गुल्मी जिल्ला मुसिकोट नगरपालिका ५ आपचौरमा जन्मिएका गायक तथा सर्जक ओम सेन्चुरी विगत ४,५ वर्ष देखि निरन्तर गीत संगीत क्षेत्रमा लागि रहेका छन् । सानै उमेर देखि गीत संगितमा रुचि भएका ओमले गाउँमा हुने भजन कृतन, स्कुलमा हुने सबै सास्कृतिक कार्यक्रमहरुमा सहभागीता जनाउने गरेको बताए ।

स्कुलमा हुने धेरै कार्यक्रममा थुप्रै पुरस्कार पनि जितका सेन्चुरीलाई गाउँमा सबै साथीहरु, शिक्षकहरुले स्वर राम्रो छ भने पछि गीत संगीत क्षेत्रमा लाग्ने प्रेरणा मिलेको बताएका छन् । २०७५ सालमा रेडियोमा संचालन भएको गायन प्रतियोगितामा लगभग ६०० सहभागीहरु मध्य टप ५ भित्र परेका थिए । त्यस पछि उनले राम सीता बोलेको गीत रेकर्ड गरि औपचारिक रुपमा २०७५ सालबाट संगीतको यात्रा सुरु गरेको बताए । त्यतिबेला ओम कक्षा १० मा पढ्दै थिए । १० को नतिजा सार्वजनिक भए पछि काठमाडौ अध्ययनका लागि छिरेका ओमले अध्ययन संगै गीत संगीतलाई नि अगाडि बढाइरहेका छन ।

करिब ५ वर्षको अन्तरालमा ओमका आवाज, शब्द संगीतमा दुई दर्जन भन्दा बढी गीत बजारमा आएका छन् । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गायक तथा सर्जक ओम सेन्चुरीसँग गरेको कुराकानी :

 

० आज भोलि केमा व्यस्त हुन्छ नि ?
त्रिचन्द्र क्याम्पसमा बिज्ञान विषय लिएर ब्याचरल लेभलको अध्ययन गर्दै छु । बढी त कलेज कै पढाइमा ब्यस्त हुने गरेको छु । समय मिलाएर विभिन्न लाइभ दोहोरीहरु पनि गाइरहेको छु साथै अफिसियल गीतका कामहरु पनि निरन्तर भैरहेका छन् । अनि कहिले काहीँ स्टेज प्रोग्राम तिर पनि जाने गरेको छु ।

० तपाईंको गीत संगीतको यात्रा कसरी सुरु भयो ?
२०७५ सालमा संचालन भएको आशिर्वाद प्रतिभाको खोजी कार्यक्रममा सहभागी भएर लगभग ६०० प्रतियोगीहरु मध्य ट्प ५ बाट बाहिरी पछि राम सीता बोलको गित रेकर्ड गरि औपचारिक रूपमा गीत संगीतमा लागे । पछि कोरोनाको बेला इन्द्रेणीकी बाल गायिका रबिना बसेलसँग लाइभ दोहोरी गाय पछि एकाएक सामाजिक संजालमा भाइरल भए पछि संगीतको यात्राले अझै तीब्र लियो । मैले र रबिनाले गाएका थुप्रै दोहोरीहरु अहिले पनि लोकप्रिय छन ।इन्द्रेणीमा हामी दुईले गाएको लोकदोहोरी गित १० लाख भन्दा धेरैले हेरेका छन् ।

० गीत संगीत कस्तो होस जस्तो लाग्छ तपाईंलाई ?
लोक गीत भनेकै लोकको आवाज हो अर्थात जनताको आवाज एवम जनताको गीतको अझै भनौ लोक गीत हाम्रो संस्कृती हो त्यसैले गीत संगीत लोक जनमासमा पच्ने हुनु पर्छ । समाजको यथार्थ चित्रण गर्ने हुनुपर्छ । हाम्रो पुर्खाको इतिहास हस्तान्तरणमा पनि गीत संगीतले ठूलो भुमिका खेल्ने हुँदा हाम्रो संस्कृती संरक्षण गर्ने हुनु पर्छ ।क्षणिक चर्चाका लागि मात्र नभएर युगौ युग सम्म टिक्ने र बिक्ने हुनुपर्छ।

० तपाईं गीत संगीत बाहेक के गर्नु हुन्छ ?
म एक ब्याचलर पढदै गरेको विद्यार्थी भएकोले गीत संगीत बाहेक अध्ययन तिर नै व्यस्त छु । साथै आफ्नो घरायसी कामहरु नयाँ नयाँ कृतीहरु पढ्ने जस्ता कामहरु गर्ने गर्छु ।

० कलाकारहरु गीत संगीत बाट नै बाँच्न सक्छन् जस्तो लाग्छ तपाईंलाई ?
नेपाली गीत संगीतको बजार सानो छ । कलाकारहरु पनि निकै हुनुहुन्छ । सबै कलाकार सबै चल्छन भन्ने पनि छैन अनि नचली स्टेज प्रोग्रामहरु पाउन पनि गार्‍हो छ । गीत संगीतको बजार निकै महँगो भएको कारण सजिलो पनि छैन । केही कलाकारहरुले राम्रै कमाउनु भएको छ । राम्रै जमाउनु भएको छ तर सबै जना सफल हुन गार्‍हो छ । अझै गीत संगीतमा चल्न फलामको चिउरा चपाउनु जस्तै छ।त्यसैले मलाई लाग्छ गीत संगीत बाट मात्र बाच्न निकै गार्‍हो छ । यो क्षेत्र दीर्घकालीन पनि नभएको हुँदा धेरै गार्‍हो छ ।

