


काठमाडौँ — ‘जेनजी आन्दोलन’का नाममा सर्वोच्च अदालत परिसरमा भएको आगजनी र तोडफोड घटनामा संलग्न व्यक्तिहरूविरुद्ध जाहेरी दर्ता गर्ने निर्णय सर्वोच्च अदालतको फुलकोर्ट बैठकले गरेको छ। आइतबार बसेको बैठकले प्रहरीमा औपचारिक जाहेरी दिने निर्णय गर्दै देशभरका सबै अदालतहरूलाई आफ्ना-आफ्ना जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न निर्देशन दिइसकेको छ।


सर्वोच्चका अनुसार आगजनी र तोडफोडमा संलग्न कतिपय व्यक्तिहरूको पहिचान भइसकेको छ भने, सार्वजनिक भएका भिडियो, फोटो र सीसीटीभी फुटेजका आधारमा थप पहिचानका कार्यहरू अघि बढाइनेछन्।

फुलकोर्टको यो निर्णय न्यायालयको गरिमा जोगाउने, कानूनी शासन सुदृढ गर्ने र अपराधीलाई कानूनी दायरामा ल्याउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ। अदालतजस्तो संवैधानिक निकायमाथि आक्रमण गर्ने तथा सरकारी वा व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याउने कार्य सह्य नहुने भन्दै सर्वोच्चले दोषीमाथि आवश्यक कानूनी कारबाही अघि बढाइने स्पष्ट गरेको छ।


