काभ्रेपलाञ्चोक, प्रवासमा रहेर पनी नेपाली सुगम तथा मौलिक गीत संगीतको क्षेत्रमा सक्रिय गीतकार हुन प्रमिला बस्नेत । गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद (एनआरएनए आइसीसी) क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले देश निमार्णको संकल्प , प्रेम गरौं , भंगेरी चरी , फर्कि आउ मेरो हजुर , घरि घरि , यो जिन्दगी , सेवा गरौ , बनकी चरी , रोधी बस्दा , एक पटकको नेपाली सधैंको नेपाली लगायतका गीतहरुलाई आम दर्शकको मनमा बस्न सफल गीतहरु हुन । उनका साँस्कृतिक चेतनाका गीतहरूले पनि अहिले बजार उत्तिकै आएका छन् । उनको गीतहरु नेपाल चर्चित गायक गायिकाहरुले पनी गाएका छन । उनै गीतकार प्रमिला बस्नेतसंग नव क्षितिज साप्ताहिको लागी अरविन्द्र गौतमले गरेको कुराकानीको एक अंश       

तपाईको गीति लेखन यात्रा कस्तो भैरहेको छ ?
साहित्यिक एवम गीत लेखनको यात्रामा सक्रिय रुपमा लागी परेको छु । मौलिक कला र सस्कृतिलाई झल्काउने किसिमका नयाँ काम गर्दै अगाडि बढ्ने सोचका साथ निरन्तर यसै क्षेत्रमा रहेकी छु । नयाँ कर्ममै आफुलाई सक्रिय बनाइरहेको छु । साहित्य क्षेत्रको माध्यमबाट केही नविनतम साथै भावी पिडिलाई आफनो कर्मको पथलाई अगाडी बढाएको छु ।

तपाईको विचारमा गीत लेखनको अवस्था कस्तो छ ?
गीतसंगीत साहित्य विधाको एउटा क्षेत्र हो । यो क्षेत्र पनि राज्यसत्ता भन्दा निरपेक्ष होइन । अहिलेसम्मको स्थितीलाई नियाल्दा राज्यको नीति प्रभावकारी देखिदैन । राज्यले अख्तियार गरेको नीतिले गीत लेखेरै जीवनयापन गर्ने स्थिती बनिसकेको छैन । सर्जकहरुको सिर्जनालाई राज्यले उचित मुल्याङकन नगरेको होकी जस्तो लाग्छ ।

राज्य व्यवस्था परिवर्तनसँगै नेपाली साँगीतिक क्षेत्रमा पनि विकास त भएको छ नि हैन ?
धेरै भएको छ । एक मात्र रेडियो नेपालको विकल्पमा थुप्रै व्यवसायिक मिडियाहरुको विकास भएको छ । रेडियो , टेलिभिजन , पत्रपत्रिका , अनलाईनका साथै गीत संगीतलाई अझ विस्तार भएको छ । अहिले गीत बिक्री हुन्छ । यसबाट गीत लेखन पनि व्यवसायिक हुँदै गएको छ । तर, अझ धेरै गर्न बाँकी छन् । एउटा गीतकार आफ्नो क्षेत्रबाट बाँच्नसक्ने स्थिती भने बनिसकेको छैन ।

त्यस्ता तीन वटा काम जुन गर्दा आफुलाई खुशीको महसुस हुन्छ ?
साहित्य रचना , समाजसेवा र पारिवार सगैं विभिन्न रमणिय स्थानहरु घुम्दा पाउँदा असाध्यै खुशी लाग्छ ।

गीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
मेरो विचारमा विशेषतः गाउनका निम्ति रचिएको लयात्मक तथा सुललित पद्यरचना नै गीत हो, जहाँ जीवन र जगतको बारेमा अमूर्त चित्रण गरिएको हुन्छ।
तपाईंले लेख्ने गीतको आधार के हो ?
मेरा गीतका आधारहरु प्रायः नवरस नै हुन। मौलिक पन र जिवनका विभिन्न आरोह अवरोहलाई समेटेर सिर्जित मेरा गीतहरुले जीवन र जगतलाई चित्रण गरेका छन । केही काल्पनिक भए तापनि मेरा प्रायः गीतहरु यथार्थवादी छन। साथै, केही गीतहरु उत्तर आधुनिकतातिर पनि लम्किएका छन।

