
काभ्रे । माघ २६, २०८२ नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमित लामाले जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका आधारभूत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेकपा एमाले प्रतिनिधिसभा क्षेत्र नं. १ समन्वय कमिटी काभ्रेले पनौतीमा आयोजना गरेको निर्वाचन केन्द्रित विस्तारित बैठक तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सडक, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, सञ्चारलगायत क्षेत्रको सन्तुलित विकासमार्फत जनताले महसुस गर्ने र सिंहदरबारसम्म नजर पुग्ने विकास गर्ने बताए।
उम्मेदवार लामाले नीति निर्माणदेखि कार्यान्वयनसम्म स्पष्ट दृष्टिकोण बोकेको पार्टी नै नेकपा एमाले भएको दाबी गर्दै, काभ्रे क्षेत्र नं. १ मा पार्टी पराजित भएपछि विकास निर्माणका गतिविधि प्रभावित भएको उल्लेख गरे। “ताला–चाबी अरूलाई बुझाएर भविष्य सुरक्षित हुँदैन,” उनले भने, “विकास चाहिने हो भने विकास गर्ने पार्टीलाई जिताउनुपर्छ।”
काभ्रे–२ मा एमाले विजयी भएपछि देखिएको विकास र काभ्रे–१ मा पराजयपछि आएको सुस्ततालाई तुलना गर्दै उनले आफ्ना भनाइ पुष्टि हुने बताए। एमाले नेता गोकुल बास्कोटाको नेतृत्वमा आठ वर्षको अवधिमा जिल्लामा विकासले उल्लेखनीय फड्को मारेको उनको दाबी थियो।
यसपटक काभ्रे–१ को समग्र विकास सुनिश्चित गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको बताउँदै लामाले विकास निर्माणलाई अभियानकै रूपमा अघि बढाउने प्रतिवद्धता जनाए। “काभ्रेको विकास अब रोकिन्न,” उनले उद्घोष गरे।
क्षेत्रीय संयोजक इन्द्रमान तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समानुपातिक उम्मेदवार इन्द्र तामाङ, पूर्व केन्द्रीय सदस्य रेशम लामा, नविना लामा, जिल्ला अध्यक्ष राजन भुर्तेल, उपाध्यक्ष देवसागर लामा, पूर्वमन्त्री तथा एमाले नेता चन्द्र लामा लगायतका नेताहरूको सहभागिता थियो। साथै पनौती, नमोबुद्ध, खानीखोला, तेमाल र चौंरीदेउराली गाउँपालिकाका पालिका कमिटी अध्यक्ष तथा एमाले नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।






