काभ्रेपलान्चोक – जिल्ला सहकारी संघ काभ्रेकाे आयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा सहकारी अर्थव्यवस्था सम्बन्धि गोष्ठी आजबाट शुरू भएको छ ।

बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले गोष्ठीको उद्‍घाटन गर्नु भएको हो । गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री महर्जनले सहकारीको भावना र मर्म अनुरुप सञ्चालन नभएका र शेयर सदस्यहरुको बचत रकम हिनामिना गर्ने सहकारी संघसंस्थालाई कारबाहीको दायरामा ल्याउन ३ सदस्यीय समिति गठन भएको बताउनुभयो ।

मन्त्री महर्जनले अगाडि भन्नुभयो -‘बागमती प्रदेश सरकारले ऐन, कानुन, नियममा सुधार गर्नेदेखि संकटग्रस्त सहकारीको अध्ययनका लागि छुट्टै समिति बनाउने निर्णय गरिसकेको छ ।

भुकम्प आयो धेरै घरहरु भत्किए, कमजोर घर बनाउँदा भत्किने रहेछ भन्ने चेतना आयो फेरी बिर्सियो, कोरोनाको महामारी आयो कमजोर स्वास्थ्यका कारण धेरैले ज्यान गुमाए, अहिले आएर त्यो पनि बिर्सिए। अहिले सहकारीमा एउटा महामारी आएको छ । यो महामारीलाई नियन्त्रणमा लिन जरुरी छ । सहकारीको भावना र मर्म अनुरुप सञ्चालन नभएका र शेयर सदस्यहरुको बचत रकम हिनामिना गर्ने सहकारी संघसंस्थालाई कारबाहीको दायरामा नल्याउने हो भने राम्रो काम गर्दै आएका सहकारी समेत समस्यामा पर्ने देखिन्छ ।’

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले काभ्रेपलाञ्चोक जिल्ला सहकारी लिमिटेडले सहकारी संघ संस्थाले खेप्दै आएको समस्या समाधानका लागि गर्दै आएको गतिविधिको प्रशंसा गर्नुभयो । गलत गर्ने सहकारीलाई कारबाही गर्न आग्रह गर्दै उहाँले भन्नुभयो – राजनीतिक दलहरु गम्भिर नहुँदा सहकारीहरुको समस्या झन् मौलाएको छ। सहकारीको समस्या समाधानमा राजनीतिक दलहरूले समेत गम्भीरतापूर्वक लिएको देखिन्न । राजनीतिक दलका कार्यकर्तालाई पनि सहकारी प्रति सचेतना बनाउन जरुरी छ। शेयर सदस्यको हित विपरीत काम गर्ने कुनै पनि सहकारी सञ्चालकलाई छुट नरहेको अध्यक्ष मल्लको भनाई थियो ।

जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) का अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाभित्रका संघ संस्थाका अध्यक्ष र ब्यवस्थापक (म्यानेजर) सहभागी छन् । सहकारीलाई मजबुद बनाउन गोष्ठीले महत्वपूर्ण भूमिकालाई खेल्ने अध्यक्ष शर्माले बताउनुभयो । ‘यो गोष्ठी सञ्चालनको दिनसम्म आइपुग्दा निकै मेहेनत गरेका छौँ । यति धेरै सहभागिता हुनुहुन्छ भन्ने आश निकै कम गरेका थियौँ । तपाईहरुको यो सहभागिताले जिल्लामा सहकारी अभियान थप मजबुद बनाउन मद्दत पुग्ने छ । गोष्ठीले सहकारी सञ्चालकहरूलाई पुनतार्जकी गराउने छ । अन्तरक्रियात्मक ढंगले छलफल हुनेछ । सहकारी क्षेत्रलाई बलियो बनाउन एउटा निचोड निकाल्ने छौँ ।’ अध्यक्ष शर्माले भन्नुभयो ।

गोष्ठी आज र भोली दुईदिन चल्ने छ । गोष्ठीमा सहकारी विभागका उप-रजिष्टार टोलराज उपाध्यायले सहकारीको योगदान, समस्या, चुनौती र अवसरहरु, पुर्व अर्थमन्त्री डा.युवराज खतिवडाले सहकारीमा अबको रणनैतिक बाटो(उत्पादन, बजार र बजारीकरण), नेपाल सरकारका पुर्व सचिव तथा सहकारी विज्ञ गोपी मैनालीले सहकारी क्षेत्रका नीतिगत र कानुनी व्यवस्था र अब गर्नुपर्ने सुधारबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने दोस्रो दिन सहकारीमा नेतृत्व विकासबारे रुपेश श्रेष्ठ, वित्तीय व्यवस्थापनको बारे राष्ट्रिय सहकारी बैंकका कार्यकारी अधिकृत प्रमुख बद्री गुरागाई, सहकारीमा असल अभ्यासको बारे जनउत्थान साकोस रुपन्देहीका रणबहादुर थापा रनेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीका लक्ष्मी प्रसाद उप्रेतीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

गोष्ठीको ब्यवस्थापन कोअपरेटिभ मेनेजर क्लब काभ्रेपलाञ्चोक र प्रवद्र्धधन राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले गरेको छ । जिल्ला सहकारी संघ लिमिटेडको कार्यकरी अधिकृत अनिल श्रेष्ठले गोष्ठीको थिम प्रस्तुत गर्नु भएको थयो । गोष्ठीमा करीब १२० जनाभन्दा बढी सहभागी रहेको जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) ले जनाएको छ । काभ्रेपलाञ्चोक जिल्लाको १३ वटै पालिकामा गरी ६४६ वटा सहकारी संघ संस्था सञ्चालनमा रहेको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..