“भोलि कोही नआउन्जेलसम्म”

कोठाको झ्यालबाट आँखाले देखुन्जेल परसम्म नियालेँ । अलिपर ठूलो पर्खाल, पर्खालभन्दा पर अलिठूलो घर, घरभन्दा पर पहाड, पहाडभन्दा पर क्षितिज र जमिन जोडिएको जस्तो तर अलि धुमिल । यहाँभन्दा पर खुल्ला आँखाले देखिन्न । जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छ कवि भने झैं प्रा.डा. श्रृजना श्रेष्ठको कविता संग्रह “भोलि कोही नआन्जेसम्म” नियाल्दा यो उखानको सही प्रयोग भए झैं लाग्यो । रविको किरणसमेत बन्देज स्थानको पनि कविले आफ्नो ज्ञान चक्षुले छर्लंक देख्छ र यथावस्तु स्थितिको बयान गर्दछ । साहित्य रुपी फूलबारीमा अनेक सौन्दर्य र सुगन्धित अत्तरहरु छरेर वातावरणलाई वास्नायुक्त बनाउन सफल कृति “भोलि कोही नआउन्जेसम्म” कविता संग्रह पढ्ने मौका पाएँ । यो तारतम्ब्य मिलाईदिनु भएकोमा प्रा.डा.सविना श्रेष्ठज्यूलाई आभार ब्यक्त गर्न चाहन्छु । काँडा विच फुल्ने गुलाफको सौन्दर्यता र हिलोमा फुल्ने कमलको कोमलताको बयान सायत जरुरी पर्दैन । त्यस्तै साहित्यरुपी फूलबारीमा फुल्दै गरेकी कवियत्री प्रा.डा.श्रृजना श्रेष्ठको यस कृतिमा फक्रेको कविताहरुको सुगन्ध रसपान गर्दा पाएको आनन्द उन्ने जमर्को गरेको छु ।

प्रा.डा.श्रृजना श्रेष्ठ एक स्थापित बालरोग विशेषज्ञ हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत श्रेष्ठ पेशाले नितान्त प्राविधिक भएता पनि साहित्य श्रृजनामा यति कुसलतापूर्वक कलम चलाउन सक्नु अर्को क्षमता हो । नाम जस्तै साहित्य श्रृजनाहरु पाठकको मनमा बस्न सफल छन् । डा.श्रेष्ठको भर्खरै प्रकाशित “भोलि कोही नआउन्जेसम्म” चौथो कृति हो । उहाँले यो भन्दा पहिला “प्रश्न चिन्हदेखि पूर्णविरामसम्म, बादललाई के थाहा, श्रृजना श्रेष्ठया चिनाखँ” जस्ता कृति प्रकाशित गरी नेपाली साहित्यमा आफ्नो छवि उजागर गरिसक्नु भएकी छ । लेखन कला भएकी सिद्धहस्त विद्वान प्राध्यापकज्यूको यो कृति सरसर्ती अध्ययन गर्दा लेखिकाको साहित्यिक शिल्पीको तारिफ गर्न मन लाग्यो । जन्म र मृत्युविचको समय जीवन हो, यी समयमा मान्छेले अनेक भूमिका निर्वाह गर्छन् । मानौं यो भूगोल रङ्गमञ्च हो र मानिस यो मञ्चको पात्र । जीवन र जगतको वोध गराउने वस्तुगत विषय र साहित्यिक गहिराईले पुस्तक ओजस्वी बन्न पुगेको छ । यो कृति सरसर्ती पढिसकेपछि मनमा लागेको केही कुरा लेख्ने दुत्साहस गरेँ । यो एउटा सच्चा पाठकको धर्म पनि हो । प्रत्येक कविताले जीवनको भोगाई र अन्तरमनको भाव बोकेकाले पनि यो पुस्तक अझ पढनीय बन्न पुगेको छ ।

बिज्ञापन

उहाँको यो कृतिमा संग्रहीत पहिलो कविता “विहान उठिन्छ भन्ने विश्वास” मृत्युको सत्यलाई नकार्ने कसैको वसको कुरा होइन । यध्यपि भोलि उठिन्छ भन्ने विश्वासमा मानिसले रातमा मस्त निदाउने गर्छन् । यदि त्यो विश्वास नहुँदो हो त मान्छे मर्ने डरले निदाउने थिएनन् र त्यहीँ एक मात्र आफ्नो लागि पाएको स्वर्णिम निदरीको रात पनि गुमाउथे होला भन्ने भाव यस कवितामा पाइन्छ ।

