काठमाण्डौ– झण्डै दुई दशक देखी नेपाली गीत संगीतमा सक्रिय रुपमा लागि परेका गायक पुर्ण राईले नेपाली लगायत राई, तामाङ, नेवारी, कुसुण्डा, राउटे, धिमाल लगायत विभिन्न भाषा भाषिका सयांै गीतहरुमा स्वर दिईसकेका छन् । लामो समय देखी गायन क्षेत्रमा आफुलाई समर्पित गरेका राइका पहिलो भेट, निष्ठुरी मन, पारी पाखा, हल्का हल्का, भयो पर पर, म त जलेरै मर्ने मान्छे, देल्कम हेङ, विजमफुल विजमफुल, दुध कुण्डो बजार, सोलुखुम्बु कति रमाईलो, हाम्रो साझा हिमाल, मासिमि ताङकप्च्यो, बाँचौला संगसंगै, अमर छ जिन्दगी, माटोमै जन्मियौं, तिमी जस्तो छैन कोही, अब्दोष मोवो, आँखाको भाकामा लगायत गीतहरु सांगितिक बजारमा सर्वाधिक चर्चामा रहेका छन् । संसारकै अग्लो स्थानमा म्युजिक भिडियो निर्माण गरेर गिनिज बुकअफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल गायक राइ संग नव क्षितिज साप्ताहिकका लागि अरविन्द्र गौतमले गरेको कुराकानी 

गीत संगीत क्षेत्रमा यहाँको प्रवेश कहिले देखि भएको थियो ?
सानै देखी गीत संगीतमा रुचि राख्ने म स्कुले जिवन देखी नै गायकको रुपमा चिनिएको थिए । विद्यालय स्तरिय सांस्कृतिक कार्यक्रमहरुमा मेरा प्रस्तुतीहरु रहने गर्दथे । अव त्यो बेला गीत संगीत सुन्ने र प्रभाव पार्ने माध्यम भनेकै रेडियो नेपाल थियो । त्यसले पनि मेरो जिवनमा गीत संगीतमा लाग्नको लागि निकै नै प्रभाव पारेको हो । स्थानिय क्षेत्रमा सिमित मेरो सांगीतीक यात्राले सन २०५९ साल देखी मात्रै औपचारिकता पाएको हो ।

कलाकारितामा प्रवेशताका संघर्षका दिनहरु सम्झदा कसरी सम्झनु हुन्छ ?
गाउको विद्यालय सम्मको पढाई पश्चात उच्चशिक्षाका लागि राजधानी आए । त्यसपछि धेरै संघर्षको दिनहरुको सुरुवात भयो । एक सामान्य परिवारको व्यक्तिले शहरमा आफु जिउने पढ्ने र त्यो संगै औपचारिक रुपमा साश्त्रीय संगीतको अध्ययन शुरु गरेको थिए । सिकाइको क्रममा दुबैतिर लगानी र समयको चौनौतीहरु थिए । ति लगानीको दाजोमा आय ज्यादै न्युन थियो । त्यसैले ती चुनौतीपुर्ण दिनहरु सम्झदा आजको स्थान सम्म आईपुग्नु वास्तवमा मेरो कल्पना बाहिरको संसार नै थियो । अहिले फर्केर हेर्दा विगतको संघर्षले थप बल मिल्छ र एउटा शिक्षाको रुपमा विगतको संघर्षलाई ग्रहण गरेको छुं । किन कि ति संघर्षको दिनहरुमा म कहि आत्तिएको हुन्थे भने एक सफल कलाकार बन्न्ने सपनालाइ अनेकौं चुनौतीहरुले जित्थ्यो होलान् । र सायद म पनि त्यो परिचय दिन र बन्न सक्ने अवस्थामा हुन्नथे होला । समग्रमा अझै पनि अघि बढ्नको लागि म मेरो विगतको संघर्षबाट शिक्षा र साहस लिने गर्दछु ।

