
काभ्रेपलाञ्चोक, साउन २७ – नेपाल राष्ट्रिय शिक्षक संगठन खानीखोला गाउँपालिका समितिले खानीखोला गाउँपालिका–४ स्थित श्री कुमारी माध्यमिक विद्यालयमा पछिल्ला केही दिनयता विकसित घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

समितिका अध्यक्ष गोपालप्रसाद तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा शिक्षण पेसामा संलग्न शिक्षकहरू रुपक बयलकोटी, विष्णुप्रसाद घिमिरे, सन्तोष यादव र रामबहादुर विकले आफ्नो जिउज्यान असुरक्षित महसुस गरेको उल्लेख गरिएको छ। उनीहरूले कार्यस्थलमा स्वतन्त्र रूपमा बस्न र काम गर्न सक्ने वातावरण नदेखिएको भन्दै हाल सुरक्षाकर्मीको निगरानीमा गाउँपालिकाको केन्द्रमा बसिरहेको विज्ञप्तिमा दाबी गरिएको छ।

संगठनले उक्त घटनाका कारण विद्यालयका विद्यार्थी नियमित सिकाइबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेको छ। विद्यार्थीको पठनपाठनलाई शीघ्र सहज बनाउन आवश्यक पहल गर्न पनि सम्बन्धित निकायसँग आग्रह गरिएको छ।


नेपाल राष्ट्रिय शिक्षक संगठन खानीखोला गाउँपालिका समितिले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा वास्तविकता बाहिर ल्याउन सम्बन्धित सबै पक्षसँग हार्दिक अपिल गरेको छ।