“बिहान उठिन्छ भन्ने विश्वासले,

रातमा मस्त निद्रा निदाउँछ मान्छे ।”

कवि श्रेष्ठको अर्को कविता “फरक परिभाषा” मान्छे सामाजिक प्राणी हो तर समाजका अनेक बन्धन र सम्बन्धको जन्जिरभित्र यसरी बाँधिन पुग्छ कि उस्ले आफू स्वतन्त्र विवेगशिल प्राणी भन्ने नै विर्सन्छ । मानौं ऊ आफ्ना लागि बाँचेको होइन कि परिवार, समाजको अनेक बन्धन र सम्बन्ध जोगाई राख्ने ठेक्का मैले नै लिएको छु । जन्मदेखि मृत्युसम्म आईपुग्दा मान्छेले अनेक जिम्मेवारीको बोझ बोक्नु पर्ने हुन्छ । सम्बन्धको पर्खालभित्र सच्चा पहरेदार भै कर्तव्यको पालक बनी आफ्नो अस्थित्व जोगाउनु पर्ने हुन्छ । जव अन्तर्मनले तँ को होस् भनी सोध्छ , ऊ आफैमा अल्मलिन्छ “समय र सन्दर्भ अनुसार परिभाषित सम्बन्धको व्याख्या कस्ले गर्ने ?” भनेर ।

कवियत्री अर्को कविता कोर्न पुग्छिन् “जीवनको नैशर्गिक अधिकार” । मान्छे जन्मिदा जीतेर जन्मिन्छन् तर मर्दा हारेर । जन्मिदा म भएर जन्मिन्छ र मर्दा पनि म नै मर्ने हुन् । न साथ कोही आए, न साथ कोही जाने छन् । उसो भए “म” भएर मेरो इच्छा बाँच्न किन नपाउने भन्ने कविको दुखेसो यो कवितामा पाइन्छ । ममा रहेको नैशर्गिक अधिकार “शुरुवातमा सास नलिनु र अन्त्यमा सास नछोड्नु” मात्रै हुन् त त्यसैले कवियत्री मनको वह पोख्नु हुन्छः

म बाट शुरु भई

म मा नै अन्त्य हुने मानव जीवनलाई

“म” भएर बाँच्ने न समय छ, न अधिकार ।

कवियत्री अझ अगाडी बढ्दै “मेरा कोरिएका परिचयहरु” मा परिचय खोज्न पुग्नुहुन्छ र चित्तबुझ्दो परिचय कतै नभेटेपछि पोख्न पुग्छिन् मनका उल्झनहरुः

“म कस्तो थिएँ र कस्तो छु,

अनि म कस्तो छुँ र कस्तो देखिन्छु,

सायद, म कस्तो देखिन्छु भन्ने कुरा म आफै जान्दिनँ,

सायद, म देखिनुमा होइन, हुनुमा मात्र जीवित छुँ ।”

अर्को गतिशील र उर्जाशील कविता “थाकेर सुस्ताउने विकल्प नै छैन” ले प्रगतिको पथमा लम्कँने जो कोहीलाई थाकेको वहानामा सुस्ताउने अधिकार दिएको छैन । जवसम्म अन्तर्मनमा उर्जा छ तवसम्म बाहिरी तत्वले र शारिरिक थकानले लक्ष्यप्राप्तिलाई छेक्न सकिदैन । त्यसैले मेरो प्रगतिलाई मैले नै रोक्ने हुन्, तर त्यो म कतापि हुन दिन्न ।

प्रत्यक मान्छेको स्वतन्त्रताको परिधि हुन्छ । त्यो परिधिभित्र आफ्नो संसार सझाउँछ । मनले कहिले–काही त्यो परिधिभन्दा परको संसारको पनि कल्पना गरेको हुन्छ तर त्यो परिधि र बन्धन तोड्न सकिरहेको हुँदैन । त्यहीँ साँघुरो दायराभित्र समयले श्रृजना गरेको अनेक नाटकहरुमा आफू पात्र भई नाटक मञ्चन गरिरहँदा निस्केको असन्तुष्टिको छाल “झ्याल बाहिरको त्यो पर्खाल” मा पाइन्छ ।

