
बनेपा । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन्।

प्रा.डा. बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। उनी काठमाडौं विश्वविद्यालयबाट अध्ययन गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति बनेका छन्।

बरालले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन्। इन्धन तथा ऊर्जा, दहन विज्ञान, वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ तथा कम्प्युटेसनल फ्लुइड डाइनामिक्स उनका प्रमुख अनुसन्धान तथा विशेषज्ञताका क्षेत्र हुन्।


यसअघि विश्वविद्यालयमा प्रा. डा. अच्युत प्रसाद वाग्ले उपकुलपतिको जिम्मेवारीमा रहेका थिए ।

