


काभ्रे — काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–४ सिमल्टार निवासी ३७ वर्षीय चन्द्रबहादुर मोक्तानलाई उपचारका लागि दक्षिण कोरियामा रहेका महाभारतवासी युवाहरूले १ लाख २५ हजार ८९ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।


दुवै मिर्गौला खराब भई हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत मोक्तानको एक मिर्गौला शल्यक्रियामार्फत निकालिएको छ भने अर्को मिर्गौलाले आंशिक रूपमा मात्र काम गरिरहेको पारिवारिक स्रोतले जनाएको छ। लामो समयदेखि उपचार गराइरहेका मोक्तानको आर्थिक अवस्था कमजोर बन्दै गएपछि परिवारले सहयोगको अपिल गरेको थियो।


परिवारको अपिलपछि दक्षिण कोरियामा कार्यरत महाभारत गाउँपालिकाका युवाहरूले आर्थिक सहयोग अभियान सञ्चालन गरेका थिए। अभियानमार्फत संकलित रकम तथा नेपालमा विभिन्न सहयोगदाताबाट प्राप्त रकमसमेत जोडेर कुल १ लाख २५ हजार ८९ रुपैयाँ मोक्तानलाई हस्तान्तरण गरिएको अभियानका संयोजकहरूले बताएका छन्।
अभियानमा दक्षिण कोरिया तथा नेपालमा रहेका महाभारतवासी, शुभेच्छुक तथा विभिन्न व्यक्तिहरूले स्वेच्छिक रूपमा सहयोग गरेका थिए। सहयोग रकमले उपचारमा केही राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै स्थानीय युवाहरूले मानवीय सेवाभन्दा ठूलो धर्म नभएको उल्लेख गर्दै कठिन परिस्थितिमा रहेका गाउँबासीलाई आवश्यक पर्दा साथ र सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।मिर्गौला रोगसँग संघर्षरत मोक्तानको स्वास्थ्य लाभको कामना गर्दै सहयोग अभियानमा साथ दिने सम्पूर्ण सहयोगदाता, अभियानकर्मी तथा दक्षिण कोरियामा कार्यरत महाभारतवासी युवाहरूप्रति परिवारले आभार व्यक्त गरेको छ।

