बनेपा–पनौती–काठमाडौं रुटमा बढी भाडा असुलीको आरोप, विरोध गर्दा यात्रुमाथि दुर्व्यवहार

बनेपा–पनौती हुँदै काठमाडौं आवतजावत गर्ने सार्वजनिक बसले सरकारले निर्धारण गरेको भाडादरभन्दा बढी रकम असुलेको र त्यसको विरोध गर्दा एक यात्रुमाथि दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको छ।

आज बिहान तिनदोबाटोबाट पनौंति हुँदै काठमाडौंका लागि छुटेको यात्रुवाहक बसले जामको कारण देखाउँदै नियमित मार्ग परिवर्तन गरेको बताइएको छ। पीडित लक्ष्मी न्यौपाने सापकोटाका अनुसार बसले जनागालबाट फर्किएर नाला हुँदै सूर्यविनायक पुर्‍याएपछि ओर्लिने क्रममा सह–चालकले तोकिएको दरभन्दा बढी भाडा मागेका थिए।

बिज्ञापन

उनले अतिरिक्त भाडा दिन अस्वीकार गरेपछि सह–चालकले आफ्नो परिचयपत्र च्यात्नुका साथै हातपात गरेको आरोप लगाएकी छन्। “मैले सरकारले तोकेको भाडा मात्रै दिन्छु भनेपछि ममाथि दुर्व्यवहार गरियो,” सापकोटाले बताइन्। घटनापछि आफू मानसिक रूपमा समेत आहत भएको उनको भनाइ छ।

पीडित पक्षले घटनाबारे स्थानीय यातायात व्यवस्थापनसम्बन्धी निकाय र ट्राफिक प्रहरीलाई जानकारी गराइसकेको जनाएको छ। सार्वजनिक यातायातमा सरकारले निर्धारण गरेको भाडादरभन्दा बढी असुल्नु कानुनविपरीत मानिन्छ।

यता, सम्बन्धित गाडीधनी तथा सह–चालकको आधिकारिक धारणा भने हालसम्म सार्वजनिक भएको छैन। आरोपबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग पीडित पक्षको छ।

यस घटनाले सार्वजनिक यातायात क्षेत्रमा भाडादर कार्यान्वयन र यात्रुको सुरक्षासम्बन्धी प्रश्न फेरि उठाएको छ। सरोकारवाला निकायले प्रभावकारी अनुगमन र कडाइ नगरेसम्म यस्ता घटना दोहोरिन सक्ने स्थानीयको चिन्ता छ।