काभ्रेपलाञ्चोक – नेपाली गीत लेखन क्षेत्रमा डब्बु क्षत्री स्थापित नाम हो । लामो समयदेखि गीत लेखनमा सक्रिय उनले आफ्नो गीति लेखन यात्रा चलचित्रको गीतबाट सुरु गरेका हुन् । स्कुले जीवनमै गीत लेखेर पत्रपत्रिकामा प्रकाशन गरेका स्मरण उनीसँग छ । चलचित्रसँगै उनले आधुनिक, पप, लोक, लोक दोहोरी, राष्ट्रिय भावको गीत, सन्देशमुलक गीत तथा गजल लेखिसकेका छन् । तथापि उनी गीति विधामा पनि विशेषत ‘गजल गीतकार’को रुपमा स्थापित छन् । आफ्नो गीत गजलबाटै राष्ट्रिय स्तरका ‘म्युजिक खबर म्युजिक अवार्ड’, ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’, राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम), नेपाल म्युजिक एन्ड फेशन अवार्ड, क्वालिटी इन्टरटेनमेन्ट अवार्ड सहित उनले विभिन्न अवार्ड हाँसिल गरिसकेका छन् । डब्बु क्षत्रीले लेखेका ६ दर्जन भन्दा बढी गीतहरु हालसम्म रेकर्ड भईसकेका छन् । उनका एक दर्जन गीति एल्बम पनि श्रोतामाझ आईसकेको छ । जसमा करिब एक दर्जन त गजल मात्रै छन् । ‘झरी’ उनको झरी सम्बन्धी आधा दर्जन गजलको एकल सँग्रह हो । यिनै गीतकार क्षत्रीसँग नेपाली गीत संगीतको बारेमा नव क्षितिज साप्ताहिकका लागी अरबिन्द्र गौतमले गरेको समसामयिक कुराकानी

० नेपाली गीत संगीतको बजार अहिले कस्तो छ ?
कोरोना नेपाल भित्रनु अघि गीत संगीतको बजार निकै राम्रो थियो । तथापि कोरोनाको महामारी कम भएसँगै गीत सँगीतको बजार फेरी बढीरहेको छ । राम्रा गीत आउने क्रम बढेको छ । म्युजिक भिडियोको निर्माण क्रम पनि फेरी फस्टाएको छ ।

० गीतबाट नेपालमा कमाई चैं कस्तो छ नी ?
नेपालमा गीत गाएरै तथा गीतमै सँगीत गरेर बँगला, गाडी जोडेका थुप्रै कलाकारहरु छन् । एउटै गीतमा सँगीत गरेको एक लाख रुपैयाँसम्म पारिश्रमिक लिनेहरु पनि यहाँ छन् । अझ एउटा गीत गाएको पारिश्रमिक दुई लाख रुपैयाँसम्म लिने गायक गायिकाको पनि कमी छैन । त्यसैले चलेका गीतकार, गायक, गायिका, सँगीतकारको नेपालमा कमाई निकै राम्रो छ । अझ गायक गायिकाको कमाई त स्टेज कार्यक्रमबाट पनि त्यत्तिकै हुने गरेको छ ।

० तपाईको चैं गीत लेखनबाट कमाई कस्तो छ ?
अबस्य राम्रो छ । गीत लेखेको यती नै पैसा भनेर मैले तोकेको छैन । गायक गायिकाहरुले माग्नु भए अनुसारको गीत लेखेर दिँदा उहाँहरुले राम्रो पारिश्रमिक दिने गर्नु भएको छ । अर्को तर्फ आजकाल सम्बन्धित गीतको रोयल्टी तथा म्युजिक भिडियो बापत विभिन्न कम्पनीबाट आउने शेयर पनि राम्रो छ । भिडियो प्लेटफर्म तथा डिजिटल प्लेटफर्मबाट पनि राम्रो कमाई हुने गरेको छ ।

