ॐ समाज डेण्टल र सेचेन करुणाको सहकार्यमा विकट गाउँमा स्वास्थ्यको उज्यालो : “जहाँ राज्य पुग्न सकेन, त्यहाँ मानवता पुग्यो”

 

धादिङ, राजन थापा
धादिङका दुर्गम हिमाली बस्तीहरूमा सञ्चालन गरिएको विद्यालयस्तरीय एकीकृत स्वास्थ्य तथा दन्त शिविर केवल उपचार कार्यक्रममा सीमित रहेन, यो पीडामा बाँचिरहेका बालबालिका र स्थानीय समुदायका लागि आशा, करुणा र मानवताको गहिरो सन्देश बनेर उभिएको छ।

बिज्ञापन

Rubi Valley Rural Municipality र Khaniyabas Rural Municipality को आयोजनामा, Sechen Karuna को आर्थिक तथा प्राविधिक सहयोग तथा Om Samaj Dental Hospital को प्राविधिक सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरले रुबिभ्यालीका ७ विद्यालय र खनियाबास गाउँपालिकाको वडा नं. २, ३ र ५ का १४ विद्यालयमा स्वास्थ्य सेवा पुर्‍याएको थियो।

शिविरमार्फत १३०० भन्दा बढी विद्यार्थी तथा शिक्षक लाभान्वित भएका छन्। दन्त परीक्षण, दाँत निकाल्ने तथा भर्ने सेवा, आँखा जाँच, ENT सेवा, पोषण परीक्षण, रक्तअल्पता परीक्षण तथा सामान्य स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइएको थियो।
दुर्गम गाउँमा पुगेर सेवा दिँदा धेरै स्वास्थ्यकर्मी भावुक बनेका थिए। कतिपय बालबालिकाले जीवनमै पहिलो पटक डेन्टल डाक्टर देखेका थिए भने कतिपय बालबालिका वर्षौंदेखि दाँतको असह्य पीडा बोकेर विद्यालय जान बाध्य थिए।

यस अभियानमा सक्रिय रूपमा खटिनुभएका सामाजिक अभियन्ता Rajan Thapa ले भावुक हुँदै भन्नुभयो, “दुर्गम गाउँका ती बालबालिकाको अवस्था देख्दा मन नै भक्कानियो। सानो उमेरमै असह्य पीडा सहेर बसेका बालबालिकाको अनुहारमा उपचारपछि मुस्कान फर्किएको देख्दा सेवा नै जीवनको सबैभन्दा ठूलो धर्म रहेछ भन्ने महसुस भयो। हामीले उपचार मात्र गरेका होइनौं, उनीहरूको पीडा बाँड्ने प्रयास गरेका हौं।” थापाले थप भन्नुभयो,
“हामीले अहिलेसम्मको अनुभवमा करिब ८५ प्रतिशत बालबालिकामा दाँतसम्बन्धी समस्या देख्यौं। साच्चिकै अब हरेक वर्ष यस्ता शिविर सञ्चालन गर्न आवश्यक देखिएको छ। स्थानीयवासीको भनाइ अनुसार सेचेन करुणाले स्थानीय सरकारले गर्न नसकेको काममा साथ दिएको छ। धेरैका लागि यो संस्था भगवान बनेर आएको अनुभूति भएको छ।”
कार्यक्रमका Program Coordinator टेक खड्काले विकट क्षेत्रमा स्वास्थ्य सेवाको अभाव अझै गम्भीर रहेको बताउँदै भन्नुभयो,“गाउँका बालबालिकाको अवस्था देख्दा अझै धेरै काम गर्नुपर्ने रहेछ भन्ने महसुस भयो। कतिपय ठाउँमा सामान्य स्वास्थ्य सेवा पनि पुगेको छैन। यस्तो अवस्थामा गाउँमै पुगेर सेवा दिन पाउनु हाम्रो जिम्मेवारी मात्र होइन, मानवताप्रतिको कर्तव्य पनि हो।”

त्यसैगरी Sechen Karuna का Program Manager दीपेन्द्र पन्तले यो अभियानले ग्रामीण समुदायमा आशा जगाएको बताउनुभयो। उहाँले भन्नुभयो,
“जब एउटा बालक उपचारपछि मुस्कुराउँदै धन्यवाद भन्छ, त्यही क्षण हाम्रो सम्पूर्ण मेहनत सफल भएको अनुभूति हुन्छ। दुर्गम गाउँमा सेवा पुर्‍याउनु चुनौतीपूर्ण भए पनि त्यहाँका नागरिकको खुसी नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।

स्वास्थ्य तथा सरसफाइ अधिकृत युएन तामाङले ग्रामीण क्षेत्रमा दन्त समस्या भयावह रहेको उल्लेख गर्दै भावुक हुँदै भन्नुभयो,
“धेरै बालबालिका पीडा सहेरै विद्यालय आइरहेका रहेछन्। उपचारपछि उनीहरूले दिएको मुस्कानले हामीलाई अझ धेरै सेवा गर्न प्रेरणा दिएको छ। विकट गाउँका नागरिकले पनि सहज स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने सन्देश यो अभियानले दिएको छ।”
स्थानीय अभिभावक र शिक्षकहरूले दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा पुगेकोमा खुशी व्यक्त गरेका छन्। उनीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।

यो अभियानले एउटा गम्भीर प्रश्न पनि उठाएको छ — राज्यको पहुँच अझै किन यस्ता गाउँसम्म पुग्न सकेको छैन ? तर कठिन परिस्थितिबीच पनि मानवताको भावना बोकेर गाउँ–गाउँ पुग्ने हातहरू अझै बाँचेका छन् भन्ने प्रमाण यो शिविर बनेको छ।
आज ती गाउँहरूमा केवल उपचार मात्र भएको छैन, त्यहाँ आशा पलाएको छ, विश्वास जागेको छ र मुस्कान फर्किएको छ।