महाभारतमा कफी खेती विस्तार, ७१ परिवारलाई ६ हजार ८०० बिरुवा वितरण

काभ्रेपलाञ्चोकको दुर्गम महाभारत गाउँपालिका मा कफी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।

गाउँपालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ अभियानलाई निरन्तरता दिँदै वडा नं. ६ का ७१ परिवारलाई ६ हजार ८०० कफीका बिरुवा वितरण गरेको हो ।

बिज्ञापन

कृषि तथा पशुपन्छी शाखाको फिल्ड अनुगमनपछि खनिएका ६ हजार ८०० खाडलका आधारमा बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

वडाभित्र करिब १३ हजार बिरुवाको माग भए पनि पर्याप्त बिरुवा उपलब्ध नभएको वडाध्यक्ष रमेश लुङ्गेलीले बताए ।

गाउँपालिकाले कफी खेतीलाई व्यावसायिक र आधुनिक बनाउने उद्देश्यले किसानलाई बिरुवासँगै कृषि सामग्री तथा अनुदानसमेत वितरण गर्दै आएको छ ।

हाल गाउँपालिकामा १ हजार ४३३ रोपनी क्षेत्रफलमा कफी खेती भइरहेको छ भने करिब १ हजार २०० किसान व्यावसायिक रूपमा आबद्ध रहेका छन् ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार कफी खेतीलाई पकेट क्षेत्रका रूपमा विकास गर्दै नीति तथा कार्यक्रममा प्राथमिकतासाथ अघि बढाइएको छ ।

किसानले कफी खेतीबाट वार्षिक रु पाँच लाखदेखि १२ लाखसम्म आम्दानी गर्दै आएका छन् ।