० तर नेपालमा गीत सँगीतको रोयल्टी राम्रो रुपमा पाईँदैन भन्ने श्रष्टाहरु कै गुनासो छ त ?
सँगीत रोयल्टी सँकलन समाज नेपाल (एमआरसेसन)ले तीन दिन अघि मात्र काठमाडौंमा एक समारोहबीच आफ्ना गीतकार तथा सँगीतकार सदस्यहरुलाई रोयल्टी प्रदान ग¥यो । बिगत ४ वर्ष यतबाट नेपालका रेडियो, टेलिभिजन स्टेशनहरु, विभिन्न यातायातका साधनहरु, रेष्टुरेन्ट, होटल, विभिन्न कन्सर्टहरु, रियालिटी शोहरु आदिमा गीत बजेबापत उठाईएको रोयल्टीको रकम यतीबेला एमआरसेसनका सदस्यहरुलाई प्रदान गरिएको हो । नेपालमा पनि पछिल्लो समय यसरी रोयल्टी राम्ररी उठ्ने गरेको छ । बिदेशी डिजिटल प्लेटफर्ममा बज्ने गीतहरुको शेयर त हामीले यस अघि नै पाउँदै आएका थियौं । तर यसपटकबाट नेपालमै विभिन्न कार्यक्रममा बज्ने हाम्रो गीतहरुको रोयल्टी पनि प्राप्त गर्न थालिएको छ । यो अबस्य पनि सुखद खबर हो ।

० तपाई सबै प्रकारका गीत लेख्नु हुन्छ । तथापि गजल विधामा तपाईको सक्रियता बढी हुनुको कारण ?
राम्रो प्रश्न गर्नु भयो । मैले स्कुले जीवन देखि नै गजल लेख्दै आएको हुँ । नेपालमा गजलका फरक श्रोता तथा पाठकहरु छन् । मैले सुरुका दिनमा धेरै चलचित्रमा गीत लेखेँ । चलचित्र चट्टानको मुसुमुसु, पापी मान्छेको चन्चले आँखा मेरो, हामी साथी भाईको कहिले बोल्यौ ओठले, लभ इन चाईना बोडरको हिमाललाई जस्ता मैले लेखेका कैयौं गीतहरु हिट भएका छन् । बलिउडमा स्थापित उदितनारायण झा, दीपा झादेखि नेपालका कैयौं लोकप्रिय गायक गायिकाले चलचित्रमा मेरो गीत गाईसक्नु भएको छ । तथापि मेरो रुची गजल तर्फ थियो । बिन्ध्यवासिनी म्युजिकले ८ वर्ष अघि जुगल डँगोलको एकल सँगीतमा मेरो झरी सम्बन्धि ६ वटा गजलको सँग्रह ‘झरी’ श्रोतामाझ ल्यायो । यो सँग्रहका गजललाई श्रोताले अत्याधिक मन पराउनु भयो । सँग्रहको गजलले त्यतिबेला विभिन्न राष्ट्रिय अवार्ड पनि हाँसिल ग¥यो । त्यसपछि मेरा गजलहरुको माग अरु सर्जकहरुमाझ बढ्यो । अर्को गीति एल्बम ‘गुलाबी स्वरहरु’मा पनि मेरा केही गजलहरु आए । दोश्रो सँग्रहको गजल पनि दर्शकको रोजाईमा पर्यो । त्यसपछि क्रमश म गजल तर्फ बढी सक्रिय भएँ । यद्यपी गजलसँगै बाँकी अरु जनराका गीतहरु पनि लेख्दै आएको छु । ती गीतहरु श्रोतामाझ आईरहेका छन् ।

० गीत सँगीतमा आफ्नो भविष्य कस्तो देख्नु भएको छ ?
यो क्षेत्रमा भविष्य राम्रो भएकाले म गीत लेखनमा आएको हुँ । एक दशक अघि नेपाली गीत सँगीतको फिजिकल बजार थियो । त्यतिबेला प्रत्यक्ष रुपमा क्यासेट तथा सिडी बिक्री हुन्थ्यो । अहिले फिजिकलसँगै डिजिटल बजार मौलाएको छ । आफ्नो गीतहरु विश्वका कुन कुन प्लेटफर्मबाट कति बिक्री भयो भनेर हेर्न समेत पाईने भएको छ । त्यसैले गीत सँगीतबाट म पूर्ण रुपमा सन्तुष्ट छु । यो क्षेत्रबाटै गीतकारको रुपमा लोकप्रिय हुनपाउँदा मलाई निकै खुसी लागेकोछ ।

 

 

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..