युरोप सांगितिक यात्राका क्रममा क्रोएसिया आइपुगे गायक विश्व दोङ

जाग्रेब (क्रोएसिया) – नेपाली लोक तथा आधुनिक संगीतका चर्चित गायक तथा संगीतकार विश्व दोङ आफ्नो बहुप्रतीक्षित युरोप सांगितिक यात्राको क्रममा क्रोएसिया आइपुगेका छन्। यसअघि बेलायत (युके) र पोर्चुगलमा सफल सांगीतिक प्रस्तुति सम्पन्न गरेका दोङ शनिबार, अगस्ट १५ मा क्रोएसियाको राजधानी जाग्रेबमा आयोजना हुने विशेष लाइभ कन्सर्टमा सहभागी हुन त्यहाँ पुगेका हुन्।

जाग्रेबस्थित क्लब बोगालोमा आयोजना हुने उक्त सांगीतिक कार्यक्रममा गायक दोङले आफ्ना चर्चित तथा दर्शकमाझ लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्। युरोपमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा नेपाली कला, संस्कृति र संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

बिज्ञापन

यस विशेष कन्सर्टमा विश्व दोङसँगै गायक दिपक तामाङ, अशोक राई, अमृत तामाङ तथा गायिका शर्मिला घले गुरुङ लगायतका कलाकारहरूको समेत आकर्षक प्रस्तुति रहनेछ। विभिन्न विधाका गीत-संगीत प्रस्तुत गरिने भएकाले कार्यक्रम नेपाली दर्शकका लागि विशेष मनोरञ्जनमूलक हुने आयोजक कोशेली प्रोडक्सनले विश्वास व्यक्त गरेको छ।

क्रोएसिया आइपुगेपछि गायक दोङलाई स्वागत गर्न आयोजक संस्थाका प्रतिनिधिहरू Franjo Tuđman International Airport पुगेका थिए। आत्मीय स्वागतप्रति आभार व्यक्त गर्दै दोङले युरोपमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना सांगीतिक सिर्जना प्रस्तुत गर्न पाउँदा अत्यन्त उत्साहित रहेको बताए। उनले क्रोएसियामा पनि दर्शकको मायालाई सम्मान गर्दै उत्कृष्ट प्रस्तुति दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

विश्व दोङ नेपाली संगीत क्षेत्रमा आफ्नै विशिष्ट पहिचान बनाउन सफल कलाकार हुन्। उनका ‘साइलो म चारघरे’, ‘कहाँ पर्यो घर’, ‘फूल त फुल्यो केसरी’, ‘मुस्ताङ्गे नानी’ लगायतका गीतहरूले स्वदेशसँगै विदेशमा रहेका नेपालीमाझ पनि उल्लेखनीय लोकप्रियता हासिल गरेका छन्। विशेषगरी लोक स्वाद र आधुनिक संगीतको संयोजनमा तयार गरिएका उनका गीतहरूले नेपाली समुदायमा फराकिलो श्रोतावर्ग निर्माण गरेका छन्।

आयोजकका अनुसार कन्सर्टको साधारण प्रवेश शुल्क १५ युरो तथा भिआइपी टिकट २५ युरो निर्धारण गरिएको छ। कार्यक्रम जाग्रेबको स्थानीय समयअनुसार साँझ ५:०० बजेबाट सुरु हुनेछ। टिकट कार्यक्रम स्थलको प्रवेशद्वारमै उपलब्ध गराइने जानकारी पनि आयोजकले दिएको छ।

युरोपका विभिन्न देशमा रहेका नेपाली समुदायलाई एउटै सांगीतिक छातामुनि जोड्ने उद्देश्यसहित सञ्चालन भइरहेको विश्व दोङको युरोप सांगितिक यात्रा नेपाली कला, संस्कृति र मौलिक संगीतको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। आयोजकले क्रोएसियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई कलाकारहरूको उत्साहवर्धन गर्न समेत आग्रह गरेको छ।