नव सर्जक एवम अग्रज सर्जकले चै कस्ता कुरामा ज्ञान हुनुपर्छ जस्तो लाग्छ ?
सकारात्मक सोच र कलाकारिता प्रतिको मोहलाई जिवन्तता दिदै नेपाली मौलिक पनको आभाष दिने किसिमको कलाकारहरुले आफनो सिर्जना प्रस्तुत गर्नुपर्छ जस्तो लाग्छ । दिगो र दिर्धकालिन सोचको साथ कलाकारितामा आएको खण्डमा कलाकारतालाई स्वच्छ र परिकृत ढंगबाट अगाडि बढाउन सकिन्छ जस्तो लाग्छ ।हामी ले मौलिक धारमा रहेका सिर्जनालाई आम दर्शक तथा स्रोता माझमा पुयाउनु पर्दछ जस्तो लाग्छ ।

तपाईले सिर्जना गरेको सर्वाधिक दर्शकको मनमा बस्न सफल गीत कुन कुन हुन ?
मैले रचना गरेका चर्चा बटुलेका म्युजिक संकल्प , प्रेम गरौं , भंगेरी चरी , फर्कि आउ मेरो हजुर , घरि घरि , यो जिन्दगी , सेवा गरौ , बनकी चरी , रोधी बस्दा , एक पटकको नेपाली सधैंको नेपाली गीतहरु जुन मेरो रचनालाई आम भगवान रुपी दर्शक तथा स्रोताले अधिक मन पराई दिनुभयो जस्को कारणबाट म आजको स्थान सम्म आएको छु ।

नयाँ पुस्ताका कलाकार कस्ता छन् ?
बढी उग्र भएका छन्, यसरी लामो रेसमा टिक्दैनन् । केही समयमात्र गीत चलेर हुँदैन, सेलिब्रेटीलाई पत्याउने जनताले हो । त्यसरी पत्याउने गरी आएका एकदमै कम छन् । नेपाली गीत संगीतमा नव सर्जकको अभाव रहेको छ । सङख्यात्मक भन्दा पनी गुणात्मक रुपमा स्तररिय रुप गीत संगीतहरुमा सिर्जना गर्नु जरुरी रहेको छ । हामीले गीत लेख्दा विकाउ भन्दा पनी टिकाउ किसिमले मौलिकता र सिर्जनसिलताको आभास गर्न सकिने किसिमको सिर्जनालाई ल्याउनुपर्दछ ।
लेखेर पाइने र नपाइने के हो ?
लेखेर सबैथोक पाइन्छ । सबैभन्दा पहिला त आत्मसन्तुष्टि प्राप्त हुन्छ, जुन जीवनका लागि सञ्जीवनी बुटी नै हो । त्यसपछि पाठक, स्रोता तथा दर्शकको अपार माया पाइन्छ, जसले जीवन जिउन सहज बनाउँछ । लेखनले नाम दिन्छ । नाममात्रै होइन दाम पनि दिन्छ । यसर्थ, लेखनले सर्वश्व दिन्छ । लेखनले नदिने भनेको एउटै चिज हो– घृणा, तिरस्कार र अपमान ।
नयाँ पुस्तालाई के भन्नुहुन्छ त ?
आजको लागि मात्रमात्र होइन, दीर्घकालीन सोचेर काम गर्नुपर्छ । अरूको मात्र कपी नगरौं । गीत मन पराउन भाषा बुझ्नु पर्दैन, प्रस्तुतीकरण र कला–संस्कृति पस्कन सक्नुपर्छ । समाजमा गीत–संगीतले विकृति फैलाउने होइन, सन्देश दिनुपर्छ । उत्प्रेरणा दिनुपर्छ । जसको लागि आफ्नो धारलाई नछोडौँ, अध्ययन गरौँ । सम्मान लिने मात्र हैन, दिन पनि सक्नुपर्छ । सम्मान दिएपछि मात्र सम्मान पाइन्छ । मौलिक पनलाई प्रस्तुत गर्न सकिने हुनुपर्छ । मौलिक पनको गीत संगीतको निमार्णमा गीतकार एवम सर्जक लाग्नु पर्दछ ।