तपाइले त देशविदेशमा थुप्रै स्टेज कार्यक्रमहरु गरिसक्नुभएको छ, आर्थिक र भौतीक रुपमै आनन्द मिलेको कार्यक्रम कुन हो ?
कार्यक्रमहरु असंख्य रुपमा गरियो । समयले साथ दिएसम्म गाउघर देखी देश–विदेश दुबैतिर पुगेको छुँ । अव म जस्तो एउटा कलाकारले यो वा त्यो कार्यक्रम राम्रो र नराम्रो भनेर श्रेणीबद्ध हेर्न मिल्दैन सबैको उदेश्य राम्रैको लागि हुन्छ । त्यस मध्य स्मरण गर्न लायक कार्यक्रमको रुपमा स्वीजरल्याण्डमा भएको कार्यक्रम पनि एउटा हो । त्यो कार्यक्रम त्यहाँको स्थानिय कम्युन (सरकार) ले आयोजना गरेको कार्यक्रम थियो । जुन कार्यक्रमको संयोजन प्रश्न राईले गर्नुभएको थियो । उहाँ आफैमा एक बौद्धिक व्यक्ति जो स्वीजरल्याण्ड जस्तो सम्पन्न मुलुकमा पुर्ण रुपमा स्थापित भएर नेपालीहरुको एउटा हिरा नेतृत्वको रुपमा चिनिनुभएको व्यक्तिपनि उहाँको संयोजनले त्यो मेरो कार्यक्रम जिवनको विषेश रह्यो । जुन कार्यक्रममा आदरणीय प्रश्न राई ज्युकै निर्माणमा बनेको नेपाली पर्यटन विषयक डकुमेन्ट्रि शो पनि राखिएको थियो । अधिकांश स्थानिय स्वीजरल्याण्डबासीहरुले ज्यादै मनोरन्जन गरेको र मेरो प्रस्तुतीलाई सम्मान गरेको ऐतिहासिक अवसरको रुपमा सम्झन्छं ।

तपाइले त गिनिज बुक अफ वल्ड रेकर्डमा पनि नाम लेखाई सक्नु भएको छ, यस विषयमा के भन्न चाहानु हुन्छ ?
यो गिनिजबुक अफ वल्र्ड रेकर्डमा नाम लेख्नु सफल भएको सिलसिलामा पनि मेरो कलाकारिता संगै जोडिएको महत्वपुर्ण कर्म हो । मैले गिनिज बुकमा नाम लेख्ने समय सम्ममा १ दशक बढी समय गीत संगीत क्षेत्रमा विताई सकेको थिए । यो क्षेत्र आफैमा सिर्जनात्मक क्षेत्र भएकोले हाम्रो नेपाली गीत संगीतलाई कसरी बढी बृहत बनाएर लान सकिन्छ ? कुन माध्यमबाट विश्व बजारमा हाम्रा गीतलाई पुर्याउन सकिन्छ भन्ने चिन्तन स्वरुप हामीले सन २०१९मा विश्वको सर्वाधिक उचाई (१५,६४३.०४फिट) मा पहिलो पटक हाम्रो साझा हिमाल बोलको गीतको म्युजिक भिडियो निर्माण गर्दै यो विश्व रेकर्ड नेपालको नाममा दर्ज गर्न सफल भएका थियौं । त्यो एउटा महत्वपुर्ण सफलता पनि म कलाकार हुनुको नाताले मैले मेरो कलाकारिताबाटै संभव तुल्याउको छुं ।

तपाइलाई आफैले गाएका गीतहरु मध्य मन पर्ने गीत कुन हो ?
गीत संगीत क्षेत्रको लामो अनुभव भित्र सयौं गीतहरु रेकर्ड भएका छन् । त्यस मध्य म आफैले लाईभ स्टेज प्रस्तुतीमा एउटा शास्त्रीय संगीतको विद्यार्थीले क्षमता देखाउने गीतको रुपमा हल्का हल्का भन्ने बोलको गजललाई लिन्छु भने ऐतिहासिक गिनिज बुक अफ वल्ड रेकर्ड राख्न सफल राष्ट्रिय गति हाम्रो साझा हिमाल गीत मेरो जिवनको महत्वपुर्ण गीतको रुपमा लिएको छु ।

