
काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले बिशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ ।

सभापति देउवा निवास महाराजगंजमा आइतबार बसेको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तय गरिसकेको अवस्थामा बिशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले बिशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै देशभरका महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउनुपर्ने जरुरत नरहेको सन्देश प्रवाह गर्ने निर्णय भएको जानकारी दिए । साथै बैठकले देशभरका नेता तथा कार्यकर्तालाई आसन्न प्रतिनिधिसभाको निर्वाचनको तयारीमा होमिनका लागि आग्रह गरिएको उनले बताए ।


यसैबीच कांग्रेसले पुनः कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ । बैठक पुस २१ गते सोमबार दिउसो १ बजे बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।
पुसमा हुने भनिएको पार्टीको महाधिवेशन बैशाखमा सारिएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसमा नै विशेष महाधिवेशन गर्ने अडान राख्दै आएका छन् ।