पछिल्लो समयमा भइरहेको गीतसंगीत क्षेत्रको विकासलाई कसरी हेर्नुहुन्छ ?
शौखको हिसाबले यो क्षेत्रमा प्रवेश गर्नेहरुको लहर छ । शौखका हिसाबले भएको लगानी उठाउन खोज्दा सामाजिक उत्तरदायित्वबोध हराउँदै गएको छ । शौख र मनोरञ्जनबाहेक केही प्रतिशत त सामाजिक दायित्ववोध हुनु जरुरी छ नि । तर त्यसो हुन सकिरहेको छैन । नेपाली संगीत क्षेत्र पनि पूँजीवादी दृष्टिकोणबाट अघि बढेको छ । पैसा लगाएर गितकार हुने जमात बढ्दैछ मौलिकधारमा गीत संगीतको सिर्जनमा लाग्ने सर्जकलाई यहाँ टिक्न निकै अफटयारो रहेको छ ।

अबको यात्रा कहिलेसम्म जारी राख्नुहुन्छ ?
मेरो गीत लेखनको यात्रामा मिठो भन्दा तितो अनुभव बढि कुराहरु हुन्छन् । रहर र लहरले गीत लेख्न थालेकाले यो क्षेत्रबाट अव बाहिरिन सक्दिन । बांचुञ्जेल राम्रा–राम्रा गीत सृजनामा तल्लीन भएर लाग्नेछु ।

पछिल्लो समय कलाकारहरू पनि राजनीतिमा छन् । तपाईंको के छ विचार ?
मेरो मान्यता के छ भने राजनीति त्यही व्यक्तिले गर्नुपर्छ, जसले जीवनको पहिलो खुड्किलामै राजनीति गर्छु भनेर हिँडेको छ । राम्रो काम गरिरहेका छैनन्, जनता निराश छन्, त्यो अर्कै कुरा भयो । राष्ट्र निर्माणका लागि सबै राजनीतिमा लाग्नुपर्छ भन्ने छैन । यदि आज राजनीति गर्नेहरूले सुचारु हिसाबले राजनीतिलाई अघि बढाएको भए कला क्षेत्रमा काम गर्नेले कलालाई अघि बढाउँथ्यो, बिजनेशले त्यही क्षेत्रबारे सोच्थ्यो, अन्य सबै क्षेत्रकाले त्यसैगरी आ–आफ्नो क्षेत्रलाई अर्को उचाइमा पु¥याउन भूमिका खेल्थे । यसरी नै त हो देश विकास हुने । अरू क्षेत्रमा राम्रो काम गरिरहेका व्यक्ति राजनीतिमा लागोस् भन्न थालियो भने त्यही क्षेत्रको अवस्थाचाहिँ के हुन्छ नि ? त्यतातिर पनि सोच्नुपर्छ ।

अन्तमा तपाईका शुभचिन्तकहरुलाई के भन्न चाहनु हुन्छ ?
नेपाली गीत संगीतको रचनामा सक्रिय रुपा लागीरहेकी छु । हजुरहरुकै मायाले म टिकेकी छु नेपाली मौलिक सिर्जनाहरुलाई सदैव माया गरिदिनुहोला साथ सपोर्ट, सल्लाह सुझाव पनि दिनु होला । मेरो रचनामा रहेका गीत संगीतहरुलाई माया गरिदिनु होला यही भन्न चाहन्छु ।     

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.