फागुन २१ गते निर्वाचन हुनेमा विश्वास गर्ने आधार छैन : एमाले

काठमाडौं । नेकपा एमालेले फागुन २१ गते निर्वाचन हुनेमा विश्वास गर्ने आधार अझै देखापर्न नसकेको जनाएको छ ।

निर्वाचन कानुन एवं व्यवस्थापनका बिषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलका क्रममा एमाले सचिव महेश बस्नेतले फागुन २१ गते हुनेमा विश्वास गर्ने आधार अझै देखापर्न नसकेको बताएका हुन् । उनले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने एमालेको निष्कर्ष रहेका सुनाए । पुराना दललाई गाली गरेर निषेध गरेर, स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने उनको भनाइ छ ।

बिज्ञापन

उनले सरकारले लोकतान्त्रीक अभ्यास मिचेर अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाए ।

त्यस्तै कांग्रेस नेता महेन्द्र यादवले फागुन २१ गतेभन्दा कुनै तलमाथि नगर्न सरकारलाई सुझाव दिँदै उचित वातावरण बनाउन सुझाव दिए । निर्वाचन भनेर मात्रै नहुने भन्दै उनले जनताले विश्वास गर्नेगरि सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता बर्षमान पुनले फागुन २१ को निर्वाचनमा सकारात्मक सहयोग गर्न तयार रहेको भन्दै निर्वाचनलाई धकेल्ने प्रयास नगर्न आग्रह गरे । उनले सबै राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए ।

त्यस्तै अन्य दलका नेताहरुले वर्तमान सरकारको म्याण्डेड चूनाव भएकाले चूनावलाई असर पर्ने कुनै पनि काम नगर्न ध्यानाकर्षण गराएका थिए ।