

निराज रानाभाट, चितवन । दुग्धजन्य उत्पादनको व्यवसायिकता प्रवर्द्धन, किसानहरुलाई प्रोत्साहन, डेरी उद्योगमा आधुनिक प्रविधिको प्रयोग र उद्यमशीलताको दिगो विकास गर्ने उद्देश्यका साथ ‘ अन्तर्राष्ट्रिय डेरी प्रदर्शनी – २०८२ ’ आयोजना हुने भएको छ । चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा गत वर्षदेखि शुरु भएको डेरी प्रदर्शनी यस पटक अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिएको हो । ‘ डेरीमा प्रविधि, अर्थतन्त्रमा समृद्धि ’ भन्ने नाराका साथ उक्त प्रदर्शनी माघ २५ गतेदेखि २९ गतेसम्म चितवनको भरतपुर महानगरपालिका वडा नम्बर -१०, स्थित चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन हुने छ । उक्त प्रदर्शनीमा डेरी प्रोसेसिङ तथा पशु आहारसम्बन्धि मेसिनरी तथा उपकरण, डेरीजन्य उत्पादन, सफ्टवेयर, प्याकेजिङ उद्योग, पशुपालन सामग्री, भेटेरिनरी सेवा, बैंक तथा बीमा, स्टार्टअप प्याभिलियनसहित १ सयभन्दा बढी स्टल रहने छन् ।

यस्तै, उक्त प्रदर्शनी अवधिमा कार्यशाला, तालिम, बी-टु-बी बैठक, सफल किसानहरु तथा उद्यमीहरुका अनुभव आदानप्रदान, प्रत्यक्ष प्रदर्शन, फुड स्टल, नयाँ डेरी उत्पादन लन्च, युवा लक्षित वक्तृत्वकला प्रतियोगिता, विज्ञ प्यानल छलफल र पुरस्कार वितरण कार्यक्रमसमेत आयोजना गरिने छ । सातै प्रदेशबाट १/१ जना उत्कृष्ट दुग्ध उत्पादक किसान / उद्यमीलाई सम्मान गरिने साथै उत्कृष्ट गाई प्रदर्शकलाई पुरस्कार प्रदान गर्ने योजना छ । करिब ५० हजार अवलोकनकर्ताहरु सहभागिता रहने अपेक्षा गरिएको प्रदर्शनीमा उद्योगीहरु, किसानहरु, नीति / निर्माता, लगानीकर्ताहरु, अनुसन्धानकर्ताहरु, विद्यार्थीहरु, बैंक तथा बीमा कम्पनीका प्रतिनिधिहरुलगायत सरोकारवाला पक्षहरूको व्यापक सहभागिता रहने आयोजकले जनाएको छ ।


चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले नेपालको दुग्ध क्षेत्र आर्थिक, सामाजिक तथा पोषणीय दृष्टिले महत्वपूर्ण भए पनि विभिन्न चुनौतीको सामना गरिरहेको अवस्थामा डेरी प्रदर्शनीले साझा मञ्च प्रदान गर्ने बताए । घिमिरेका अनुसार प्रदर्शनीले नयाँ प्रविधि र नवप्रवर्तनको प्रदर्शनी, बजार विस्तार, ब्रान्ड प्रवर्द्धन, व्यवसायिक नेटवर्किङ, लगानी आकर्षण, गुणस्तर सुधार, महिला तथा युवा सहभागिता वृद्धि, साथै दुग्धजन्य उत्पादनको व्यापार र निर्यात प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्य लिएको छ । त्यसैगरी, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले पहिलो संस्करणको राष्ट्रिय डेरी प्रदर्शनीले दुग्धजन्य उत्पादनको विविधीकरणमा योगदान पुर्याएको र चितवनमा दैनिक १० हजार लिटरभन्दा बढी दूध खपत हुन थालेको जानकारी दिए । यसै कारण प्रदर्शनीलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिएको बगालेले बताए ।
डेरी उत्पादन, प्रशोधन र वितरण प्रणालीका नवीनतम प्रविधिको प्रवर्द्धन, किसानहरु / उद्योगीहरु / व्यापारीहरुबीच व्यवसायिक सञ्जाल विस्तार, उपभोक्ताहरुलाई डेरी उत्पादनको गुणस्तर र महत्वबारे जानकारी, नयाँ उत्पादनको लन्च तथा ब्रान्डिङ, साना किसानहरुलाई तालिम र मार्गदर्शन, सहकारीलाई औद्योगिक उत्पादनतर्फ प्रेरित गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । उक्त प्रदर्शनीलाई सफल बनाउन संघ, प्रदेश तथा स्थानीय सरकार, दुग्ध विकाससम्बन्धि संघ / संस्था, शैक्षिक संस्था, निजी क्षेत्र तथा सहकारीहरूसँग समन्वय भइरहेको आयोजकको दाबी छ ।


