आदर्श विद्या मन्दिर स्कुलद्वारा विपद् व्यवस्थापनसम्बन्धी पूर्वतयारी डेमो कार्यक्रम सम्पन्न

काभ्रे । आदर्श विद्या मन्दिर (ABM) स्कुलले विद्यार्थीहरूलाई सम्भावित विपद् जोखिमबाट सुरक्षित रहन आवश्यक ज्ञान र व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले विपद् व्यवस्थापनसम्बन्धी पूर्वतयारी डेमो कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद तिमल्सिनाका अनुसार कार्यक्रममार्फत आगलागी, ग्यास लिकेज तथा भूकम्पजस्ता जोखिमपूर्ण अवस्थाहरूमा कसरी सुरक्षित रहने, तत्कालीन सावधानी अपनाउने र आत्मरक्षा गर्ने उपायबारे विद्यार्थीहरूलाई व्यवहारिक रूपमा प्रशिक्षण दिइएको हो। डेमो स्टेसनमार्फत जोखिमको अवस्था सिर्जना गरी त्यसबाट सुरक्षित रूपमा बाहिरिने अभ्यास गराइएको उहाँले जानकारी दिनुभयो।

बिज्ञापन

कार्यक्रममा विद्यार्थीहरूलाई विपद् आइपर्नु अघि गर्ने तयारी, विपद्का समयमा अपनाउनुपर्ने सावधानी तथा विपद् पश्चात् गर्नुपर्ने कार्यबारे स्पष्ट जानकारी दिइएको थियो। यसले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै आपतकालीन अवस्थामा सही निर्णय लिन सहयोग पुग्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।
उक्त कार्यक्रममा अभिभावकहरू, विद्यार्थीहरू, सञ्चारकर्मीहरू तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

अभिभावकहरूले विद्यालयले शैक्षिक पठनपाठनसँगै जीवनोपयोगी सीप र सुरक्षालाई प्राथमिकता दिएकोमा प्रशंसा व्यक्त गरेका छन्।
विद्यालयले यस्ता जनचेतनामूलक तथा व्यवहारिक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।