तपाईलाई मन पर्ने गायकगायिका, गीतकार र संगीतकारको नाम लिनु पर्दा ?
नेपाली गीत संगीतको क्षेत्र पनि अब महासागर नै बनिसकेको छ । यहाँ धेरै राम्रा सर्जकहरु छन् । अघिल्लो पुस्ताबाट नाम लिनुपर्दा भजन शिरोमणी भक्तराज आचार्य, स्वरसम्राट नारायण गोपाल, अरुणा लामा, गोपाल योञ्जनको नाम छुट्याउन सक्दिन । पछिल्लो पुस्तामा अझ धेरै छन् गायक शिव परियार , स्वरुप राज आचार्य, विष्णु माझी, गीतकार त्रिविक्रम पाण्डे, प्रताप दाश लगायत धेरै छन् । जिवनकै महत्वपुर्ण प्राप्तिको रुपमा जोडिएको गिनिज बुकअफ वल्र्ड रेकर्डमा मैले गाएको गीत हाम्रो साझा हिमाल गीतको गीतकार, संगीतकार तथा निर्देशक माधव राज खरेल पनि मैले संझिरहने सफल सर्जक तथा निर्देशक हुन । सिमित समयमा धेरै राम्रा सर्जकहरुको नाम छुटेको छ तर सवैलाई मेरो सम्मान छ ।

गायकका रुपमा अवार्ड र सम्मानहरुको कुरा गर्नुपर्दा ?
कलाकारिताको क्षेत्रमा लागिसकेपछि नाम,दाम र अवार्ड सम्मान संगै जोडिएर आउने एउटा सिलसिला नै रहेछ । अवार्ड र सम्मानहरु धेरै छन् जस्तै नेशनल पावर न्युज म्युजिक अवार्ड २०१८ मा सर्वाेत्कृष्ट गायकको रुपमा अवार्ड पाएको थिए भने , बक्स अफिस म्युजिक अवाड २०१६ मा पनि सर्वोत्कृष्ट गायका रुपमा अवार्ड हात पारेको थिए । हिमालयन मा.वि सम्मान, खरिखोला मा.वि सम्मान, छायाछवी किर्तिमानी सम्मान, हिमालयन इन्टरनेशनल किर्तिमानी सम्मान लगायत दर्जनौ सम्मानहरु पाएको छु । ति अवार्ड र सम्मानहरुले थप रचनात्मक र सिर्जनात्मक कर्म गर्ने उत्साह र चुनौतीहरु मेरो लागी जोडिएका हुन भनेर ग्रहण गरेको छु. ।

भाविा योजनाहरु के के छन् ?
भावी योजना भनेको, म सम्पुर्ण रुपमा गीत संगीतमा डुबेको कलाकार हुँ । यो क्षेत्रमा मेरो ठुलो लगानी भईसकेको छ । अवको दिनमा अझ धेरै खोजमुलक गीत संगीतको लागि समय दिने योजना छ । हाम्रो बजार सस्तो लोकप्रियताको पछि लाग्दै गरेको छ । सस्तो लोकप्रियताले क्षणिक नाम र दाम मिल्न सक्छ तर दिर्घकालिन बन्न सक्दैन र विगतमा दैनिक ६ सात घण्टा सम्म साधनामा बस्थे त्यो क्रम अव गुणात्मक संगीतमा प्रयोग गर्ने योजना छ । जुन मेरो गुणात्मक गीत संगीतलाई सबै श्रोता दर्शकले नितान्त एक गुणात्मक सिर्जनाको रुपमा स्वीकारुन र अपनत्व ठानुन भन्ने चाहान्छु ।

अन्त्यमा
अन्त्यमा अहिले सम्म जे जति कोशीसहरु गरेर यहाँ सम्म आई पुगेको छु र जे जती गीत संगीत मेरो दर्शक श्रोताहरुलाई पस्किन सके त्यो सबै सहर्ष स्वीकार्नु भएको छ । जसका लागि सबैलाई धन्यबाद दिदै अझ बढी क्रियशिल रुपमा राम्रो शिर्जनाहरु निर्माण गर्दै जाने छु । समय र परिस्थितीले साथ दिएको खण्डमा अन्य विश्व किर्तिमान कार्यहरु संग जोडिने र रचनात्क तथा शिर्जनात्मक कार्यहरुमा पनि निरन्तरता दिने छु ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..