संग्रहको नाम दिन सफल कविता “भोलि कोही नआउन्जेसम्म” अनेक रुप, रङ्ग र परिधिभित्र अनेक कथा र ब्यथामा रुमलिएका मानिसको भोगाईलाई मात्र जीवन भन्ने हो भने मानिसको जीवन पूर्ण छैन । भौतिक धनसम्पतिबाट प्राप्त क्षनिक खुशीलाई जीवनको आनन्द ठान्ने हो भने जीवनको उपलब्धि शुन्य हुन्छ । त्यसैले यो भौतिक संरचना, दुःख सुख र स–साना अस्थाई खुशीहरुले आत्मिक र स्थाई सुख दिनेवाला छैन । यी सबै कुराहरुमा आफूलाई दुःखी बनाएर बस्नुभन्दा विर्सिदिनु बेश हुन्छ । हुन सक्छ आनन्दको बाटो देखाउन भोलि कोही आउन सक्छ, त्यो यात्रा आध्यात्मिक पनि हुन सक्छ ।

त्यसैले,

भोलि कोही नआउन्जेलसम्म

उज्यालो देख्ने आँखा, सास फेर्ने हावा,

सपना देख्ने मन अनि भविष्य बुन्ने मस्तिष्कलाई

कतै धितो राखी,

ब्याजमा पाएका पलहरु बाँचौं बरु ।

आजको मानिसको दिनचर्या घडीको सूई जस्तै छ । गोलाकार परिधिभित्र घुमिरहनु उसको धर्म र कर्म दुवै हुन् । त्यस्तै मान्छेको जीवन पनि रात र दिनको गन्तिमै वितेको छ । म र मेरो अस्थित्व खोज्ने फुर्सैद मान्छेमा छैन । मानौं मान्छेलाई कुनै तत्वले अरुकै करकापमा उसैको इच्छा मुताविक चलाई रहेकाछन् । यस्तै अनुभूति बोकेको कविता हुन् “मेरो दिनचर्या ।”

“यो भागदौडको जीवनमा

थुप्रैलाई उछिनेर धेरै अघि पुगिएछ

फर्केर हेर्दा,

सँगै दौडिएकाहरु कोही देखिएनन्,

सायद दौड छोडेर भागे कोही,

मेरो गति देखेर फर्किए कोही,

हुनसक्छ दौडमा पहिलो हुनुमात्र उद्देश्य थियो कसैको । ।”

यी कविताले मानिस भौतिक सुख सुविधाको लागि सबथोक त्यागेर अस्वस्थ प्रतिस्पर्धा गर्छन् । अनैतिकता, भ्रष्टाचार र अशान्ति जस्ता मानव विरोधी तत्वहरुको भागदौडको प्रतिस्पर्धामा जितेर के सन्तुष्टि मिल्छ र ? आखिर मरेर कसैले केही लान सक्ने होइन । त्यसैले मैं खाउँ, मैं लाउँ र मैं मात्र बाँचौं भन्ने भावना त्यागेर सहयोगि मन लिएर जीवन बाँच्न सक्नु नै मानवता हो भन्न खोजेको माथिका कविता उत्कृष्ठ लाग्यो ।

“नियतिको कथा”जीवन र जिन्दगी बिचको सम्झौतामा जीवन गुज्रिरहेको हुन्छ । जब बाँच्नुको अर्थ, उपलब्धि र शार्थकताको बहीखाता पल्टाउँने बेला आउँछ तव सबै हिसाब शुन्य मात्र देखिन्छ । समयले नेटो काटिसकेको बेला होस् खुलेर फेल भएको उत्तरपुस्तिका बारम्बार दोहोर्याएर पढ्नुको अर्थ छैन भन्ने सन्देश यस कवितामा पाइन्छ ।

प्रगतिको पथमा लम्कने जो कोहीले वाधा र अवरोधसँग कुनै गुनासो राख्दैन । यात्रा जतिसुकै अप्ठ्यारो र अडचन किन नहोस् दृढआत्माविश्वासका साथ लक्ष्यनिर्धारण गरेर अघि बढेको योद्धलाई लक्ष्यमा पुग्न केहीले छेक्दैन भन्ने सन्देश बोकेको कविता हो “बाटोसित गुनासो छैन ।”

