भक्तपुर/सुर्यविनायक नगरपालिका वडा नं. ९ भाते ढिकुरमा अवस्थित मदरल्याण्ड स्कुलले अभिभावकलाई सचेतना दिएको छ ।
सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा बदलिँदो परिस्थिति तथा कोभिड १९ को महामारी पश्चात् बालबालिकामा देखिएका विविध परिवर्तनका सन्दर्भ समेटेर ‘अनुकरणीय अभिभावक एवम् सतेतता’ विषयक अभिमुखिकरण–२०७८ कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि थापाले अहिले सबैलाई रिजल्ट मात्र चाहिएको बताए । नगर प्रमुख थापाले शिक्षा क्षेत्रमा सोचे जस्तो रिजल्ट निकाल्न ठूलो मेहनत गर्नुपर्ने बताए । थापाले असल मान्छे बन्न शिक्षाको मुख्य भुमिका रहने बताए ।पछिल्लो समय कोभिडका कारण शैक्षिक क्षेत्र मारमा रहेकोले अब शैक्षिक क्षेत्रमा नयाँ सोचका साथ अघि बढ्नुपर्ने थापाकाे भनाइ थिए ।
यस्तै सुर्यविनायक नगरपालिका वडा न. ८ का वडा अध्यक्ष तथा समाज विकास समितिका अध्यक्ष किरण थापाले शैक्षिक गुणस्तरका लागि अभिभावकको पनि उतिकै जिम्मेवारी रहने हुँदा अभिभावकले पनि आफ्नो जिम्मेवारी भुल्न नहुने धारणा राखे । वडाध्यक्ष थापाले अनलाइन क्लास दुरुपयोग भएको छ कि सोच्न जरुरी रहेको बताए । उनले आफ्ना बालबालिकाले अनलाइन क्लासको उपयोग गरे नगरेको ध्यान दिन आवश्यक रहेको बताउँदै अभिभावकले विद्यालय नगए नि पास भन्ने सोच त्याग्नुपर्ने बताए । थापाले अभिभावकले आफ्ना बालबालिकाको गतिविधिमा चासो राख्नुपर्ने बताए ।
कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष समेत रहेका मदरल्याण्ड स्कूलका संस्थापक प्रिन्सीपल संजय खड्काले अभिमुखिकरण कार्यक्रममा स्वस्थ र सफल जीवनका लागि सकारात्मक सोचको विकास गर्न फलदायी हुने बताउँदै अभिभावकले पढपढ मात्र भनेर दवाव दिनुभन्दा घरबाट नै असल संस्कारको विकास गराउदै अभिभावकले बालबालिकाहरुको हरेक कुरा सुनेर साथीको व्यवहार गरी उनीहरुको मनोभावना अनुसार बालबालिकालाई गलत बाटो लाग्नबाट जोगाउन अभिमुखिकरण कार्यक्रम आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा प्रिन्सीपल खड्काले सरकारले अक्षरांक प्रणाली हटाएर ३५ प्रतिशत नकटाउने विद्यार्थीलाई फेल गराउने नियम लागु गर्न लागेकोमा विरोध जनाए । यसो गर्नु विद्यार्थीको अधिकारको हनन भएको खड्काको आरोप थियो । उनले बालबालिकालाई आफ्नो अधिकारबाट कुण्ठित गर्न नहुने धारणा राखे । शैक्षिकका साथै हरेक अतिरिक्त क्रियाकलाप तथा प्रतियोगितामा राष्ट्रीय एवं अन्तर्राष्ट्रीय पदक समेत जित्न सफल मदरल्याण्ड स्कुलले आगामी दिनहरुमा अभिभावकको पहिलो रोजाईको स्कुल बनाउने योजना रहेको प्रिन्सिपल खड्काले बताए ।
एन प्याव्सन भक्तपुरका अध्यक्ष समेत रहेका खड्काले आउने शैक्षिक वर्ष २०७९ देखि नेशनल प्याव्सन भक्तपुर अन्तर्गत ‘पूर्व प्राथमिक तह स्तरोन्नति’ कार्यक्रम मदरल्याण्ड स्कुलमा लागु गरी पूर्ण रुपमा मन्टेश्वरी पद्धतिमा अभिभावकको आर्थिक क्षमतालाई पनि ध्यानमा राखी संचालन गर्ने बताए । ४ कोठा घर लिएर खेल्ने सामग्री देखाउँदै किड्स तथा मन्टेश्वरी स्कुलको नाममा अत्यधिक शुल्क लिएर अभिभावकहरुलाई मार पारेको बताउदै खड्काले यस तर्फ अभिभावक सचेत हुनु पर्ने धारणा राखे ।
कार्यक्रममा महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी उपरीक्षक शिव कुमार श्रेष्ठ तथा प्रहरी निरीक्षक शशी शर्माले वर्तमान अवस्थामा लागू औषध सम्बन्धि अपराध, असर, प्रभाव, यूवा लागु औषध दुव्र्यसनीमा साइबर क्राइम, सामाजिक संजालमा व्याप्त विकृति बारे प्रस्तुतिकरण दिएका थिए भने मोटिभेटेशन स्पिकर लाइफ कोच डिआर पराजुली म्याग्नेटले बालबालिकाको अवस्था र अभिभावकको दायित्व बारे प्रस्तुति दिएका थिए ।
यस्तै फोनिक्स मण्टेश्वरीका संचालक रिता घिमिरे तिमल्सिनाले महँगो फि हुँदैमा गुणस्तरीय शिक्षा नहुने हुनाले अभिभावकहरुले आफ्ना बालबालिकाको गुणस्तरीय शिक्षा र उज्वल भविष्यका लागि महँगो फि भएको स्कूल गुणस्तरीय हुन्छ भन्ने अवधारणा त्याग्नुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा समपन्न कार्यक्रममा विद्यालयकी संचालिका शर्मिला देउजा, फोनिक्स मण्टेश्वरीका अर्का संचालक रिता आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य भिमेश्वर थापा लगायतको उपस्थििति रहेको थियो । कार्यक्रममा अतिथि गण सहित अभिभावक सहित ४ सय १४ जना सहभागी थिए । कार्यक्रम विद्यालयकी शिक्षिका सृष्टि कासुलाले संचालन गरेकी थिइन् ।