महेन्द्र बिष्ट / बनेपा
नेपालको साँस्कृतिक वैभव अनेकौं रंगले रञ्जित छन्, ती रंगहरूमध्येको एक अनुपम र जाज्वल्यमान रंग हो; “कुल परम्परा, कुल पूजा र कुल आस्थाको”। यो आस्था केवल एक धार्मिक अनुशासन मात्र होइन यो त हाम्रो रक्तनाल भित्र बग्ने शुद्ध संस्कृति, अनुशासन र देवत्वको सजीव पहिचान हो। त्यसैलाई आत्मासात गर्दै, घिमिरे विष्ट कश्यप गोत्रका हामी वंशजहरूले पवित्र कुल परम्पराको ऐतिहासिक, पौराणिक र भावनात्मक उत्तराधिकारलाई बोक्दै सदियौँदेखि विशासय देवाली पूजा-हाम्रो आत्मा र अस्तित्वको एक अभिन्न अंशको रूपमा अंगीकार गर्दै आएका छौं। यो पूजा केवल एक दिनको कर्मकाण्ड मात्र नभएर, हजारौँ वर्षअघिका ऋषिमुनिहरूको आदेश, आशीर्वाद र आत्म-त्यागबाट शुरू भएको पवित्र सम्प्रदायको जीवित धरोहर हो। कश्यप ऋषिले स्थापना गरेका वाह्रमष्ट, वाह्रभान्जा, कुलदेवी बिन्दबासिनी, कुलाचारी यी सबै केवल देवता होइनन्, यी त हाम्रो चेतनामा स्थापित उर्जाशील आत्म-प्रकाशका साक्षात् प्रतीक हुन्। आज हामीबाट बनेपा-१२, काभ्रेको जमिन छोएको यो आस्था पश्चिमको कालिकोट, जुम्लाको सिंजा, मुलपानी हुँदै आइपुगेको हाम्रो यात्रा हो। यो केवल भौगोलिक विस्थापन होइन, यो इतिहासको अनेक मोडबाट गुज्रिएर पनि नछुटिएको परम्पराको अमर बिम्ब हो। पृथ्वीनारायण शाहले देश एकीकरण गर्दा हामी खस दाजुभाइहरू देशभर छरिए पनि, हाम्रो देवत्वप्रतिको विश्वास छरिएन, र कहिल्यै क्षेय भएन। जसरी पहाडका अनेक फाँट, तराईका खेत र हिमालका छायामा एउटै सूर्य उदाउँछ, त्यसरी नै हामी अझै पनि चारभाइ, दुईभाइको वंशलाई समेटेर एउटै माटोमा एउटै देवताको आराधना गछौं। कुलदेवताको पूजा केवल पशु बलिदान होइन, यो त ऋषिको वचनको पालना, देवत्वप्रतिको समर्पण, र नकारात्मक शक्तिलाई पराजित गर्ने आध्यात्मिक यज्ञ हो। पिचास, छेद, ग्रहदोष, र अशान्तिको जालो चुँडाएर कुल र वंशलाई रक्षा गर्ने दिव्य विज्ञान हो यो। हामीले मान्ने बलिपुजा केवल एक पशुको प्राणोत्सर्ग मात्र होइन, त्यो एक जीवनको चौरासी लाख योनिको चक्रबाट उर्ध्वगमन गराउने पवित्र कर्म हो, जसमा ज्यान लिने होइन; आत्मा तार्ने दर्शन समाहित हुन्छ। आजको दिन वैशाख शुक्ल पूर्णिमा, चण्डी पूर्णिमा, उभौली; जसरी अनेक नाम, त्यसरी नै अनेक अर्थ छन्। एकै दिनमा अनेक पावनता समेटिएको यस दिन हाम्रो हृदय, हाम्रो मन, हाम्रो कुललाई आराधनाको आलोकले उज्यालो बनाउने दिन हो। झाँक्री, कुल देवताको धामी, वायुराजा, वायुरानी यी सबै माध्यम भएर, हामीले हाम्रो कुल देवतालाई स्थापित गरेर विधिवत् पूजा गर्छौं। एक घरबाट अर्को घर हुँदै पूजा सामग्री बटुलिन्छ, र अन्ततः मूल मन्दिरमा पुगेर एकताको समवेत स्वरमा आत्मा र सृष्टिको आराधना गरिन्छ । विधिको कुरो गर्दा, यो कुनै कागजी अनुष्ठान होइन, यो अनुभूतिको नदी हो, जहाँ एक हप्ता अघिदेखि चोखो भोजन गरेर आत्मशुद्धि आरम्भ हुन्छ। देवता बोलाउने क्रमसँगै आन्तरिक शुद्धिको यात्रा शुरू हुन्छ। बाजागाजा, धामीको नृत्य, मन्त्र उच्चारण र होम, यी सबै मिलेर सम्पूर्ण ब्रह्माण्डसँगको साक्षात्कार बनाउँछ। वाह्रभान्जालाई थुम्बो दिइन्छ, वाह्रमष्टलाई बोकाको बलि चढाइन्छ, यो परम्परालाई शक्तिपूजन पनि भनिन्छ। हाम्रो यो परम्परा बीचमा कमजोर हुँदै गरेको मानिन्छ । आधुनिकताको नाममा केही समय यसलाई बेवास्ता गरिएको तथ्य पाइन्छ ।