मायाको मापदण्ड यसै हो र यतिनै हो भनेर नाप्न वा तौलन सकिदैन । कुनै स्पर्श र व्यक्त गरिएको सम्बोधन मात्रै पनि मायाको मापदण्ड होइन । दुईआत्माको स्वीकारोक्तिमा मनदेखि मनसम्मको दूरी नै मायाको मापदण्ड हो “मायाको मापदण्ड” कवितामा भनिएको छ ।

“कथाको एक्लो पात्र” कवितामा जीवन एउटा रङ्गमञ्च हो र हाम्रो भोगाई रङ्गमञ्चमा मञ्चन गरिएको कथा हो भने सोयं व्यक्ति ती कथाका पात्र हुन् । आफ्नो जिन्दगीको कथामा आफू सोयं मूल पात्र वा हिरो हुनुपर्दथ्यो तर त्यो हुन नसिएको र मानौं कथाको निर्देशक अरु कोही छन् जस्ले हामीलाई उस्को मतलवमा चलाईरहेका छन् । म त एउटा निमित्त पात्र मात्रै हुँ जहाँ मेरो रोल सकिन्छ र जुनैबेला ती कथाबाट बाहिरिन सक्छु भन्ने आध्यात्मिक चेतनायुक्त भाव यो कवितामा पाइन्छ ।

त्यस्तै “घाऊले दुख्नै पर्छ” मनसँग सम्बन्धित छ, मन सबैको उस्तै हुन्, सबैको मन दुख्छ, सबैलाई खुशी पनि लाग्छ, पीडा पनि हुन्छ । त्यसैले आफ्नै जस्तो मन सम्झेर अरुलाई ब्यवहार गर्नुपर्छ भन्ने सन्देश कविताले बोकेको छ । कवियत्रीको अर्को कविता “तिम्रो एकलौटी जीत” मनको चाहना अशिमित छ र चाहनाले सिंगो जीवन डोहोर्याउन खोज्छ । तर त्यो चाहना मात्रै जीवन होइन । त्यसैले मनको चाहनाहरुको हट रोकिनुपर्छ भन्ने भाव छ कवितामा । “दृष्टिभ्रम” अर्को सन्देश मुलक कविता हो, जसमा तिमी अरुलाई पनि आफै जस्तो नठान, दृष्टिकोणले दृष्टि फरक पार्ने हो दृष्य होइन । जिन्दगीको यात्रा अघि बढिसकेको हुन्छ तर कतिपया चिजहरु धेरै पर छुट्टेका हुन्छन् । अञ्जुलीबाट चुहिएको पानीको थोपा फेरी संगाल्न सकिन्न तर पनि प्यास लाग्दा ती पानीका प्रत्यक बुँधहरुको याद आउँछ “मनका अपूरा हिस्सा” कवितामा । कवियत्री बहकिन पुगेकि छ “चेप्टो पृथ्वी” मा । समानताको ओकालत गरेको कविता जस्तो लाग्छ यो । सामाजिक संजालले मान्छेको संबेदनालाई लोभ पारिसकेको र फोनको बार्तालाप केवल समय पास गर्न र एकले अर्कोको आवाज सुन्नमा मात्रै प्रयोग भएको छ तर वार्तालापको अर्थ र उद्देश्य कसैले आवश्यक नठानेको तर्फ ईंकित छ “फोनको वार्तालाप” । त्यस्तै आफ्ना आमा–वुबा प्रति सन्तानले गर्नुपर्ने कर्तव्यको बोध दिलाएको कविता “अवेर नगर” उस्तै शिक्षाप्रद छ ।

कवियत्री श्रृजना श्रेष्ठको मन अनेक विम्व र प्रतिविम्वमा ठोकिन पुगेका छन् । उहाँको मस्तिष्क एउटा ब्रम्हाण्ड जस्तो र अनुभूतिहरु कतै वायु, कतै समुन्द्रको छाल त कतै मरुभूमि, कतै प्रयोगशाला त कतै सन्तमहात्म जसरी शान्तिको यात्रमा यात्रारत छन् । “तिनलाई मान्छे भनिन्छ रे, फरक छुट्याउको खेल, नजिक हेर्ने चश्मा, देवीको उपमा, सहयात्री, विगतसितको समन्वय” जस्ता कविताहरुले जन्मदेखि मृत्युसम्म मानिसले भोग्नुपर्ने अनेक भोगाई, सम्बन्धहरुको सिमा, नारी हुनुको खुशी अनि विस्मादका अनेक रङ्गहरुको चर्चा गरेको पाइन्छ । उस्तै “तिमी त कामकाजी महिला” मा कामकाजी महिलाले भोग्नुपर्ने ब्यवहारिक, शारिरिक, मानसिक क्रनदनको सही ब्याख्या गरिएको छ । आफ्नो आकांक्ष्य, इच्छा, चाहना सबै के को लागि र कस्को लागि त्यागेर जीवन विताए त्यस्को न कदर, न मूल्याङ्कन, न सहानुभूति । तर पनि चुपचाप स्वीकार्नु, कुनै कुरामा आपति र गुनासो नहुनुमा नारी सहनशीलताको प्रमाण हुन सक्ने तर्फ “नसोधिनुमा आपति किन रहेन ?” कविताले इंकित गरेको छ ।

