मंसिर ७ को गणतन्त्र विरोधी ऐलान र गणतन्त्रबादि शक्तिको अकर्मण्यता : विजय अधिकारी

मंसिर ७ को गणतन्त्र विरोधी ऐलान र गणतन्त्रबादि शक्तिको अकर्मण्यता

अहिलेको अराजकता , रोष , प्रतिगामी आन्दोलन सबका सबको सृजना हामीले गरेको हो ! निशंकोच जिम्मेवारि लिनुपर्छ ।

बिज्ञापन

माफि माग्दै तत्काल मानविय विकासमा हामीले सर्व शक्ति लगाई काम गर्नुपर्छ ! होईन भने व्यवस्था व्यवस्था मात्रै भनेर कोहि काँध हाल्दिन आउने वाला छैन ! हामीले तत्काल भन्न सक्नुपर्छ १ बर्ष भित्र यति नेपालीलाई रोजगार दिन सक्छौ भनेर ! अबको १० बर्ष पछिको नेपाल कस्तो हुने ? ५० बर्षमा कहाँ पुर्याउछौ ? अब ब्लु प्रिन्ट आउनुपर्छ । स्पष्ट खाका आउनुपर्छ । यसरि यसरि यो यो तौरतरिकाबाट हामी जनतालाई शुख र शान्तिको श्वास निर्बाध दिलाउने छौ भन्ने स्पष्ट योजना सहितको खाका ।

विदेशिनेको लाईन हामीले रोक्न सक्नुपर्छ ।अनिमात्र व्यवस्था टिक्छ ।गाँउमा घरकै आगन कालोपत्रे भयो , खानेपानी घरघरमा पुग्यो , बिजुलि छ , ईन्टरनेट छ , यातायात सुगम छ , विद्यालय भवन छन् – पढ्ने विद्यार्थी छैनन् । स्वास्थ चौकि राम्रो बनेको छ र पनि गाउँमा मान्छे बस्दैन ! किन ? चाहे शहरको चोकका गगनचुम्बी महलमा बस्ने हुन अथवा गाँउका झुपडी सबका सबलाई यो देश छोड्नुछ । किन यस्तो भयो ?

जिम्मेवारी नलिने ? २० बर्षमा मने हामी त सुईजरल्याण्ड बनाईहाल्छौ नि भनेर कुम हल्लाई हल्लाई बोल्दा पररर ताली पडकाउने मै हुँ ,,, तालि बजाउदा बजाउदा मेरा हात यति धेरै रातो भाको थियो नि ! अनि उत्तिकै तातो पनि ! कम्ता अपेक्षा थियो ? ३ गाडि मान्छेलाई उत्तिकै उतार्या थे त टुडिखेलमा ? त्यो किन पुरा भएन ? कस्लाई दोस्ने ? एकले अर्कालाई देखाउदै उम्कने हो ?

काखको दुधे बालक छोडेर विदेशीने आमा , भर्खर विहे गरेको पति पत्नि छाडेर परदेशिएका युवा युवती , तिनका विछोडको कारक को ? बृद्धअबश्थाका बाउ आमालाई हेरचाह र स्याहारसुसार गर्नुपर्ने बेलामा उल्टै गहभरि आँसु बोकेर परदेशिएका दाजुभाइ दिदिबहिनिहरु छन् , तिनका विछोडको कारक को हो ? पारिवारिक सामाजिक विछोडको कारक हामी हौं ।

तिनका मनमा हिजोको मेरो पार्टी , मेरो दल , मेरो बाउ बाजेको पार्टी किन हुन्छ ?कसरी ती पार्टी गौरबशालि ? गहाभरि आसु बोकाएर मेनपावर र दलाललाई मोटो रकम बुझाउन विबश तुल्याउँदै नागरिकलाई दलाल मार्फत बेच्ने हामी नै होईनौं ?

अझ खाडिका झाडि फाड्न गाका गाँउका गोठालेहरुलाई दुख मिहेनत परिश्रम गर्दा गर्दै पनि त्यहाँ पनि पार्टीको प्रवासि संगठन बनाई दास तुल्याउने हामी हो होईनौं ? प्रवासका कार्यक्रम गर अधिवेशन गर , हामी / म त नेता पो हुँ लु खुरुखुरु मलाई र हाम्रो टिमलाई टिकट काटिदेउ , बस्ने तारे बुक गरिदेउ , खाने प्रबन्ध मिलाउ ,, म आउदैछु हो त्यहाँ तिमिहरुलाई मेरा भाषण सुनाउन !ए अँ साँच्चै त्यहाँ आईसकेपछि मेरो ऐयासि र धेरथोर मनोरञ्जन घुमघामको पनि प्रबन्ध गर है , एकपटक त्याको सबै था पाउनु परो नि । लु त्यति गर त केटा हो ! यस्तो गर्ने तपाई हामी नै होईन ?