ज्ञानले मात्र जीवनको सम्पूर्ण समाधान गर्छ भन्ने भ्रममा परिनुनै यसको मूल कारण रहेको मानिन्छ। तर जब कर्मको पावन सूर्य अस्ताउन थाल्यो, जीवनमा तृष्णा बढ्न थाल्यो। तब ज्ञान मात्र होइन, शक्ति पनि निकै आवश्यक पर्छ भन्ने कुराहरु बुझ्दै गएपछि पितृ, कुल, देवता, ऋषिको स्मृति यी सबै पुनः जीवनमा आवश्यक छन् भन्ने बोध भयेर आज हामी फेरि उस्तै श्रद्धा र समर्पणका साथ कुलपूजामा फर्किएका छौं। यो पुजा मात्र होइन, यो त पारिवारिक पुनर्मिलनको अवसर पनि हो। यो एकता, प्रेम, आत्मीयता र परम्पराको बाँध हो , जहाँ एउटै वंशका दाजुभाइहरू बाजा बजाउँदै, नाचगान गर्दै मूल मन्दिरसम्म पुग्छन्। बाटोमा रहेका मन्दिरहरूमा पूजा गरिँदै, नकारात्मक शक्तिहरूलाई पन्छाउँदै, देउराली देवीको आशीर्वाद लिएर अन्ततः सम्पूर्ण वंशको मूल मन्दिरमा पुगेपछि अन्तिम पूजा, बलि, गौरी पूजा र समापन यज्ञ गरिन्छ। आज हाम्रो समाजमा धर्मप्रतिको आस्था फेरि बृद्धि हुँदै गएको छ। युवा पुस्ताले धर्म र परम्परालाई हेर्ने दृष्टिकोण फेरिएको छ। उनीहरू अब फेरि धर्म तथा कुल परम्परालाई गर्वका साथ निरन्तरता दिन थालेका छन् , यो गर्वको विषय मात्र होइन, यो एउटा आत्मचेतना हो, जहाँ देवत्व र पितृत्वको संगम पाइन्छ। यो कुलपूजा एक प्रकारको जीवित इतिहास हो, जसले हामीलाई हाम्रो पहिचानसँग जडित गराउँछ। यो पूजा एकताको सूत्र हो, जसले हाम्रा रक्तसम्बन्धलाई बलियो बनाउँछ। यो पूजा भविष्यमा पनि हाम्रो सन्ततिलाई “हाम्रो असली शक्ति भनेको हाम्रो परम्परामा हो, हाम्रो कुलमा हो, हाम्रो आस्थामा हो।” भन्ने सन्देश दिन्छ। यसरी, घिमिरे विष्ट कश्यप गोत्रका वंशजहरूद्वारा सम्पादित देवाली पूजा केवल एक धार्मिक परम्परा मात्र नभएर हाम्रो वंशीय अस्तित्वको आधार, हाम्रो पहिचानको मेरुदण्ड, अनि हाम्रो सामूहिक चेतनाको जिउँदो दस्तावेज हो। यो पूजाले हामीलाई हाम्रो विगतसँग बाँध्दछ, वर्तमानमा सुदृढ बनाउँछ र भविष्यलाई आस्था, परम्परा र संस्कृतिका मूल धागोहरूमा गाँस्दछ। आज जब हामी आधुनिकताको नाममा मूल्य, संस्कार र आत्मिक सम्बन्धहरू ओझेलमा पर्दै गएको समाजमा बाँचिरहेका छौं, तब यस्ता परम्परागत कुलकर्महरूले हामीलाई फेरि हाम्रो मूलतिर फर्काइरहेका छन्,हामी कसका सन्तान हौं, कस्ता देवताका उत्तराधिकारी हौं, र कस्तो संस्कृतिको वहाक हौं भन्ने गहिरो अनुभूति दिलाइरहेका छन्। यो कुलपर्वले केवल देवताको आराधनामा सीमित रहीरहेको छैन, यसले बन्धुत्वको धागो बलियो बनाइरहेको छ, पीढीहरूबीचको दूरी घटाइरहेको छ र नवपुस्तालाई आफ्नो मूल, आफ्नो धर्म, आफ्नो शक्ति र गौरव