माया गर्नु र मन पराउनु विल्कुलै फरक कुरा हो । माया त सजिव, निर्जीव सबै वस्तुलाई गरिन्छ तर माया गरेको सबैलाई मन पराउँछु भन्नु मूर्खता हो ।

त्यसैले,

तिमीलाई माया गर्छु तर मन पराउँदिन म,

मन परेकाहरु सबैलाई माया गर्दिन म ”

यो विवशता होइन, वाध्यता पनि छैन माया गर्ने सबैलाई मन पराउनुपर्छ भन्ने ।

कसैले भनेका थिए, “म नमरेसम्म तिमीलाई विधवा हुन दिन्न” । कस्तो बाचा र कसम हो यो ? त्यस्तै नारीलाई “सौभाग्यवती भए” भनेर दिएको आशिष न्यायसँगत कसरी भयो ? त्यो त सिधै तिम्रो श्रीमान्को आयु लामो होस् भनेर श्रीमान्लाई दिएको आशिष होनी । उसो भए नारीलाई दिने आशिषनै बनेको छैन त ? “आशिर्वचनमा पनि किन विभेद ?” नारी विभेदको शिकार कहिलेसम्म ?

मौन सहमति आफू निरिह हुनुको प्रमाण हो । समन्वय र समझदारीको बाटोबाट आफ्नो अस्थित्व जोगाउनु पर्छ । नारी स्वतन्त्रता र विद्रोहको कुरा गरेको होइन, सहअस्थित्वको माग र पहिचान मात्र खोजेकी हुँ भन्ने सन्देश हो “मौन सहमति” ।

“रद्द भएको उडान, पटक पटकको विदाई, आगामी आध्यायहरु, टीठ लाग्दो अवस्था, कार्यतालिकामा बाँधिने जीवन, फोनको घण्टी, धागो चुँडिनु भएन, केही कोरा, केही नखारिएका अनुभूति, अनजान ठाउँ, अपरिचित गाउँ” जस्ता कविताहरुले जीवनको यर्थात भोगाई र परिघटनाहरुले सिर्जीत परिस्थितिहरुसँग सम्झौता गर्दै बाँच्नुपर्ने जीवनका अनेक आलापहरु बोकेका छन् ।

“फुर्सदको समय, अन्धो माया, झुठो मायालु, त्यो विगत पुनः बाँच्ने रहर, गरिबीले जिस्काउँदै गर्दा, प्रश्न गर्ने अधिकार, वरदान माग्ने एउटा कुरा, बराबरीको नारा, फरक रङ्गको सम्मिश्रणले बनेको चित्र” जस्ता कविताहरुले कवि मान्छेको मनभित्र र मान्छेको ब्यथाको पनि पीडाभित्र पुगेको देखिन्छ । सामान्य मान्छेको मनले कल्पना गर्न नसकिएको ठाउँ र वस्तुस्थितिको उजागर गर्न सक्नु नै कविको विशेषता हो । यसमा कवियत्रि सफल देखिन्छन् ।

कति त्यस्ता पलहरु हुन्छन् जुन बारम्बार आउदैन तर वितेको ती पलहरु बर्तमानमा मनका कुनै कुनामा अपशोच बनेर बसिरहन्छन् । यस्तै अपशोच बोकेका कविता हुन् “मैले अनुभूत गर्न नपाएका पलहरु” ।