देशमा लुट्यौ प्रवासमा पनि धेरथोर लुट्यौ अनि जवानी सिध्याएर ४० कटेर गाउँ आको काईलाले धेरथोर कमाको पैसोले घरजग्गा लगानी नगरे के गर्छ ? सरकारले भुकम्प पिडितलाई एउटा त्रिपाल दिन सक्ने हुति अझै छैन , चिसोले मर्नेको संख्या दर्जन नाघिसक्यो – यसले आवास त पक्कै दिदैन ! रगत पसिना जवानी सकाई , चाउरि परेको गाला लिई घर फर्केको लाउरेलाई सुस्ताउने घर त चाईयो नि । अब बुढेसकालमा के गरोस् – खाडिको कमाई सकिगो – फेरि उसका छोराछोरीलाई खाडि नपठाई सुखै छैन । बाठा टाठाका र धनिमनिका छोराछोरी त अलरेडि युरोअमेरिका छदैछन । उतैको पिआर हुण्डिमुण्डि अनेक कारोबार । गरिवले पनि सिक्छ नि जसरि पनि छोराछोरी अष्ट्रेलिया अमेरिका युरोप पठाउन खोज्नेनै भो ! सके पठाउछ नसके खाडि ठेल्छनि ! यहाँ राखेर लफंगा चुल्ठे मुन्द्रे कुण्डले बनाउन कस्ले सक्छ ? यथोचित राम्रो परिस्थिति छ यहाँ ?

उद्योग धन्दा , कलकारखाना , रोजगार स्वरोजगार , प्रोत्साहन , नवप्रवर्तन , अन्वेषण, खोजमा लगानी गर्यौं ? फुँई लाउने ? महान व्यवस्था ? के को महान हो के ? महंगि भ्रष्टाचार तस्करि र लुटमा होईन लगानी ? फस्टाएको त सुन क्रान्ति , दलालि धन्दा मात्रै होईन ? विकास समिति , ठेकेदार सँगको साझेदारीमा ब्रम्हलुट , नेताका नाममा खुलेका प्रतिष्ठानमा सहयोग , नेताहरुलाई सेवा सुविधा उपचार , त्यो पनि अत्यन्तै उच्च विन्दुको रकमान्तर होईन ? अनि के गर्यौ त ?

गाउँ गाँउमा शिहदरवार पुग्यो ? जनताले के पायो ? गाँउका राजाका दमन , लुट ब्रम्हलुट र कमाउ धन्दा देख्या छन् । घर अगाडिको बाटोमा मिलेमतोमा छ्याकन हानेको जनतालाई था छ । विभिन्न सिर्षकमा लुटको सम्राज्य खडा गरेको छोटा राजहरु देखेका छन् । तिनका परिवार र आसेपासेका दलन दमन र रवाफ बुझेका छन् ! अनि के को पार्टी पार्टी भन्दै पुजा गर्छन् त ? कन्ट्रोल कहाँ छ ? बेरुजुका हिसाब बेहिसाब छन नि? अनि हामीले शुशासन रट्ने ?

परिवारबादमा लिप्त नेता , पार्टीमा पनि सिन्डिकेट नेतृत्व परिपाटी जानेबुझेका भुक्त भोगि भईसकेका छन कार्यकर्ता ,,, नीति विचार कार्यक्रम र शिद्धान्तको परिधिभित्र भन्दा पर बाहुबल र पाखुराको लाठि व्यवहारको राजनीति ? जनतालाई था छैन ? बुझ्या छैनन ?

धेरै फुर्ती नलगाउ अहिलेसम्म कति उद्योग मन्त्री भए ? तिनले कति उद्योग धन्दाको विकास गरे ? कति स्थापना गर्न सके ? ईज अफ डुईङ विजनेसमा नेपालको स्थान का छ ? श्रम रोजगार मन्त्री कति भए अहिलेसम्म तिनले कतिजनालाई रोजगार बनाउन सके ? शहरि विकास मन्त्रीले कुन चाहिँ नमुना शहर वनाउन सके ? यातायात मन्त्री ज्यूहरुले कुन चाहिँ राजमार्गको सुधार गरे ? नयाँ बनाउने कुरा त छोडौ – भएकाको हालत कहाँ सुधार भो ? मेलम्ची खानेपानी राजनीति कहिलेसम्म ? कर्णाली र सुदुरपश्चिम टुकि बाल्न विवश छ हामी चाहिँ सस्तोमा भारतलाई बेचेर महंगोमा यहाँ खरिद गर्ने ? यो कस्तो व्यापार नीति हो ? ट्रान्मिसन लाईन व्यापक विस्तार हुनुपर्ने होईन ? कति क्षेत्र खेतीयोग्य किटान गरि भवन निर्माण प्रतिबन्ध छन ? सरकार साँच्चै जानकार छ त ?कृषि आधुनिकरणको चक्लाबन्दि प्लटिङ भएका छन । सरकारि अनुदान कागजि किसानलाई उपलब्ध छन् ।
उत्पादनमा बजारभाउ छैन , महंगि अत्यन्तै बढेको छ । बजार नियन्त्रण गर्न सक्दैन ! स्वास्थ्योपचार अभावमा अझै पनि जनता मर्न विवश छन । अस्पतालमा सबैभन्दा पहिला डिपोजिट बिना उपचार पाईन्न ! अनि अहिलेसम्म कति स्वास्थ मन्त्री भए ? तिनलाई लाज लाग्दैन ? समाजवाद उन्मुख संविधानको कार्यान्वयन यसरी हो गर्नी ? भित्तामा फोटो झुण्डाउन र राजनीतिका लागि राजनीति गर्न मात्रै तिमिहरु मसिहा ? होईन भने खोइ त परिवर्तन ? जनताको घरमा झुल्कन सकेन गणतन्त्र ,यो यथार्थ हो !

