५० वर्षपछि भुम्लुमा सुरु भयो लालपुर्जा वितरण

 

काभ्रे । ५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु गाउँपालिकाको दुईवटा वडाका स्थानीयको प्रतिक्षा समाप्त भएको छ । आज (मंगलबार) देखि भुम्लुको वडा-७ र ८ का ४ सय ३१ स्थानीयले लालपूर्जा प्राप्त गरेका छन् ।

बिज्ञापन

भुम्लु ७ का ८३ बर्षिया जय कुमारी तामाङ । उनी आज निकै खुशी देखिएका थिए । आफुले भोगचलन गर्दै आएको जमिनको ५० बर्षपछि भुमी ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको हातबाट आफ्नो जग्गाको जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेपछि उनको मुहारमा खुशी झल्किएको हो ।

बि. सं. २०३२ सालदेखि लालपुर्जाको आशामा रहेका भुम्लु गाउँपालिकामा दुई वडाका जग्गाधनीले लालपुर्जा पाएका थिएनन् । नापी कार्यालय काभ्रेले नापी टोलीलाई गाउँमा खटाएर स्थानीयबासीको समस्या समाधान गरेपछि स्थानीयले आफ्नो जग्गाको लालपुर्जा पाएका हुन् ।

भुमी ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले स्थानीय जग्गाधनीलाई लालपुर्जा वितरण कार्यको सुरु गरेका छन् । कार्यक्रममा मन्त्री अधिकारीले वर्तमान सरकार जनताको समस्या समाधान गर्नका लागि अग्रसर रहेर काम गरिरहेको बताए । मन्त्री अधिकारीले विभिन्न समितिले दिएको प्रतिवेदनको आधारमा भुम्लुको जग्गाको समस्या समाधान गरिएको बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ, गाउँपालिकाका पुर्व अध्यक्ष गुमानध्वज कुँवरले लालपुर्जा नहुँदा नागरिक पाएको सास्तीको बारेमा आफ्नो भनाई राखेका थिए ।

साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आएको खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतियोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा वि.सं. २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयबासीले लालपुर्जा पाउन सकेका थिएनन् । वि.सं.२०३२ सालमा विवाद भएपछि २०३५ सालमा पुनः नापी टोली उक्त गाविसमा नापीका लागि गएको थियो । उक्त समयमा पनि दुई गाविसबीच उक्त जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो ।