकवासीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्य राखेको छ।

२०८२ सालको विजयादशमीमा स्थापना भएको क्लबले गत दीपावलीमा वडा स्तरीय भलिबल प्रतियोगिता समेत भव्य रूपमा आयोजना गरेको थियो। यसपटकको कार्यक्रममा महाभारत क्षेत्रका बासिन्दा, काभ्रेली समुदाय तथा अन्य इच्छुक सहभागीलाई समेत उपस्थितिका लागि निमन्त्रणा गरिएको छ।


कार्यक्रममा नाचगान, शुभकामना आदानप्रदान, विभिन्न नेपाली स्वादका परिकार, साथै हाडी फुटाउने, म्युजिकल चेयर जस्ता मौलिक खेलहरू सञ्चालन गरिने जनाइएको छ। सहभागीहरूको सहजताका लागि पिकनिक स्थलसम्म आउजाउ गर्ने सवारी सुविधा समेत उपलब्ध गराइने क्लबले जनाएको छ।
कार्यक्रम २०८३ वैशाख १ गते धुलिखेलको हजार सिँढी क्षेत्रमा आयोजना हुनेछ। सहभागिता शुल्क महिलाका लागि रु १०५० र पुरुषका लागि रु १३०० निर्धारण गरिएको छ।
थप जानकारीका लागि आयोजक समितिका विभिन्न प्रतिनिधिहरूसँग सम्पर्क गर्न सकिने क्लबले जनाएको छ।


