
ललितपुर । ‘असल हातहरू सधैं साथमा, हाम्रो वातावरण हाम्रै हातमा’ भन्ने सशक्त नारालाई व्यवहारमै उतार्दै नेप्सेम्याक सेवा प्रा.लि.ले वार्षिक सद्भाव भेला–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व, कर्मचारी सम्मान र मानवीय सेवाको उत्कृष्ट संयोजन बनेको उक्त कार्यक्रम ललितपुर–४ बागडोल दोभानस्थित म्याग्दी मगर समाजको सम्पर्क कार्यालयमा आयोजना गरिएको थियो।

भेलामा रक्तदान, कर्मचारी प्रशिक्षण, उत्कृष्ट कर्मचारी सम्मान तथा बनभोजजस्ता विविध कार्यक्रमले उत्साह थपेको थियो। कार्यक्रममा संस्थाले आफ्नो समर्पण र मेहनतले संस्थालाई उचाइमा पुर्याएका १९ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै कृतज्ञता व्यक्त गरेको थियो।

सम्मानित हुनेमध्ये भक्तपुर शाखाका सवारी चालक धनबहादुर गोले ‘सर्वोत्कृष्ट कर्मचारी’ घोषित हुनुभएको छ। उहाँलाई सम्मानपत्रसहित रु. १५ हजार १०५ नगद प्रदान गरिएको थियो।


त्यस्तै शेरबहादुर तामाङ, दिपेश माँझी, ठाकुराबहादुर तामाङ, समर कुलुङ राई, मानविर राई, इन्द्रबहादुर सुनुवार, ललित लुङ्गेली, पिंकी पोँडे, अन्जु पोँडे, राजकुमार श्रेष्ठ, विजय चौधरी, इश्वरी चौलागाई, सविता श्रेष्ठ, एञ्जिला भट्टराई, रमिला भण्डारी (पौडेल), उपेन्द्र सापकोटा, नीता बुढाथोकी र देवनारायण श्रेष्ठलाई नगद रु. ७ हजार ५०५ सहित सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नेप्सेम्याकसँग भइरहेको सहकार्यको प्रशंसा गर्दै काठमाडौँलाई सफा र सुन्दर बनाउने अभियानमा महानगर सधैं सहकार्य गर्न तयार रहेको बताउनुभयो। उहाँले सरसफाइ क्षेत्रमा नेप्सेम्याकले देखाएको सक्रियता उदाहरणीय रहेको उल्लेख गर्नुभयो।
संस्थाका अध्यक्ष टीकाराम दाहालले स्थापना कालदेखि हालसम्मका उपलब्धिहरू प्रस्तुत गर्दै फोहोर व्यवस्थापनमा कानुनी र नीतिगत जटिलताले केही चुनौती सिर्जना गरेको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकाबाट दैनिक करिब ६ सय टन फोहोर निस्कने गरेको छ, जसमा ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने फोहोर संकलन हुने गरेको छ। संकलित फोहोरमध्ये ५ प्रतिशतबाट कम्पोष्ट मल उत्पादन गर्दै वातावरणीय व्यवस्थापनमा योगदान दिइँदै आएको पनि उहाँले जानकारी दिनुभयो।
ललितपुर जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले नेप्सेम्याकसँग विगतदेखि सामाजिक कार्य र सरसफाइमा गरिएको सहकार्यलाई अविस्मरणीय भन्दै आगामी दिनमा पनि नेपाल प्रहरीको तर्फबाट निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम नेप्सेम्याकका मुख्य संयोजक लक्ष्मीप्रसाद गेलालको अध्यक्षतामा सम्पन्न भएको थियो भने वडा नं. ४ का वडाध्यक्ष सन्तोष खड्काले शुभकामना मन्तव्य दिनुभयो। सञ्चालक बाबुराम घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सरकारी तथा गैरसरकारी क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने सन्देशसहित सम्पन्न रक्तदान अभियान रह्यो।
नेप्सेम्याकको आयोजना तथा ब्लड बैंक पुल्चोक ललितपुर र नेपाल रेडक्रस सोसाइटी वडा नं. ४ उपशाखाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए। रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै कार्यक्रममा ७८ जनाले निःशुल्क स्वास्थ्य परीक्षणसमेत गराएका थिए।
छ सयभन्दा बढी कर्मचारी र विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न उक्त सद्भाव भेला केवल औपचारिक कार्यक्रम मात्र नभई, संस्थागत एकता, सामाजिक सेवा र वातावरणीय चेतनाको सशक्त उदाहरण बनेको सहभागीहरूले बताएका छन्।


