धुलिखेल उद्योग तथा वाणिज्य कार्यालयको सेवा र वातावरणमा आमूल परिवर्तन, सेवाग्राही उत्साहित

काभ्रेपलान्चोक – धुलिखेल स्थित उद्योग तथा वाणिज्य कार्यालयले पछिल्लो समय आफ्नो सेवा प्रवाह र भौतिक वातावरणमा उल्लेखनीय सुधार गर्दै नयाँ स्वरूप पाएको छ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागि मोबाइल चार्ज गर्ने सुविधा, निःशुल्क इन्टरनेट, चिया, चिसो मौसममा तातो पानी लगायतका आधारभूत तथा आवश्यक सुविधाको व्यवस्था गरिएको छ।

बिज्ञापन

कार्यालयभित्र प्रवेश गर्दा सेवाग्राहीलाई कुनै सरकारी कार्यालयभन्दा पनि आधुनिक राम्रो ठाउँमा भएको अनुभूति हुने गरेको सेवाग्राहीहरू बताउँछन्। कर्मचारीहरू सेवाग्राहीको आवश्यकता बुझ्न आफैँ उठेर सोधपुछ गर्ने, सहयोगी र मैत्रीपूर्ण व्यवहार देखाउने संस्कृतिको विकास भएको छ।

सेवाग्राही, समाजसेवी तथा जिल्ला बचत संघ काभ्रेको सचिब राजन अधिकारीले कार्यालयको हालको व्यवस्थापनप्रति खुशी व्यक्त गर्दै भन्नुभयो, “सरकारी कार्यालय भनेपछि झन्झटिलो र अव्यवस्थित भन्ने सोच थियो, तर यहाँ आएपछि त्यो सोच पूर्ण रूपमा बदलिएको छ। सेवा, वातावरण र कर्मचारीको व्यवहार अत्यन्तै प्रशंसनीय छ।”

त्यस्तै आर्सु आर्शु स्मृति प्रतिस्ठानका अध्यक्ष तथा  समाजसेवी रुपेश काफ्लेले पनि कार्यालयको सकारात्मक परिवर्तनको खुलेर प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो “सेवाग्राहीमैत्री वातावरण, सहज सेवा प्रवाह र आवश्यक सुविधाले यहाँ आउने जो–कोहीलाई सन्तुष्ट बनाउँछ। यस्ता सेवा र व्यवस्थापन निरन्तर कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।”

सेवाग्राही मैत्री सेवा, सुशासन र सकारात्मक कार्यसंस्कृतिको उदाहरण प्रस्तुत गर्दै आएको धुलिखेल उद्योग तथा वाणिज्य कार्यालयको यो पहलले अन्य सरकारी कार्यालयहरूका लागि पनि प्रेरणाको काम गर्ने अपेक्षा गरिएको छ।