मान्छेको प्रत्यक पल एउटा परिक्षा हो । प्रत्यक परिक्षाले फरक फरक चुनौती लिएर आएको हुन्छ । जिन्दगीको परिक्षामा के कति सफल भए र के कतिमा असफल भए भन्ने कुराको लेखा–जोखा सायद कतै हुन्छ होला । तर आफ्नो जीवनको आफैले मूल्याङ्कन गरी आफैले अङ्क दिन पाए कति दिन्थे होला ? यसको उत्तर खोज्न कविता पढ्नै पर्ने हुन्छः

हरेक नयाँ परिक्षा

फरक चुनौती लिएर आउँछ

सायद सबैको हाल मिल्दोजुल्दो छ

प्रिक्षा सकिएपछिको मीठो निन्द्राको प्रतिक्षा सबैलाई छ

तर परिक्षा सकिने नामै लिँदैन ।

अन्त्यमा,

मैले कति बुझेँ भन्ने कुरासँग अर्थ राख्दैन, मैले कति अनुभूति गरेँ भन्ने कुराको महत्व हुन्छ । कवियत्रीको वर्षौंको अनुभव र अनुभूतिहरुलाई मैले केही समय खर्चेर केही शब्द कोर्दैमा समिक्षा हुने पनि होइन । यो त पाठक विचार मात्रै राखेको हुँ । समिक्षक त आम पाठक वर्ग हुन् जसले यो कृतिलाई पढेर केही अनुभूति गर्न सक्छ र थोरै भए पनि जीवनको क्यानभासमा रङ्ग भर्न सक्छ । बरिष्ठ साहित्यकारद्वया प्रा.शिवगोपाल रिसाल र कालीप्रसाद रिजालज्यूले सम्मति लेख्नुभएको कृतिमा मायाप्रेम, कोमलता, क्रोध, शितलता, आवेग, अशन्तुष्टि, जीवन र जगतका अनेक विषय वस्तुलाई समेट्न खोजेका छन् । सिंगो ब्रह्माण्डलाई हातकेलाले छेक्न त सकिन्न तथापि केही अपुग र अधुरो त जहाँ पनि रहन्छ नै । कविताहरु पढ्दैजाँदा कविताभित्र हराए झैं लाग्छ । बहुसंख्यक कविताहरु अमूर्त छन् जस्को तात्वीक अर्थ खोज्न निकै मेहनत गर्नुपर्ने देखिन्छ । प्रा.डा.श्रृजना श्रेष्ठको “भोलि कोही नआउन्जेसम्म” सरसर्ती पढिसकेपछि केही भन्न मनलाग्नु सच्चा पाठकको धर्म भएकोले केही खट्केको कुरा समावेश गरेको छु । जस्तो कविताहरुमा बढी असन्तुष्टि, कारुणिकता, निराश भएर अन्तर हृदयमा उठेका ज्वारभाटा पोखे जस्तो लाग्छ । नकारात्मकतालाई बढी जोड दिँदा सकारात्मकता लोप भएको हो कि भन्ने भान भयो । नारी भएकोमा र असमानताको क्रन्दन बढी छन् । जीवनमा असन्तुष्टिका तुषहरु बढी देखिन्छन् । प्रेमका कुरा त छन् तर प्रेमिल देखिन्न, लेखनमा क्रान्तिका कुरा छन् तर क्रान्तिकारी देखिन्न । युवापुस्ताको हुटहुटी, प्रेरणायुक्त उत्प्रेरणाका विषय, भविष्य प्रति आशावादी जस्ता विषयहरुमा कवि चुक्नुभएको देखिन्छ । आगामी कृतिहरु अझ मनमोहक र आक्रमक आओस् भन्न चाहन्छु । अन्त्यमा यति सुन्दर ग्रन्थ पाठकलाई उपहार दिनुभएकोमा लेखिकालाई हार्दिक धन्यवाद तथा बधाई दिन चाहन्छु । साथै लेखकीय कार्य निरन्तर अघि बढिरहोस्, मेरो शुभकामना ।

लेखक : प्रा.डा. श्रृजना श्रेष्ठ,

पुस्तकको नाम : भोलि कोही नआउन्जेसम्म

विधा : कविता

प्रकाशक : आरसी श्रेष्ठ

आवरण : सविना श्रेष्ठ

प्रकाशन वर्ष : विसं २०८०

मूल्य : रु ५००।–

मुद्रक : चान्सर प्रिन्टर्स, काठमाडौं

सम्पर्क : जावलाखेल, ललितपुर

मो. ९८४१२३८६२९

लेखक तामाङ कवि तथा गीतकार हुन् ।