तसर्थ म मेरो भागमा परेको यो चरम वेथिति , निराशा , अराजकता , भ्रष्टाचार , लुट र ब्रमणहलुटको हरेक राम्रो नराम्रो पक्षको एकेक जिम्मेवारी लिन तयार छु । लिन्छु र फेरि पनि भन्छु लोकतान्त्रिक व्यवस्थाको विकल्प उन्नत लोकतन्त्रनै हुन्छ ।

त्यसकारण हामीले गरेका कमिकमजोरि उपर अत्यन्तै ग्लानीका साथ सार्वजनिक रुपमा महान नेपाली जनता सँग माफि माग्दै म/हामी सुध्रन्छौ र यो देशलाई साँच्चिकै उन्नत अवस्थामा लान १-२-३ प्रतिबद्ध छौ , बर्ष दिन भित्रै देखिने गरि आजै र अहिल्यै बाट घनिभुत काम गर्छौ । हरेक क्षेत्रमा सुधार गर्छौ । आर्थिक मन्दिको विरुद्ध नोटबन्दि लगायतका हरेक सामाधानका उपाय अपनाउनेछौ र अब एकपटक लाई हामिलाई माफि बक्सिस दिदै समय दिनुस ! धर्मराजको सत्ता र सरकार कसरी चलाउने हो हामी देखाउछौ । अब परिणाम दिन्छौं ।दलहरुका नेतृत्वले यति निशंकोच भन्न सक्नुपर्छ !

होईन भने ….. छड्के सलाम मैले होईन जनताले देखाउछन देखाउछन् , नेपालि समाजमा विद्रोहको आधार तयार भईसकेको छ र यसको विस्फोटले राज्यको अस्तित्वमा समेत गम्भीर प्रश्न खडा गर्छ , देशमा जातिय , धार्मिक साम्प्रदायिक दंगाको अवस्था सृजना हुदैछ र यसको एकमात्र सामाधान जातिय ,धार्मिक , साम्प्रदायिक विभाजनको बदलामा एकत्व एकता , भिषण एकता र सद्भावना हो । यसलाई मनन गर्दै हरेक खाले अराजकताको विपक्षमा लाग्न सम्पूर्ण न्यायप्रेमी मुक्तिकामी नेपाली जनतामा सार्वजनिक आह्वान / अपिल गर्दछु । यति भनिरहदा कोहि रिसाउछ / च्यातिन्छ / फाटिन्छ भने मेरो भन्नू केही छैन ।

शिर्ष नेतृत्व तहबाट यति कुरा मनन गर्दै जनताको पक्षमा विशेष सम्बोधन र घोषणा अब पनि नहुने हो भने त्यसका परिणाम राज्य र नागरिकले थेगि नस्कनु हुनेछ ।

राज्यमा अराजकताको खेती हुनु भनेको राज्य विखण्डन र विलयको आधार तयार हुनु हो ! देशको कन्ट्रोल विभिन्न शक्ति राष्ट्रहरुको स्वार्थमा पुग्नु हो ! देश नै रहे पनि एक किसिमको बुख्याचा राजमा पिल्सनु पर्ने हुन सक्छ । ईतिहासमा कहिल्यै कसैको उपनिवेश अर्धउपनिवेश र कब्जामा नभएको देश दृष्य अदृश्य रुपमा पराधिन र पराजित हुने परिस्थिति निर्माण हुन खोज्दै छ ।

हामीलाई हाम्रो आत्मनिर्णय , स्वतन्त्रता , सार्वभौमिकताका अलावा अहिले चाहिएक‍ो ; टड्कारो चाहिएको समृद्धि र शुसाशन हो । त्यसका लागि व्यवस्थाको पक्षमा तिघ्रा ठटाउनु भन्दा उत्तम जनताको जनजिवनको अवस्था परिवर्तनको पक्षमा भिषण प्रतिबद्धता आजको पहिलो आवस्यकता हो !

धार्मिक , साम्प्रदायिक , जातीय द्वन्द्व कति धेरै घातक हुन्छ भनेर हेर्न र बुझ्न गाजामा यहुदि र मुसलमानको लडाइँ हेरे पुग्छ । प्यालेस्टाइनि हमास र ईजरायली संघर्षको आदि अनन्तको ईतिहास हेर्दा हुन्छ -यो कति निर्मम र कठोर हुन्छ !
धन्यवाद !!

लेखक : विजय अधिकारी , पाँचखाल – २ , काभ्रेपलान्चोक
फोन :9865598232
ईमेल : [email protected]