० तपाईंको सबैभन्दा चर्चामा रहेको गीत कुन हो ?
नेपाली गीत संगीतमा लागे देखि अहिले सम्म आफ्नो आवाज, शब्द, संगीत गरेर लगभग दुई दर्जन गीतहरुमा काम गरेको छु । ती मध्य सबै भन्दा चर्चित गीत चाहिँ धोबी बगर दाइको लोभी नजर हो । जुन युटुबमा ६३ लाख भन्दा बढी पटक हेरिएको छ । त्यस्तै ए मेरो बाबा, ए मुना, चक्चके माया, तीज गीत धोबी खोला झरी झरी लगायतका गीतहरु मेरा चर्चित गीत हुने भने त्यस्तै थुप्रै लाइभ दोहोरीहरु पनि चर्चामा छन्।

० नेपाली गीत संगीतमा धैरै नकारात्मक कुराहरु पनि आएका छन् यसलाई कसरी लिनु हुन्छ ?
हरेक कुरामा सकारात्मक र नकारात्मक कुराहरु आउने गरेका छन्न। नेपाली गीत संगीतमा पनि त्यस्ता कुराहरु बेला बेला आइरहेका हुन्छन्। सबै जना गीत संगीत बुझेर, जानेर लागेका हुदैन्न केही मान्छेहरु पैसा कमाउनको निम्ति मात्र गीतमा लागेका हुन्छन्। त्यस्ता मान्छेले सस्तो लोकप्रियताका लागि नकारात्मक कुराहरु गर्ने गर्छन् । जुन टिकाउ हुदैन ।गीत संगीत क्षेत्रमा नियमन गर्ने लोक दोहोरी प्रतिष्ठान लगायतका विभागहरु पनि रहेका छन्। यस्ता कुरा आउने जाने गर्छन् । सके सम्म यस्तो नगरौ सस्तो लोकप्रियता टिकाउ हुदैन त्यसैले यसमा नलागौ भन्न चाहान्छु।

० तपाईंको हाल सालै सार्वजनिक भएको गीतको सफलता बारे ?
हाल सालैको कुरा गर्ने हो भने मेरो यो साल ४ वटा गीत आइसकेका छन् । ती गीतहरुले बिस्तारै माया पाइरहेका छन् । त्यस्तै हिन्दू नारीहरुको महान चाड हरितालिका तिज लाई ख्याल गर्दै बजारमा आएको तीज गीत ” सिमसिमे पानी परेको” गीतले बिस्तारै माया पाइरहेका छन् भने तीज विशेष ” दिदी भाइ ” लाइभ दोहोरी नि निकै माया गर्दिनु भएको छ ।

० कसको प्रेरणाले गीत संगीतमा लाग्नु भयो ?
म गाउँ घरमा खेलेको हुर्केको मान्छे । सानै देखि गीत गाउन लेख्न एक्दम मन लाग्थ्यो । स्कुलमा हुने कार्यक्रममा सहभागी हुने गीत गाउने गर्थे विद्यार्थी जीवन बाट नै स्कुलका कार्यक्रमहरुमा सहभागी भएर गीत गाउने प्रतियोगिता जित्दा सबै जनाले स्वर राम्रो छ भनेर हौसला दिदा सबैले गाउनु पर्छ भनेपछि बिस्तारै सबैको सहयोगले गीत संगीतमा लाग्न हौसला मिल्यो ।

० तपाईंलाई गीत संगीत क्षेत्रमा लाग्न घर परिवार बाट कतिको साथ सहयोग छ ?
मलाई घर परिवार बाट गीत संगीतमा लाग्न खासै साथ छैन । मेरो बुवाले पढाइ राम्रो संग पढेर सरकारी जागिर तिर लड्नका लागि भन्नू हुन्छ । तर पनि मैले गाएका गीतहरु चाहिँ सबै हेर्नू हुन्छ ।

० तपाईंको भाबि योजना के छ ?
मेरो रहरको विषय नेपाली गीत संगीत नै हो । म भोलि जहाँ भएनी जे गरेनी नेपाली गीत संगीतबाट कहिले टाढा हुन सक्दिन । आफ्नो पढाइलाई निरन्तरता दिइरहको छु हेरौ कर्मले कता डोर्‍याउछ ।

० दर्शकको माया कतिको पाई राख्नु भएको छ ?
हामी कलाकारहरुको भगवान भने कै दर्शक श्रोताहरु हो । उहाँहरुको माया बिना त हामी एक्लो हुन्छौ । अधुरो हुन्छौं । त्यसैले हरेक कलाकार लाई दर्शकको माया निकै आवश्यक छ । दर्शक श्रोताहरुको माया सधै पाइरहेको छु। त्यहीँ मायाले गर्दा अझै काम गर्ने नयाँ गित सृजना गर्न हौसला मिलिरहेको छ ।

० अन्त्यमा के भन्न चाहानुहुन्छ ?
संगीतको यात्रा सुरु गरे देखि नै सबैले निकै माया गर्दिनु भएको छ यो माया साथ सधै रहिरहोस। अझै धेरै सिक्नु पर्ने छ धेरै गर्नु पर्ने छ कहि कतै केही भुलचुक गल्ती भए माफ गर्दिनु होला। सुधार गर्नु पर्ने धेरै कुरा होलान आफ्नै मान्छे सम्झेर टिप्पणी गरिदिनु हुन अनुरोध गर्दछु । मेरो गीतहरु नहेरेको भए युटुबमा ओम सेन्चुरी खोजेर माया गर्दिनु होला । अब आउने गीतहरुलाई पनि सधै यसै गरेर माया गरिदिनु होला भन्न चाहान्छु । धन्यवाद

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..